लुइस मुन
हङकङमा ‘सिंगल’ रहन नचाहनेहरुले के गर्ने? विशेषज्ञहरु भन्छन्, वास्तविक प्रेम पाउनु छ भने हङकङबासीले विवाहको समयसीमालाई बिर्सिनुपर्छ, फरकफरक डेटिङ एप्लिकेसनहरु चहार्न छोड्नुपर्छ र आफ्नो व्यस्त जीवनबाट केही समय छुट्टी लिनुपर्छ।
महिलाहरुले ‘उत्तम विकल्प’ पाउने हो भने ३० वर्षभित्रै बिहे गरिसक्नुपर्छ भन्ने डेटिङ एप्लिकेसनहरुबाट विकसित भएको मान्यता र स्वप्रेम तथा अर्थपूर्ण सम्बन्धका लागि ठाउँ नछोड्ने हाम्रो व्यस्त जीवन शैलीका कारण हङकङ सहरमा ‘सिंगल’ हरुको संख्या बढिरहेको छ। एक तथ्यांकअनुसार हङकङमा १५ वर्षमाथिका विवाह कहिल्यै नगरेकाहरुको संख्यामा सन् १९८६ यता महिलामा ६१ प्रतिशत र पुरुषमा १४ प्रतिशत वृद्धि भएको छ।
‘सिंगल’ बाँचिरहेका मानिसहरुको संख्या मात्र होइन लगनगाँठो कस्ने औसत उमेर पनि बढिरहेको छ। यसको अर्थ मानिसहरु आफूले चाहेको प्रेम प्राप्त गर्न लामो समय लगाइरहेका छन्। १९८६ मा महिलाहरुका लागि विवाहको औसत उमेर २५ थियो भने पुरुषका लागि २८ वर्ष। तर २०१६ मा विवाहको औसत उमेर महिलाका लागि २९ र पुरुषका लागि ३१ वर्ष पुगेको छ।
‘मलाई लाग्छ, हङकङका लागि म आवश्यक छु,’ जोडी जुराउने मेत्रो दाती संस्थाकी संस्थापक तथा प्रबन्ध निर्देशक एरियद्ना पेरेज भन्छिन्, ‘सिंगल रहन नचाहने सिंगल मानिसहरुका लागि हङकङ विशेष किसिमको नर्क हो।’प्रेमको विषयमा विशेषज्ञता हासिल गरेकी पेरेजले हङकङमा पाँच वर्ष बिताएकी थिइन्। उनी अहिले लण्डनमा बसेर काम गर्छिन्। उनले आफ्ना ‘सिंगल रहन नचाहने सिंगल साथीहरुको संख्या धेरै भएको’ महसुस गरेपछि उनले जोडी जुराउने पेसा सुरु गरेकी थिइन्।
मानवीय सम्बन्धबारे अर्की विशेषज्ञ भ्यालेन्टिना टुडोस पनि आफ्ना सिंगल महिला साथीहरुले डेटिङबारे धेरै गुनासो गर्ने गरेको बताउँछिन्। क्यालिफोर्नियाको सान जोसेमा रिलेसनसिप कोचिङ इन्स्टिच्युटमा तालिम लिएकी टुडोसले पूरा समय यही काम गर्न १८ महिनाअघि विज्ञापन एजेन्सीको काम छोडेकी थिइन्। ‘आफू निकै व्यस्त भएकामा हङकङबासी खुब गर्व गर्छन्, यसलाई तक्माको रुपमा लिन्छन्,’ उनी भन्छिन्।
पेरेज पनि यसमा सहमत छिन्। ‘हङकङ सहरका मानिस जहिल्यै नयाँ कोसेढुंगो प्राप्त गर्ने प्रयासमा हुन्छन्। अझ राम्रो र अझ सफल हुन खोजिरहेका हुन्छन्। त्यसैले आफूले चाहेजस्तो मानिस खोज्ने समय उनीहरुसँग हुँदैन।’ यी दुवैले मिलेर एक निशुल्क इ–बुक निकालेका छन्ः ‘विनिङ द डेटिङ गेमः हाउ टु फाइन्ड लभ इन हङकङ।’ यसमा आफूहरुको उत्तम सल्लाह र टिप्स संकलित रहेको पेरेज बताउँछिन्।
