म्याग्दी,२३ कार्तिक– ‘मायालु डाँडा’ जिल्लाकै आकर्षक पर्यटकीयस्थल बन्दै गएको छ । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको मायालु डाँडा (लब्लीहिल) मा हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । बेनी नगरपालिका–२, खबरामा रहेको मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघर लगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढेको हो । खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ । बेनीबजार नजिकै रहेको मायालु डाँडामा दिनहुँजसो आन्तरिक पर्यटकको चहलपहल रहन्छ । मायालु डाँडाबाट बेनीबजार आकर्षक देखिन्छ । यहाँबाट चारैतिरको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो पटक यहाँ समूह बनाएर आउनेको संख्या अत्यधिक छ । “पुर्वाधारको विकास गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द शर्माले भने । मायालु डाँडा खासगरी युवायुवतीकाबीच भेटघाट स्थलका रुपमा परिचित छ । यहाँ पुग्न पदमार्गको निर्माण गर्नुपर्ने बेनीका बासिन्दा रमेश गिरी बताउँछन । मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ । यहाँबाट उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तकोसमेत मनमोहक दृश्य देख्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको समेत अवलोकन गर्न सकिन्छ । मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थलका रुपमा विकास गरिनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले भनाइ छ । गत आवमा रु १२ लाखको लागतमा गोलघर, रेलिङ र बस्नका लागि बेन्चलगायत पूर्वाधारको निर्माण गरिएको छ ।
Previous Articleराष्ट्रिय स्वाधिनता र समृद्विको लागि बामगठबन्धन-चन्द्र बुढा
Next Article गाउँ गाउँमा कांग्रेसको चुनावी सभा सम्पन्न