बागलुङ, १७ कार्तिक-विभिन्न कारणले एचआईभी संक्रमणमा परेकाहरुलाई निशुल्क औषधि उपचार तथा परामर्श दिने गरी धौलागिरी अञ्चल अस्पतालमा एआरटी सेवा सुभारम्भ गरिएको छ । एआरटी सेवामा एएचएफ नेपालको सहयोग हस्तान्तरण कार्यक्रम गरेर बिहिवारदेखि सेवा थालिएको औपचारिक घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालय र एड्स हेल्थ कियर फाउण्डेसनले अस्पतालको सहकार्यमा यो सेवा थप गरेको हो । यस अघि छिटफुट रुपमा गैरसरकारी संस्थाले संक्रमितलाई औषधि सेवनमा सहयोग गर्थे । संक्रमणमा परेकहरु उपचारमा नआउने, अस्पतालमा आएकाहरु पनि सार्वजनिक हुन नसक्ने समस्यालाई समाधान गर्न यो सेवाले सहयोग गर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुजन गौतमले बताए । अस्पतालले यो सेवालाई व्यवस्थित बनाउने उनले प्रतिवद्धता पनि गरे । फाउण्डेसनको सहयोगमा डा. प्रिति आचार्य र भुवन कार्कीले नियमित सेवा दिने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले बिरामीको सेवाका लािग निशुल्क औषधि र परामर्श सेवा थालिएकोमा प्रसंसा गर्दै उनीहरुका लागि यातायात खर्च अभाव भएमा नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए । दश बर्ष अघि तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेलको अगुवाईमा अस्पतालमा औषधि वितरणको काम शुरु भएको थियो । पौडेल अहिले मन्त्रालयको एआरटी विभागका निर्देशक भएपछि उनकै अगुवाईमा अस्पतालमा सेवा थाल्न टोली आइपुगेको थियो । प्रभावकारी परामर्श नभएकोले धेरै बिरामी सम्पर्कमा आउन नसकेको थाहा पाएर कार्यक्रम लिएर आएको पौडेलले बताए । उनका अनुसार, जिल्लामा झण्डै १ हजार ८ सय एचआईभी संक्रमित भएको तथ्यांक छ । तर समाजिक अपहेलना सहनुपर्ने डरले अस्पतालमा ३ सय ४४ संक्रमितहरु मात्र सम्पर्कमा आएका छन् । बागलुङका अधिकांस युवा भारत र खाडी मुलुकमा रोजगारीमा गएका छन् । उनीहरुमा एचआईभी संक्रमण बढी भएको तथ्यांक छ । सेवा शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापा, फाउण्डेसनका निर्देशक दिपक ढुंगेल, डा. तरुण पौडेल, ग्लोबल फाउण्डेसनका राजेश खनाल लगायतले बोलेका थिए । निमित्त मेसु गौतमको अध्यक्षता, प्रदिप आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा प्रिति आचार्यले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।