पोखरा,२५ कार्तिक– निर्वाचन आयोग र गृह मन्त्रालयले आसन्न चुनावको मुख्य चुनौतिका रुपमा दलहरुले पैसा र गुण्डा प्रयोग गरी गर्ने शक्ति प्रदर्शन र निर्वाचन बिरोधी अर्धभूमिगत विप्लव समूहलाई लिएको छ । पोखरामा शुक्रबारदेखि सुरु भएको प्रदेश ४ र ५ को बिशेष सुरक्षा गोष्ठीले पनि यिनै समूह र शक्तिबाट बढी सुरक्षा थ्रेट हुनसक्ने भन्दै सचेतता अपनाउन सुरक्षा निकायलाई निर्देश गरेको छ । ‘सुरक्षा भनेको अक्सिजनजस्तै हो । जतिबेला कम हुन्छ, जीवन संकटमा पर्छ,’ निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले सुरक्षा अधिकारीहरुलाई सजक बनाउँदै भने, ‘निर्वाचनको यो समय जुनसुकै बेला पनि सुरक्षा थ्रेट हुनसक्छ ।
भरपर्दो सुरक्षा भएन भने निर्वाचन निश्पक्ष हुँदैन ।’ गोष्ठीले यस क्षेत्रको सुरक्षा अवस्था र रणनीति बनाउनेछ । प्रदेश नम्बर ४ र ५ का १७ जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा अधिकारी सहभागी गोष्ठीमा निर्वाचन आयोग र गृह मन्त्रालयले दलीय शक्ति प्रदर्शन र विप्लव समूहलाई मुख्य चुनौति ठानेका छन् । ४ र ५ प्रदेशका जिल्लामा सुरक्षाको अवस्थाको विषय रिपोर्टिङ गर्ने, चुनावी सुरक्षा रणनीति निर्माण गर्ने र सुरक्षा निकायले निर्देशन दिने कार्यक्रम छ । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नम्बर ४ र ५ नम्बरका जिल्लामा दुवै चरणमा हुँदैछन् । एउटै प्रदेशकोे निर्वाचन पनि दुई चरणमा हुँदा छिमेकी जिल्लाबाट चलखेलका लागि आउजाउ हुन सक्ने भएकाले विशेष निगरानी राख्नुपर्ने सुरक्षा गोष्ठीमा आयुक्त पौडेलले बताए । ‘मसल प्रयोग गरेर भए पनि चुनाव जित्नैपर्छ भन्ने मान्यता छ, दलीय शक्ति प्रदर्शन अहिलेको निर्वाचनको सबैभन्दा ठूलो चुनौति हो,’ आयुक्त पौडेलले भने, ‘पैसाको खोलो बगाएर भए पनि जित्नुपर्ने भन्नेलाई रोक्नुपर्ने चुनौति छ ।’ छुट्टै जनसरकार गठन गरेर संविधान, सरकार र व्यवस्थाको विरोध गरिरहेको अर्धभूमिगत विप्लव समूह अर्को चुनौतिको रुपमा रहेको उनले बताए ।
अहिलेसम्म ठीक छ भनेर नबस्न आग्रह गर्दै उनले भने, ‘छिमेकी जिल्लाका सीमानामा विशेष ध्यान दिनु होला । कहाँकहाँ निर्वाचन आचारसंहिता उल्लंघन भएका छन्, सबै ठाउँमा निर्वाचन आयोग पुग्न सक्दैन । तपाईंहरुले निगरानी बढाउनुहोला ।’ आयुक्त पौडेलले छिमेकी जिल्लाका निर्वाचन दुई चरणमा भएकाले एक जिल्लाबाट अर्को जिल्लामा हुलदंगा गर्न, चुनाव विथोल्न र शक्ति प्रदर्शन गर्न पुग्न सक्ने सम्भावना बढी भएको भन्दै यसैमा जोड दिए । बढीभन्दा बढी खर्च गरेर मतदाता प्रभावित पार्ने, आचारसंहिता उल्लंघन गर्ने लगायत निर्वाचनमा भाग लिएका प्रत्येक उम्मेदवारसँग कम्युनिकेसनमा रहन उनले सुरक्षा अधिकारीलाई आग्रह गरे । विशेष प्रमुख जिल्ला अधिकारीले राजनीतिक दलहरुसँग समन्वय गर्न उनको आग्रह थियो । प्रदेश नम्बर ४ र ५ का जिल्ला पनि भारतको खुल्ला सीमानासँग जोडिएका कारण सीमापारिबाट हुनसक्ने घुसपैठलाई पनि विशेष ध्यान दिन उनले आग्रह गरे । यो निर्वाचन सम्पन्न गर्न पाउने आफूलाई भाग्यमानी ठान्न उनको सुझाव थियो । ‘इतिहासमा कमै भाग्यमानीले पाउने अवसर हामीले पाएका छौं । हामीले नै चुनेर पठाएका दलले निर्माण गरेको संविधान कार्यान्वयको चरणमा भएको यो निर्वाचन धेरै महत्वपूर्ण छ,’ पौडेलले भने ।
यसैबिचगोष्ठीमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ठूलै घटना हुन सक्ने संकेत देखिएकाले सजग र सतर्क रहन सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । ‘अहिले ठूलो घटना भइसकेको छैन तर हुन सक्ने संकेत देखिएका छन’, सापकोटाले भने, ‘अहिले नै तदारुकता देखायौं भने भोलि यस्ता घटना हुने छैनन् ।’ पार्टीको कम्युनिकेसनमा रहन अलि बढी नसकिरहेको भन्दै गृह सचिव सापकोटाले पोलिटिकल सिनारियो बुझेर कम्युनिकेसनमा रहन निर्देशन दिए । ‘सुरक्षा चुनौति भन्ने कुरा दिनदिनै बढ्दै जाने हुन्छ । सुरुमै त्यसको निगरानी गरेर सहग भए पछि समस्या पर्दैन ।’ प्रदेश नम्बर ४ र ५ मा बढी पहाडी जिल्ला भएकाले कतिपय मतपत्र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने भएकाले यर्थाथ र खर्च बढी नहुने गरी मितव्यायी हिसाबले प्रयोग गर्न उनले आग्रह गरे ।