बागलुङ, १७ कार्तिक-जवरजस्ती करणी प्रयास गर्दा नमानेपछि हत्या गरेको आरोपमा बागलुङको गलकोट नगरपािलका ६ का ५७ बर्षिय खिमबहादुर निउरे पक्राउ परेका छन् । अताराखोला घर भई गलकोट ५ लाम्पाटा बस्ने ३५ बर्षकी जनकली बिकलाई करणी गर्न नदिएको भन्दै धारिलो चक्कु प्रहार गरेर हत्या गरेको आरोपमा निउरे पक्राउ परेका हुन् । उक्त घटनामा संलग्न भई मृतक बिकलाई खोलामा लगेर फाल्न समेत सहयोग गर्ने गलकोट २ बस्ने ३१ बर्षिय निसा रेग्मी बिक पनि पक्राउ परेकी छिन् । असोज २५ गते राती तीनैजना बसेर रक्सी र मासु खाएपछि निउरेको घरमा गएको र पालैपालो करणी प्रयास गर्दा मृतकले नदिएपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । हत्यामा संलग्न निसासँगको सम्पर्कपछि मृतक सँग सम्पर्क गर्न खोज्दा नदिएपछि हत्या भएको थियो । हत्यापछि दुवैजना मिलेर मृतकलाई तन्नामा बेरेर दरमखोलामा लगेर फालेको अनुसन्धानले खुलेको छ । उक्त घटनापछि प्रहरीले अभियुक्तको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । हत्या गरेको स्विकारेका अभियुक्तसँग थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । गाउँमा गन्यमान्य रुपमा चिनिएका निउरे सँग उनीहरुको पुरानो सम्बन्ध भए नभएको, आर्थिक लेनदेनको अवस्था भए नभएको लगायतको बिषयमा प्रहरीले खोजी गरिरहेको छ । मृतक जनकली र पक्राउ परेकी निसाका श्रीमान बैदेशिक रोजगारीमा छन् । श्रीमानहरु बैदेशिक रोजगारीमा गएको मौकामा अनैतिक करणीमा लाग्ने गरेको तथा अपराधिक क्रियाकलापमा संलग्न भएको समेतका घटनाले सामाजिक विसंगती निम्तेको भन्दै खापुङले अपराध नियन्त्रण सँगै नैतिक शिक्षाको पनि अभाव भएको बताए । बिहिवार पत्रकार सम्मेलन गरेर प्रहरीले अभियुक्तहरुलाई सार्वजनिक समेत गरेको थियो । उनीहरुलाई जिल्ला अदालतमा कर्तव्यज्यान मुद्दा दायर भएको छ । अदालतले ५ दिनको म्याद थप गरेपछि प्रहरीले अनुसन्धानलाई अगाडि बढाइरहेको हो । त्यस्तै गत कात्तिक १२ गते खरवाङ प्रहरीले चरेस सहित पक्राउ गरेका अभियुक्तलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा अभियुक्त धनबहादुर भन्ने हस्त पाईजालाई सार्वजनिक गरेको हो । नाम फेरेर अवैध चरेस कारोवार गरेका पाईजा २०४९ सालमा पनि ५० केजी चरेस कारोवार गरेर फरार भएका अभियुक्त भएको प्रहरी अनुसन्धानले फेला पारेको छ । गुल्मी प्रहरीले फरार सूचिमा राखेको थाहा भएपछि बागलुङमा हाल भएको घटनाको कारवाही पछि गुल्मीमा बुझाईने खापुङले जानकारी दिए । पाईजाको साथबाट २ वटा झोलामा २२ केजी ५० ग्राम चरेस भेटिएको थियो । बुटवल लैजान हिडेको बताउने पाईजाले कसलाई बुझाउने भन्ने अहिले सम्म नखुलाएको उनले बताए । उनको साथमा भएका अर्का एक व्यक्ति फरार छन् । खरवाङ प्रहरी मार्फत इलाका प्रहरीलाई बुझाएपछि जिल्ला प्रहरीमा आईपुगेको हो । १० केजी भन्दा धेरै चरेस ओसारपसार गर्नेलाई ५ बर्षदेखि १२ बर्ष सम्म जेल सजाय हुने कानूनी प्रावधान छ । १० केजी भन्दा कम फेला परेमा भने ३ बर्ष सम्म जेल सजाय हुने र धरौटीमा रिहा हुन सक्ने व्यवस्था छ ।
Previous Article२०७४ कार्तिक १७ गते शुक्रबारको राशिफल
Next Article संक्रमितलाई निशुल्क औषधि