तारानाथ आचार्य/बागलुङ, १४ कार्तिक–निर्वाचनको मिति नजिकिदै जाँदा जिल्लास्थित सरोकारवालाहरुले आफ्नो तयारीलाई तिब्रता दिएका छन् । निर्वाचनको अवधिमा कर्मचारी खटाउनेदेखी सुरक्षा ब्यवस्थालाई मजबुद बनाउन सरोकारवालाहरुले कामलाई तीब्रता दिएका हुन् । जिल्लाका सबै मतदान केन्द्रहरुको सुरक्षा संबेदनशिलतालाई अध्ययन गरी सुरक्षा योजना तयार भएको प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बताए । आवस्यक सेना, प्रहरी र सशस्त्र प्रहरी लगायत म्यादी प्रहरीको समेत छनौट प्रक्रिया सकिएर तालिमको चरणमा रहेको थापाले बताए । जिल्लाका केही मतदान केन्द्रहरु सुरक्षाका हिसाबमा संबेदनशिल रहेकोले त्यस्ता केन्द्रहरुको लागि मजबुद सुरक्षा संयन्त्र बनाउने थापाको भनाई थियो ।
सुरक्षाका हिसाव अति संबेदनशिल, संवेदनशिल र सामान्य गरी तीन बर्गमा मतदान केन्द्रलाई राखेर सुरक्षा प्रबन्धको लागि तयारी भैरहेको उनको भनाई थियो । कुन मतदान केन्द्रलाइ कुन बर्गमा राखिएको भन्ने बारेमा भने उल्लेख गर्न नमिल्ने थापाको भनाई थियो । बागलुङका केही मतदान केन्द्रहरु अत्यन्तै दुर्गममा रहेको र संभावित भौगोलिक बिकटता, प्राकृतिक बिपत्ति र हुन सक्ने दुर्घटनालाई लिएर जिल्ला प्रशासनले क्षेत्रीय प्रशासनसँग हेलिकप्टरको माग समेत गरेको छ । जिल्लाका दुर्गम मतदान केन्द्रलाई लक्षित गरेर हेली प्याडहरुको व्यवस्था गरिएको प्रजिअ थापाले बताए ।
निर्वाचनको लागि सुरक्षाकर्मी, कर्मचारी र स्वयम सेवकको छनौट गर्ने काम सकिएको थापाको भनाई छ । निर्वाचनलाई प्रभाव पार्ने खालका कुनैपनि गतिबिधि सञ्चालन हुन नदिन सुरक्षा निकायको सक्रियता बढाइएको थापाको भनाई छ । ‘हामीले सबै दलका उम्मेदवारको सम्पर्क नम्वर लिएर दैनिक सम्पर्क सुरु गरेका छौं’ थापाले भने ‘उम्मेदवारलाई हुन सक्ने त्रास र सुरक्षा चुनौती हुन नदिन हामीले दिनमा एकपटक सम्पर्क गर्ने व्यवस्था मिलाएका हौं ।’ निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालयमा राखिएका निर्वाचन सामाग्री तथा कार्यालयको सुरक्षालाई समेत मजबुद बनाएको थापाले बताए । जिल्ला निर्वाचन कार्यालयमा ३५ जना सशस्त्र प्रहरीको टोली खटाईएको उनको भनाई थियो ।
जिल्ला निर्वाचन कार्यालयले कर्मचारी तथा शिक्षकहरुको नामावली संकलनको काम सकेको र तत्कालै उनीहरुको लागि तालिम उपलव्ध गराईने जिल्ला निर्वाचन अधिकारी विकासराज शर्माले बताए । १ सय ९९ जना मतदान अधिकृत र सोही संख्यामा स्वयम् सेवकहरुको छनौट भैसकेको शर्माको भनाई थियो । मत पत्रको विवादका कारण तत्काल मतदाता शिक्षा सञ्चालन गर्न नसकिएको भन्दै शर्माले स्वयम सेवकहरुलाई तयारी अवस्थामा राखेको बताए । बिगतका निर्वाचनमा मतदाता शिक्षामा कमजोरी भएको भन्ने खबरहरु आएकोले यसपटक त्यो कमजोरी हुन नदिने शर्माले बताए । ‘स्थानिय निकायका जनप्रतिनिधिको निगरानीमा स्वयम सेवकहरुले मतदाता शिक्षा सञ्चालन गर्ने छन’ शर्माले भने ‘पहिलेको जस्तो गुनासो नआउनेमा हामी ढुक्क छौं ।’ नमुना मत पत्रहरु नआएका कारण मतदाता शिक्षा सञ्चालन गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसपटकको निर्वाचनमा तिनवटा मत पत्रमा मतदाताले मतदान गर्ने निश्चित भएको भएपनि मतपत्र कस्तो रंग र कत्रो आकारको हुने भन्ने बिषयमा अझै निर्वाचन आयोगले माताहातका कार्यलयलाई सुचना गरेको छैन् ।
निर्वाचनको तयारि तिब्र पारिँदै । सुरक्षा र निर्वाचन कार्यलयलाइ भ्याइ नभ्याइ ।
Previous Articleपत्रकारलाई चुनाव सम्वन्धि प्रशिक्षण
Next Article खर्वाङ बाट २२ किलो चरेश सहित धनबहादुर पक्राउ