बागलुङ, २३ कार्तिक– प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा होमिएका दलहरुले निर्वाचनको पहिलो चरणमा सरसरर्ती सबै वडामा पुगेर फर्केका छन् । उनीहरुले पहिलो चरणमा जनताको अपेक्षा, राजनीति प्रतिको बुझाई र अवको निर्वाचनका लागि कस्तो रणनीति बनाएर जित्न सकिन्छ भन्ने अनुभव लिएर फर्केका छन् । बागलुङको दुइ क्षेत्र र ४ प्रदेशका उमेदवारले एकसरो घुमाईबाट कांग्रेस र बाम दुवैले निर्वाचन जित्ने दावी गरेका छन् । स्थानीय निर्वाचनमा बामपन्थी भन्दा ५ हजार मतले कम रहेको कांग्रेसले क्षेत्र नं. १ मा राप्रपाको साथ पाएको र आफ्नो थप मेहेनतले मतान्तर घटाएर जित्ने दावी गरेको छ । ‘सबै अन्तरविरोधहरु हटेर कांग्रेस जिताउ अभियानमा साथीहरु लाग्नु भएको छ’ कांग्रेस सभापति दिपेन्द्र बहादुर थापाले भने, ‘जनतामा लोकतन्त्रको रक्षाका लागि कांग्रेस जिताउनु पर्छ भन्ने भावना पनि बढेको छ ।’ राप्रपाको साथ पाएपछि कांग्रेसी कार्यकर्तामा थप उत्साह थपिएको छ ।
उता बाम गठबन्धनका नेताहरुले तीन दल एक भएकोले जनतामा उत्साह आएको दावी गरे । ‘तपाईहरु मिलेको सुनेरै हामी खुसी भयौं, चुनावमा भोट दिने मात्र नभएर लागेरै हिड्छौं भन्ने धेरै छन्’ राष्ट्रिय जनमोर्चाका पूर्व अध्यक्ष कृष्ण थापाले भने, ‘जनतामा स्वतह रुपमा बढेको खुसीले हाम्रो जित सुनिश्चित भैसकेको छ ।’ किसानको खेतीपाती थन्क्याउने समय भएकोले अधिकांस नेताले खेतबारीमै गएर भोट पनि मागेका छन् । दुवै तर्फका नेताहरुले आफ्ना तस्बिर पनि सार्वजनिक गरिरहेको सामाजिक संजालमा भेटिन्छ । क्षेत्र नं. २ मा पनि दलहरुले एकसरो भ्रमणलाई सकेका छन् । उनीहरुले बाम गठबन्धन र कांग्रेसको उमेदवारीको औचित्य बताउने र अवको संसदमा खेल्ने भूमिका बारेमा धारणा राखेका छन् । स्थानीय चुनावमा क्षेत्र नं. २ मा बाम मत बढी थियो । तर प्रचारको क्रममा पुरानै मत कायम राख्ने बाम गठबन्धनको भनाई छ भने बढाएर जित्ने कांग्रेसको मत छ । ‘स्थानीय चुनावमा भएका कमीकमजोरी सबै सच्याएर जाँदा पश्चिम क्षेत्र कांग्रेसकै बाहुल्यता हो’ कांग्रेस कोषाध्यक्ष उमेश केसीले भने, ‘प्रतिष्पर्धा भने धेरैनै हुन्छ ।’ बाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल मैदानमा छन् भने कांग्रेसका निरज पुन छन् ।
आसन्न निर्वाचनको अभियान लाई लिएर एमाले निकट प्रेस चौतारी नेपाल, माओवादी निकट प्रेस सेन्टर नेपाल र राजमो निकट प्रगतीशिल पत्रकार संघले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । गठबन्धनका नेतासँग पत्रकार सम्मेलन गरेर अहिले सम्मका क्रियाकलाप र राजनीतिक एजेण्डा सार्वजनिक गर्न लगाइएको हो ।
बुधवार बलेवा स्थित नारायणस्थानमा पत्रकार सम्मेलन गरेर तीनवटै संस्थाले उमेदवारको साक्षातकार गराए । उक्त अवसरमा प्रतिनिधि सभाका क्षेत्र नं. १ का उमेदवार सूर्य पाठकले युवालाई रोजगारीको अवसर दिने, नीति निर्माणमा पुगेर शिक्षाको गुणस्तर बढाउने, एकरुपताको शिक्षा दिने र नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने बताए । साथै उनले बलेवामा रहेको एयरपोर्ट संचालनका लागि सडकको स्तरउन्नतीमा ध्यान दिने बताए । उनले फरक राजनीतिक सिद्धान्त बोकेका बामहरुले साझा एजेण्डालाई लिएर चुनावमा होमिएको दावी गरे । संघियता विरोधी अभियानलाई राजमोले मौन राख्ने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेण्डा एमलेले नलाने र प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा माओवादीले नलाने गरी निर्वाचन परिचालन भएको उनले बताए ।
प्रदेश सभाका उमेदवार कृष्ण थापाले विकास निर्माणमा पछि परेको क्षेत्रका लागि बाम गठबन्धनको बिजय आवस्यक भएको दावी गरे । उनले मुख्य सडक र शाखा सडक निर्माण र स्तरउन्नती गरेर सहज यात्राको अवसर खोल्ने, पर्यटनको विकास गर्ने तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गरेर विशेषज्ञ डाक्टर सहितको उपचरसेवा दिन पहल गर्ने एजेण्डा बनाएर जनतामा गएको बताए । राम थापा अविरलको अध्यक्षता, बिजय रानाको संचालन र प्रेस चौतारीका सदस्य सुवास गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।