थम्मन थापा, बागलुङ, २० कार्तिक-ग्रामीण क्षेत्रमा यति बेला धान काटेर गहुँु छर्ने चटारो छ । गाउँमा पहिले–पहिले जस्तो पर्याप्त हल गोरु देखिन छाडिसके । जनशक्तिको अभावसँगै गाउँ–गाउँमा सडक विस्तार भएपछि प्रविधिको प्रयोग पनि विस्तारै बढदै गएको छ । जसका कारण हिजोआज परम्परागत गोरु पाल्ने प्रचलन हराउन थालेको छ । अहिले कृषकहरु खेतबारी जोत्न मिनि कल्टीभेटर प्रयोग गर्न थालेका छन् । पछिल्लो समयमा बागलुङको गलकोट क्षेत्रबाट विदेशिनेको संख्या बढदै गएपछि गाउँमा गोरु पाल्ने कृषकको संख्या घटदै गएको हो । गलकोट क्षेत्र बाट जापान, अमेरिका, क्यानडा, अष्ट्रेलियासंगै खाडी मुलुक कतार, युएई, मलेशिया जानेको संख्या दिनहुँ वृद्वि हुँदै गएको छ । श्रीमान विदेश गएपछि श्रीमती पनि सँगै विदेशिने प्रचलन बढेपछि गाउँमा गोरु पाल्ने मान्छेको अभाव हुन थालेको छ । गोरु र हली पाउन मुस्किल हुन थालेपछि मिनि कल्टीभेटर हलो प्रति आकर्षण बढदै गएको गलकोट नगरपालिका–७ मल्मका समाजसेवी हवल्दार टिका बहादुर थापाले बताए । गाउँमा युवाको संख्या न्यून भएपछि खेती थन्काउने र खेतबारी जोत्न अहिले मिनी हलो कल्टीभेटर प्रति स्थानियको आकर्षण बढदै गएको थापा बताउ छन् । गाउँमा मुस्किलले हल गोरु पाउन २–३ महिना पर्खनु पर्ने अवस्था रहेको स्थानिय समाजसेवी छुम बहादुर थापाले बताए । गलकोट क्षेत्रमा अहिले एक हल गोरु प्रयोग गरेबापत एक दिनको १५ सय रुपैयाँ तिर्नु पर्दछ । मिनि हलो कल्टीभेटरको प्रति घण्टा रु १ हजार भाडा रहेको मिनि हलो कल्टीभेर व्यावसायी गलकोट नगरपालिका–६ मजुवाका किसान बुढाथोकीले जानकारी दिए । मिनि हलोले एक दिनमा १० लिटरसम्म डिजेल खपत गर्छ । मेसिनमार्फत दैनिक १० देखि १२ हल गोरुको काम (खेतबारी जोत्ने) गर्ने बुढाथोकीले बताए । अहिले गलकोट नगरपालिकामा ठुला ५ मिनि हलो कल्टीभेटर रहेका छन भनें साना ५–७ वटा रहेका छन् । मिनि हलो कल्टीभेटर प्रयोग गर्दा खेतलाले डल्ला फोड्न नपर्ने र माटो पनि हलुका हुने गर्दछ । एक हल गोरुको दिनभरको मेलो एक डेढ घण्टामै जोत्न सकिने भएकोले कृषकलाई यसले थप राहत मिलेको छ । गोरु औंशी पूर्णिमामा बारिने भएकोले पनि यसको लोकप्रियता थप बढ्दै गएको छ । पहाडी क्षेत्रमा खेतबारीका ढिकहरु अग्ला हुने भएकाले खेतबारीसम्म मेसिन लान र ल्याउन भनें अलि असहज हुने गरेको बुढाथोकीको भनाई रहेको छ । अहिले ग्रामीण क्षेत्रमा धान काटेर गहुँ छर्ने चटारो छ ।
Previous Articleहाइड्रोपावरको नाफा बढ्यो
Next Article चिसो बढेसंगै ढोरका किसान बेसी झरे