म्याग्दी, २३ कार्तिक– विश्व प्रसिद्ध पदमार्ग चक्रीय धौलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । धौलागिरि गाउँपालिकाको मुदीमा अवस्थित हिमालको आरोहण तथा अवलोकन भ्रमणमा दैनिक तीनदेखि पाँचवटा समूहमा पर्यटक भ्रमणमा आउने गरेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी नायब निरीक्षक दयाराम पौडेलले जानकारी दिए । लामो पदयात्रा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । असोजमा ११२ विदेशी पर्यटक धौलागिरि आधार क्षेत्रतर्फ गएका पौडेले बताए । सदरमुकाम बेनीहँुदै सिँगा तातोपानी, बाबियाचौर, दरवाङ, ताकम, मुदी तथा दरवाङ, बिम, खिवाङ, बगरहँुदै धौलागिरि आधारशिविर जाने गरेका छन् । म्याग्दीहँुदै गएका अधिकांश बाह्य पर्यटक धौलागिरि पदयात्रा पूरा गरी मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन, डोल्पा जाने गरेका प्रहरी नायब निरीक्षक पौडेल बताउछन् । इलाका प्रहरी कार्यालयले यात्रामा निस्किएका पर्यटकको नियमित जानकारी लिने र समस्यामा परेकाको उद्धारका लागि स्थानीय पर्यटन व्यवसायीसँग सहकार्य गर्ने गरेको छ । चक्रीय धवलागिरि जैविक, सांस्कृतिक विविधता, हिमशृृंखलाको अवलोकन, जनजातीको संस्कार र पदमार्गका साथै ग्रामीण जनजीवन, आदिवासी मगर, छन्त्याल जातीको रहनसहन, पक्षी, जंगली जनावर, तालतलैया, छहरा आदीको दृष्याअवलोकनका साथै धौलागिरि हिमाल आरोहण गर्न पाउनु पर्यटकका मुख्य आकर्षण हुन । पदयात्राको क्रममा विभिन्न बस्तीमा स्थानीयवासीको स्वागत तथा सहयोगले समेत पर्यटकलाई उत्साहित बनाउने गरेको छ । जोखिमपूर्ण मार्गमा स्थानीयवासीले यात्रामा सहयोग गर्ने गरेका छन् । धौलागिरि गाउँपालिकाले पदमार्गलाई व्यवस्थित बनाउने योजना थालेको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताए । “पर्यटक आकर्षित गर्न पूर्वाधार चाहिन्छ,” उनले भने । पर्यटकका कारण स्थानीयवासीको आयआर्जनमा सहयोग पुगेको छ । हिमाल आरोहणमा बाह्य पर्यटकले स्थानीय मजदुरको प्रयोग गर्ने गरेका छन् । धौलागिरि आधार क्षेत्रमा आउने पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुन्छ । पदयात्रामा आउनेमा अधिकांश जर्मनी, फ्रान्स र क्यानडाका नागरिक रहेका छन् । शरद र वसन्त ऋतुमा धौलागिरि हिमालको आरोहण गर्ने गरिएको छ । हवाईमार्गबाट समेत आधार क्षेत्रमा पुगिन्छ । लामो यात्रा गर्न नसक्ने र छोटो समयका लागि आएका पर्यटकले हेलिकप्टर चार्टर गरेर पुग्ने गरेका छन् । मंसिरदेखि फागुनसम्म अरु बेलाभन्दा चहलपहल कम हुन्छ । वर्षेनी करिब १० हजार बाह्य पर्यटक धौलागिरि हिमालको फन्को मार्छन् । रासस