‘यहाँका बासिन्दाले ३० वर्षभन्दा माथिका महिला बुढीकन्या हुन् भन्ने सांस्कृतिक विश्वास त्याग्नुपर्छ,’ टुडोस भन्छिन्। उनी प्रायः ३० वर्ष उमेर नाघेका यस्ता महिला भेट्छिन्, जसलाई पढुञ्जेल अभिभावकले डेट नगर्न भनेका हुन्छन्। तिनै महिलासँग २६ नकट्दै विवाह गरिसकुन् भन्ने अपेक्षा पनि गरिन्छ। त्यसैकारण ३० नाघ्दासम्म पनि उनीहरुले ठिक ढंगको सम्बन्ध गाँस्न पाएका हुँदैनन्, तर नयाँ सम्बन्ध सुरु गर्नका लागि पनि आफ्नो उमेर बितिसकेको महसुस गर्न थाल्छन्।
उसैगरी हङकङका स्थानीय पुरुषहरु पनि महिलाहरुलाई ‘राजकुमारी’ ठान्छन्। महिलाहरुको माग असीमित हुने र उनीहरु आर्थिक रुपले अत्यन्तै सचेत हुने पुरुषहरु ठान्छन्। ‘यस्ता पूर्वधारणाहरुका कारण धेरै मानिस हङकङमा डेटिङ गर्नु कठिन छ भन्ने ठान्छन्,’ टुडोस भन्छिन्, ‘तर वास्तविकतामा चाहिँ यस्ता विश्वासले बाहिर गएर मानिसहरु भेट्न रोकिराखेका हुन्छन्।’ यस्तै विश्वासका कारणले आफ्नो वास्तविक प्रेम फेला पार्ने मौका सीमित भइरहेको छ भनेर उनी मानिसहरुलाई सिकाउँछिन्।
‘सिंगल’ व्यक्तिहरु ‘सिंगल’ नरहने प्रयासमा टिन्डर, बम्बल र कफी मिट्स बेगलजस्ता डेटिङ एप्लिकेसनतिर लाग्छन्। जुलाई २०१६ मा हङकङबासीले कफी मिट्स बेगल संसारमै सबैभन्दा बढी प्रयोग गरे। हङकङकका ६६ प्रतिशत प्रयोगकर्ताले यो एपमा दैनिक लग इन गरेका थिए।‘हामी घरभित्रै बसेर खोजी गरिरहेका छौँ। अन्डरवेयर मात्र लगाएर, आफूले कुरा गरिरहेको मानिसबारे नसोचिकनै हामी कुरा गरिरहेका छौँ,’ पेरेज भन्छिन्, ‘डेटिङ एप्लिकेसनहरुले सम्बन्ध कायम गर्ने प्रयासको गुणस्तरलाई घटाएको छ। किनभने यतिधेरै विकल्पहरु उपलब्ध छन् कि हामी लोभिन पुग्छौँ।’ यसैकारण अर्थपूर्ण विषयमा ध्यान केन्द्रित गर्नुभन्दा अर्को व्यक्तितिर लाग्न चाहिँ सहज हुने गरेको उनी बताउँछिन्।
‘छ महिनासम्म कोहीसँग च्याट गर्ने तर तिनलाई नभेट्ने’ खालका मानिसभन्दा चलाख मानिसहरुका लागि चाहिँ यस्ता डेटिङ एप्लिकेसन पनि उपयोगी बन्न सक्ने टुडोसको भनाइ छ। ‘मेरा लागि डेटिङ सहज विषय हो किनभने म यसलाई लिएर चिन्तित हुन्नँ,’ १८ वर्षदेखि आफ्नो ब्वाइफ्रेन्डसँग रहँदै आएकी टुडोस भन्छिन्, ‘यो संसारमा प्रशस्त मौका छन् भन्ने मेरो दृष्टिकोण छ। तर ‘म कोही पनि फेला पार्न सक्दिनँ’ भन्ने दृष्टिकोणका कारण मानिसहरुलाई यो कुरा कठिन लाग्छ।’
त्यसो भए के गर्ने त ?
‘हङकङबासी निश्चिन्त हुनुपर्छ र आफूले चाहेको कुरालाई परिवार, साथी र समाज कसैलाई पनि प्रभावित पार्न दिनुहुँदैन। त्यसको सट्टा वास्तविक देखिने र आफूले चाहेको कुरा के हो त्यो खोज्नेतिर लाग्नुपर्छ,’ विवाहित पेरेज भन्छिन्। (११ नोभेम्बर २०१७ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित आलेखको भावानुवाद)
Previous Articleभारतसँग टस हारेर ब्याटिङ गर्दै नेपाल
Next Article इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च