बागलुङ, १७ कार्तिक-रक्त क्यान्सरबाट पिडित भएकी बागलुङको भीमा पोखराकी एक युवतीलाई बचाउने अभियान शुरु भएको छ । काठेखोला २ भिमा पोखराका टिकाराम थापा र बिष्णुकुमारी थापाकी २३ बर्षिय छोरी सावित्रालाई उपचार गर्न सहयोग संकलनका लागि अभियान थालिएको हो । दशै पछि उनी बिरामी भएपछि उपचारका लागि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा रक्त क्यान्सर भएको थाहा पाएपछि उनको उपचारका लागि भारतको भारतीय स्वास्थ्य विज्ञान संस्थान नयाँदिल्ली लगिएको छ । उनको रगत फेर्न मात्रै २४ लाख रुपैयाँ लाग्ने अस्पतालले बताएपछि परिवारले हार गुहार गरेको थियो । स्थानीय बासिन्दाले सहयोग समिति गठन गरेर उपचारका लागि सहयोग माग्ने अभियान थालेको हो । तत्कालका लागि प्रगती बहुउद्धेश्यीय सहकारी संस्थाको १७७२ नम्बरको खातामा रकम जम्मा गर्ने गरी संकलन अभियान थालिएको सहकारीका अध्यक्ष कुमार पौडेलले जानकारी दिए । ग्रामीण बस्तीमा रहेका किसान परिवारले आफ्नै खर्चले उपचार गराउन नसक्ने भएपछि सहयोग समिति गठन गरिएको हो । उनको सहयोगका लागि समिति गठन गर्ने समयमै केही मानिसले सहयोग दिईसकेका छन् । पहिलो दिनमा सार्वजनिक नगर्दै प्राप्त ४ हजार २ सय रुपैयाँ समितिका सदस्य खिमबहादुर कार्कीले अध्यक्ष पौडेललाई रकम हस्तान्तरण गरे । यो अभियानमा प्रचार प्रसार गरि सहयोग गरिदिन पिडित परिवार र समितिले पत्रकारलाई र सहयोग गरिदिन आम जिल्ला तथा देशबासीलाई अनुरोध गरेका छन् ।