बागलुङ, १७ कार्तिक-धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ, बागलुङको सदरमुकाम समेत रहेको बागलुङ नगरपालिकासहित समावेश भएको क्षेत्र नं. १ लाई प्रतिनिधिसभा र प्रदेश सभामा धेरै चासोका साथ हेरिएको छ । राजनीतिक रुपमा बाम र कांग्रेसको मत बराबर जस्तै देखिने यो क्षेत्रको निर्वाचन परिणाम के होला ? त्यो भने यसै भन्न सकिने अवस्था छैन । तर सशक्त उम्मेदवार र आफ्ना एजेण्डाहरुले दुवै पक्ष बलियो प्रतिष्पर्धिको रुपमा उत्रेका छन् । यो क्षेत्रमा संविधानसभाको उपनिर्वाचनमार्फत उदाएकी सहकारी तथा गरिवी निवारण राज्यमन्त्री चम्पा खड्का कांग्रेसकी उमेदवार हुन् । जिल्लाका २७ प्रतिष्पर्धिमध्ये खड्का एक्ली महिला उम्मेदवार समेत हुन् । मंसिर १० मा हुने प्रतिनिधिसभाका लािग कांग्रेसको तर्फबाट देशभरका २ जना महिला उमेदवारमा खड्का परेकी हुन् । कांग्रेसले निर्वतमान सांसद प्रकाश शर्मा पौडेललाई प्रदेशमा पठाएर खड्कालाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको हो । निर्वाचन जितेपछि मात्र जनताले चिन्ने मौका पाएपनि उनले ३ बर्षे कार्यकालमै मन्त्री बन्ने सौभाग्य पाईन् । भाग्यमानी नेताको रुपमा चिनिन् थालेकी खड्काको आगामी भाग्यरेखा मंसिर १० को निर्वाचनले देखाउने छ । गत उप निर्वाचनमा खड्काले बागलुङ १ बाट १७ हजार १ सय ५४ मत ल्याएकी थिइन् । उनका प्रतिष्पर्धि एमालेका मना केसीले १५ हजार ६८ मत ल्याएकी थिइन् । उक्त निर्वाचनमा माओवादीका कृष्ण केसीले २ हजार ५ सय ५ र राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकीले १ हजार ९ सय ४९ मत ल्याएका थिए । नयाँ संरचना अनुसार बागलुङको पुरानो क्षेत्र नं. २ को धेरै क्षेत्र अहिलेको १ मा गाँभिएको छ । उक्त क्षेत्रमा पनि कांग्रेसले जितेको थियो । सबै बाम मिल्दा भने कांग्रेस झण्डै ५ हजार मतले पछि देखिन्छ । तर खड्काले आफ्नो काम र प्रतिवद्धता बुझेर जनताले मत दिने विश्वास गरेकी छिन् । ‘मैले ३ बर्षमा जे–जस्तो काम गर्न सकें, त्यो हेरेर जनताले मत दिनेछन्’ खड्काले भनिन्, ‘यो क्षेत्रको विकासका लागि अझै धेरै काम गर्ने प्रतिवद्धता र योजना पुरा गर्ने बाचा लिएर आएकी छु ।’ विकास निर्माण मात्र नभएर जिल्लाकै एक्ली महिला उमेदवार भएकोले ५० प्रतिशत महिलाको सहानुभूति पाउने उनले दाबी गरिन् । राजनीति क्षेत्रमा नभएकोले शुरुका केही बर्ष राजनीति सिक्दैमा बितेको उनले बताइन् । खड्काका प्रतिष्पर्धि एमालेका डा. सूर्य पाठक छन् । विद्यार्थी राजनीतिबाट उदाएका पाठक केही समय जापान बसेर आएका हुन् । तर बिदेशमा बस्दा पनि पाठकले एमालेकै संगठनमा रहेर काम गरिरहेका थिए । नेपाल आएपछि गत संविधानसभामा उनी बागलुङ क्षेत्र नं. २ का उम्मेदवार थिए । तीन बामको छुट्टाछुट्टै उम्मेदवारी भएकोले संविधानसभामा भने उनी पराजित भए । अहिले बाम गठबन्धनका साझा उमेदवार भएकोले उनी आशाबादी छन् । बिदेशमा बसेर सिकेको रोजगारीका आधार र विकासको मोडल भित्राउने योजना लिएर उनी चुनावमा होमिएका छन् । ‘युवालाई बिदेश जानु नपर्ने गरी रोजगारी दिने योजना मैले ल्याएको छु’ पाठकले भने, ‘बाम गठबन्धनको समर्थन पनि भएकोले जित्ने आधार धेरै छन् ।’ कृषि, पर्यटन लगायतका क्षेत्रमा युवा रोजगारी सिर्जना गर्ने उनले बताए । सबै युवाहरु लडिरहने संस्कृतिको अन्त्य गरेर समृद्धिका लागि योगदान दिने उनको दाबी छ । राजनीतिक निकासका लागि सधै लडिरहने संस्कृतिको अन्त्यका लागि स्थायी सरकार बनाउन पनि बाम गठबन्धन आवस्यक भएको उनको भनाई छ । यो क्षेत्र राष्ट्रिय जनमोर्चा निर्णायक मानिन्छ । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसले २३ हजार १ सय ३९ मत ल्याएको थियो । बामपन्थीहरुले २८ हजार २ सय ९३ मत ल्याएका थिए । ५ हजार मत अन्तर देखिएपनि स्थानीय निर्वाचनमा बामपन्थीलाई राप्रपाले सघाएको थियो । राप्रपाको मतले कांग्रेसलाई सहयोग गरेको खण्डमा भने निर्वाचनमा रोमान्चक प्रतिष्पर्धा हुने देखिन्छ । प्रदेशतर्फ १ को १ मा बामपन्थीका तर्फबाट एमाले जिल्ला अध्यक्ष र कांग्रेसका पनि जिल्ला सभापति उम्मेदवार छन् । १ को २ मा कांग्रेसका पूर्वसभापति छन्भने बामपन्थीका तर्फबाट राजमोका पूर्वअध्यक्ष कृष्ण थापा छन् । जिल्लाको राजनीतिमा हेवि वेटहरुकै प्रतिष्पर्धा भएकोले पनि धेरैको चासो यो क्षेत्रमा परेको छ । आफ्ना एजेण्डालाई जनताको माझमा सही ढंगले पु¥याउन सक्नेले जितको माला पहिरिने राजनीतिक वृत्तमा आकंलन शुरु भैसकेको छ ।