रञ्जित ओझा
तपाईंहरूले कहिल्यै आफ्नो बुवाको पुराना लुगा राखेको दराज खोल्नुभएको छ ? मैले खोलेकी छु । अनि कहिल्यै ती पुराना लुगामध्येकै झुन्डिएका प्यान्टहरु हेर्नुभएको छ ? लगाउँदा घरै बढार्ने जस्ता, कुचो नचाहिने जस्ता । बेली–बटन भन्छन् शायद । बुवाले भन्नुभएको– धर्मेन्द्र, अमिताभ बच्चनले फिलिममा लाएपछि फेसनै चल्यो अरे ! बुवालाई मन पर्ने धर्मेन्द्र अनि उसको फिलिम ’शोले !’ हामीले टिभी हेरिराखेको बेला पनि भन्नुहुन्थ्यो, “शोले जस्तो फिलिम अब बन्दैन ।
तिमीहरु के–के हेर्छौ के–के !“ एकदिन त ’थ्री इडियट्स’ हेर्दाहेर्दै भन्दिनु भो, “शोले जस्तो फिलिम बन्दैन, यस्तो पनि फिलिम हुन्छ ?“ म बुवाका कुरा काट्दिनँ । आज्ञाकारी छोरी । चित्त नबुझे पनि चुपचापै बसेँ । ‘शोले’ हेरेकी छैन । के छ त ‘शोले’मा बुवालाई मन पर्ने ? सोच्दासोच्दै टिभीमा फुङसुक वांग्डुले प्रियालाई लद्दाखमा भेट्टायो । ‘थ्री इडियट्स’ सिद्धियो । आमा किचनबाट बाहिर निस्किँदै भन्नुभयो, “खाना पाक्यो !“ खानाको टेबलमा बुवाले अन्तिम गाँस सिध्याउँदै गर्दा मैले बुवालाई प्रस्ताव राखेँ, “शोलेको ब्लु–रे डीभीडी खोजेर ल्याउँछु अनि सँगै हेर्नुपर्छ ।“बुवाले पुलुक्क मतिर हेर्नुभयो । अनि सोध्नुभयो, “तैँले शोले हेरेकी छैनस् ?
मलाई केही–केही छ्यासमिस याद छ ‘शोले’को । टिभीमा आइरहन्छ । तिनीहरूको तीनपांग्रे स्कुटर, गब्बरको बेल्ट र जुत्ता, असरानीको जुँगा । यस्तै यस्तै ।“अहँ !“ मैले टाउको हल्लाएँ । “ल त यो शनिबार ! “कता हो ? कलेज ?“ चियापसलबाट आवाज आयो । म साथीसँग बाटोमा स्कुटर रोकेर गफ गर्दै थिएँ । पारिपट्टि चियापसल । क्यारेम खेल्ने केटाहरुको भीड । मैले जवाफ फर्काइनँ । त्यो केटालाई म चिन्छु । मसँग बोल्न खोज्छ तर मलाई उसको हेराइ मन पर्दैन । खाउँला जस्तो ट्वाल्ल आँखा पार्छ । ऊ भने आफ्नै सुरमा बर्बराइरहन्छ । “कलेज सिद्धिएर काम गर्न थाल्यौ कि के हो ?“ उसले आवाज थोरै ठूलो बनायो । शुरु– शुरुमा खासै बोल्दैनथ्यो । आजकल दुई(चार शब्द थप्छ मैले केही नबोले पनि । “नजिक गएर गफ गर न !“ क्यारेम खेल्दै गरेका केटामध्ये कसैले उसलाई ढाडस दियो । मलाई डर लाग्यो । मेरी साथीलाई पनि । उसको हिम्मत बढ्दै छ पछिल्ला दिनहरूमा । म चाँडै यहाँबाट हिँडेकै ठीक ।
