बागलुङ, २० कार्तिक-ढोरपाटनमा चिसो बढेपछि किसानहरु आफ्ना खेती, पशु र बालबालिका लिएर बेसी तर्फ झरेका छन् । कात्तिक पहिलो सातादेखिनै ढोरपाटनमा चिसो बढेको छ । उनीहरु फागुनसम्म निसी, बोबाङ लगायतको तल्लो बस्तीमा बस्छन् । उनीहरुको हिउँदका लागि तल्लो भेगमा र गर्मी मौषमका लागि ढोरपाटनमा घर छन् । निसीखोला–५ का टेकमान बुढाले पनि ढोरपाटनमा लगाएको आलु लिएर बेसी झरेको बताए । जाडो छल्न झरेका बुढाले हिउमा आलु विक्रि गरेर दिन बिताउने बताए । गर्मी छउन्जेल उनीहरुले ढोरपाटनमा खेती गर्ने, पशु पाल्ने र जडिबुटी संकलन गरेर बस्छन् । ढोरपाटनको मौषममा राम्रो आलु फल्ने भएकोले उनीहरुले मनग्ये आम्दानी लिन सकेका छन् । ‘यो बर्ष डेढसय क्विन्टल आलु फलेको थियो, घोडा, खच्चर र मानिसले बोकेर बेसीमा झारेको छु’ अर्का किसानले भने, ‘अब बुर्तिवाङ र बुटवलका साहुलाई विक्रि गर्नुपर्ला ।’ धेरैले सम्पर्क गरिरहेकोले समय र मूल्य मिलाएर विक्रि गर्ने उनले बताए । प्रतिकेजी ३० देखि ४० रुपैयाँ सम्ममा उनीहरुले आलु विक्रि गरिरहेका छन् । जाडो मौषम भएकोले बर्षको एकपटक मात्र आलु लगाउन सकिने उनीहरुको भनाई छ । बर्षमा यहाँका हरेक किसानले १ लाखदेखि ३ लाख रुपैयाँ आलु विक्रि गरेर कमाउँछन् । ढोरपाटनमा अस्थायी बसोबास गर्ने निसी, बोबाङ, अधिकारीचौर र खुंखानीका किसानले आलुकै विक्रिबाट जीवन चलाईरहेका छन् । जिल्ला कृषि विकास कार्यालयले पनि ढोरपाटन क्षेत्रलाई आलु पकेटको रुपमा विकास गरेको छ । तर ढोरपाटनमा बिकासे वा अन्य हाईब्रिड आलु लैजाने चलन छैन । अर्गानिक उत्पादनका लागि स्थानीय सेतो, मौलानी र जनकदेव जातको आलु लगाईदै आइएकोले त्यसैलाई बिस्तार गर्न लगाइएको कृषि प्रसार अधिकृत बिप्लब अधिकारीले बताए । जिल्लामा १ हजार ५ सय हेक्टरमा आलु खेती गरिन्छ । बर्षेनी झण्डै २० हजार मेट्रिकटन आलु फल्ने गरेको छ । ढोरपाटनको आलु कोसेलीको रुपमा लैजानका लागि शिकार आरक्षमा आएका युरोपेली पर्यटकले पनि खोजी गर्छन् । ‘प्याकिङ राम्रो भएमा युरोप पठाउन पनि सकिन्छ, त्यसका लागि किसान र कार्यालयको पहल भैरहेको छ’ अधिकारीले भने, ‘नियमित र अझै उत्पादन बढाउन सकियो भने निर्यात पनि संभव छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको बजेटबाट आलु उत्पादनमा अझै बैज्ञानिकीकरण गर्ने योजना कार्यालयको छ । परियोजनामार्फत पोखरा र बुटवलमा कृषि उपज प्रशोधन केन्द्र खोल्ने सरकारी कार्यक्रम सफल भएमा किसानले उत्पादन गर्ने सबै फसलले सहज बजार पाउने समेत उनले बताए । प्रशोधन केन्द्र स्थापना भएमा मकै, गौं र जौको सुजि बनाउने, दलहनलाई प्रशोधन गरेर सोझै विक्रि गर्ने तथा आलुका परिकार बनाएर महंगोमा विक्रि गर्न सकिने योजना छ ।
विद्यार्थी धेरै
ढोरपाटनबाट स्थानीयहरु बेसी झर्न थालेपछि बोबाङ र निसीका विद्यालयमा बालबालिकाको संख्या बढेको छ । बालबालिकाहरु बढेपछि बस्ने स्थान समेत अभाव हुन थालेको शिक्षकहरुले बताए । भर्ना भएपछि अधिकांस बालबालिकाहरु पशुपालनका लागि अभिभावकले लैजाने गर्छन् । जाडो छल्न झरेको समयमा मात्र आउने बालबालिकाको लागि बस्ने फर्निचर अभाव हुने ज्ञानोदय मावि बोबाङका प्रअ यामबहादुर कायतले बताए । नियमित नबस्ने भएकोले विद्यालयले आवस्यक फर्निचर बनाउन नसकेको उनले बताए । ती बालबालिकाहरुले आंशिक पढ्ने भएकोले परिक्षामा उत्तिर्ण नहुने तथा विद्यालय छाड्ने दर बपढरहेको जिशिकाको तथ्यांक छ ।
Previous Articleमिनीटेलर हलोप्रति बढ्दैछ आर्कषण
Next Article स्तनपान गराउने उपयोगी टिप्सहरु