मुस्ताङ, १७ कार्तिक-जिल्लाका कृषकले यस वर्ष ४२ करोडको स्याउ बिक्री गरेका छन् । काठमाडौँं, पोखरा, नारायणघाट, कुस्मा, बागलुङ र म्याग्दीका स्याउ व्यापारीले कृषकको बगैँचामै पुगेर रुखै ठेक्कामा लिई स्याउ खरिद गरेका थिए । थोक व्यापारीले बोटै ठेक्का लिएपछि बजारको मागअनुसार पाकेका दाना टिपी प्याकिङ गरेर बजारमा पठाएर बिक्री गरेका थिए । मुस्ताङमै स्याउको खुद्रा मूल्य प्रतिकिलो १०० रूपैयाँ तोकिएको थियो । स्याउको फूल फूल्ने बेलामा जिल्लामा हिउँ परेको र कृषकले उत्पादन क्षेत्र बढाउँदै लगेका कारण गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा झण्डै १६ प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका योजना अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए । यस वर्ष जिल्लामा पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान गरिएको छ । मुस्ताङमा कृषकले यसवर्ष ४१५ हेक्टर क्षेत्रफलमा स्याउ लगाएका थिए ।