“ल म हिँडे !“ स्कुटर अघि बढाएँ । साथीले मेरो कुरा बुझेर टाउको हल्लाई । मलाई थाहा छ । मेरो स्कुटर कुरेर त्यहीँ बस्नेछ त्यो, बेलुका फर्किँदा पनि । सधैं त्यस्तै गर्छ । एकदिन त बाटो रोकेरै भनेको थियो, “यस्तै बाल नदिकन बस्यौ भने कुन दिन म मरेको सुन्छ्यौ, तिम्रै घरको पीपलको रुखको अघि झुन्डिदिन्छु !“ पछाडिबाट केटाहरू गलल्ल हाँसेका थिए । ऊ पनि हाँस्यो । अनि चियापसलतिरै फर्कियो । म भने पसिनाले चिटचिट भएकी थिएँ । अरुबेला बोलिरहने मलाई यस्तो बेला कसैले घाँटी थिचिदिएझैँ हुन्छ । बोल्नै सक्दिनँ । गाली गर्न पनि सक्दिन । ढुंगाजस्ती हुन्छु । कहिलेकाहीँ यो भन्छु यो भन्छु भन्दै धेरै गाली तयार गर्दै आउँछु । त्यो दिन भने त्यो केटा हुँदैन । त्यो दिन हिँड्दै गर्दा ऊ भेटिएला भन्ने सोचेकी थिइनँ । भेटियो । फेरि पनि ढुंगै भएँ । बाटोमा हिँड्दा सोचिरहेँ । उसलाई मेरो घरछेउको पीपलको रुख थाहा छ । सधैं मलाई पछ्याउँछ । मनै चिसो भयो । पुलिसकोमा जाऊँ कि ? फेरि घरमा के भन्नुहोला ! बल्ल–बल्ल खोजेको जागिरमै नजा भन्दिनुभो भने ? बिहे गर भन्नुभो भने ? दिदीलाई अफिसकै केटाले पछ्याएपछि काम छोड्न लगाएर बिहे गर्दिनुभएको मलाई याद छ । मलाई अहिले नै काम छोड्न मन छैन । घर पुगेँ । बुवा चिया खाँदै पत्रिका हेरिरहनुभएको थियो ।“ल्याइस् त शोलेको डीभीडी ?“ अहो के बिर्सें के बिर्सेँ भनेको त ‘शोले’को डीभीडी रहेछ । त्यो केटोबाट जोगिन रुट चेन्ज गरेकी थिएँ । डीभीडी पसल छिर्न पाइनँ ।“भोलि ल्याउँछु बुवा !“ सुस्तरी जवाफ फर्काएँ । ’काम गर्न थालेकी ?’ भन्दै त्यो केटो हाँसेको अनुहार मनमा आइरह्यो । हटाउन सकिनँ । बाथरुम गएँ, मुख धोएँ । आँत नै चिसो भएको छ। उपाय खोज्दै छु जोगिने ।
फिलिमको हिरोजस्तै कोही आएर मलाई त्यो केटाबाट जोगाइदिए !! जय र वीरु रामगढको ट्रेन स्टेसनमा ओर्लिए । त्यहाँ ट्याक्सी पाइन्नथ्यो, बसन्तीको टाँगामात्रै । मनमनै सोचेँ– बसन्तीलाई बुवाआमाले के भन्दा हुन् ? बसन्ती पनि राम्री थिई । केटाहरूले जिस्काउँदा ऊ चुपै बस्दी हो कि गाली गर्दी हो ? ऊ बोलीहरहन्थी भनेपछि पक्कै गाली नै गर्दी हो । वीरु त भेट्नेबित्तिकै जिस्किन थाल्यो । मलाई वीरुको बानी मन परेन । विचरी बसन्ती एक्लै रैछे, बुवा–आमा नभएकी । फुपूले पालेकी । आफ्नै खुट्टामा उभिन खोज्ने तर हिरो भएर पनि वीरुले उसलाई जिस्क्यायो– पहिलो भेटमै । मलाई वीरुको बानी मन परेन । त्यतिखेर पनि केटीहरुलाई राम्रो वर्किंङ इन्भाइरोमेन्ट थिएन, अहिले पनि छैन । बसन्तीले पनि ’मलाई टाँगामा शहरबाट आएको गुन्डोले जिस्क्यायो’ भनी भने फुपूले बिहे गर्दिदी हुन् । त्यही भएर भन्दिन होला घरमा ! बुवालाई भने बसन्तीको केही चिन्ता थिएन । बुवा गब्बर मार्न जय र वीरु आएकैमा खुशी हुनुहुन्थ्यो ।
वीरुले बसन्तीलाई जिस्क्याउनु त सामान्य हो । ऊ हिरो हो, उसले जिस्क्याउन पाउँछ । बसन्तीकी फुपूलाई आँपको अचार खानुपर्ने भो । ऊ आँप झार्न गई । जय र वीरु आँपकै बगैंचामा ढल्किरहेका । दिउँसो रामगढ जोगाउन आएका । आँपको बगैंचालाई नै बेडरुम सम्झेर ढल्केर बसेका । मलाई मनमनै शंका लाग्यो । शायद वीरु बसन्तीलाई पछ्याउँछ । उसको काम गब्बरलाई मार्नु हो । तर, ऊ बसन्तीलाई पछ्याउँछ । बसन्तीलाई राम्रो नलागे पनि पछ्याउँछ । बसन्तीले कतै गुनासो गर्न पाउँदिन उसलाई वीरुले पछ्याएको बारेमा । किनभने वीरु नभए गब्बरबाट गाउँलेलाई कसले जोगाउने ? केटी भएर होला– उसले आँप झार्नै सकिन । जयले पछाडिबाटै गोली हानेर आँप झार्दियो । वीरुले आँप झार्न सिकाउने निहुँमा बसन्तीका अंग–अंग छोयो । मलाई वीरुप्रति घृणा जागेर आयो । तर, अचम्म–बसन्तीले थाहा पाएर पनि थोरै मात्र रिसाई । ऊ पनि म जस्तै ढुंगा भई । जड भई । उसलाई पनि गाली फुरेन ।
उसले पनि सोच्न सकिन । उसले पनि कसलाई भनोस् ? मैले बुवाको अनुहार हेरेँ । बुवा हाँसिरहनुभयो– मुसुमुसु । बुवालाई वीरु नै मन पर्याे । वीरु हिरो हो । अनि बसन्ती राम्री केटी । बसन्ती हुनु वा नहुनुले रामगढलाई खासै फरक पर्दैन तात्विक रुपमा । उसले मात्र नाचगान गर्न जान्दछे, अनि टाँगा चलाउन ! फुपूले वीरुको बिहे बसन्तीसँग नगर्ने भएपछि उसले पानी ट्यांकीमा चढेर मर्ने धम्की दिन थाल्यो । फुपूले ठिकै गरेकी हुन् । वीरु चाहिनेभन्दा ज्यादा रक्सी धोक्छ । केटी भनेपछि मरिमेट्छ । पछ्याइरहन्छ । मलाई झल्याँस्स चोकको केटो याद आयो । पीपलको रुखमा झुन्डिन्छु भन्थ्यो । वीरु ट्यांकीबाट हामफाल्छु भन्छ । दुवै उस्तै । बुवाको अनुहार हेरेँ । उहाँ हाँस्दै हुनुहुन्थ्यो । मलाई झनक्क रिस उठ्यो । यसमा हाँस्नुपर्ने के छ ? केटाले जे गरे पनि हुन्छ ? ट्यांकीमा उफ्रिएर, पीपलमा झुन्डिएर केटी पाइन्छ ? यस्तो पनि नायक हुन्छ ? फुपूले हुन्छ भन्दी, वीरुले मर्ने प्लान क्यान्सिल गर्रुयो ! मलाई चिटचिट पसिना आयो ।
आखिरमा वीरुले बसन्ती भेट्टायो । बसन्तीको केही चलेन । मलाई त्यो चियापसलको केटो याद आयो । कसैले चियापसलबाट उसलाई जिस्क्याएझैँ लाग्यो, “यो भ्यालेन्टाइन नभए पनि अर्को भ्यालेन्टाइनसम्म पक्कै पट्टिन्छे ! लगेरहो ! बाटो नछोड !! उसले पनि ‘शोले’ हेरेको छ । ऊ आफूलाई वीरु सोच्छ, अनि मलाई बसन्ती । मैले टिभी बन्द गर्दिएँ । बुवाले पुलुक्क मतिर हेर्नुभो । “बुवा शोले राम्रो रै’नछ । मलाई मन परेन ! बुवा केही बोल्नुभएन ।“वीरु राम्रो केटो होइन, हुँदै हैन ! म चिच्याएँ । बुवाको कान फाट्ने गरी चिच्याएँ । घरमात्र हैन, मैले समाजलाई पनि चिच्याएर सुनाउनु छ, “वीरु राम्रो केटो होइन ! बाह्रखरीबाट
Previous Articleशक्ति प्रदर्शन र विप्लव समुह निर्वाचनका मुख्य सुरक्षा चुनौती
Next Article चुम्बनमै हराएका बलिउडका कलाकार