पर्वत, १३ कार्तिक–मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेका बेला बाँसखर्कमा एक सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरु गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि नाच्न छाडिएको थियो । पुन मगरको कूलदेवता करवाकेलीको पूजा गर्ने समयमा अरु गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो ।
गतवर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम दिलाएपछि यहाँ सोरठी शुरु भएको छ । सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकिएको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताए । आफ्नो बाजेका पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अव यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ । “एक वर्षअघिसम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उनले भने “अब युवालाई म आफैँ सिकाएर निरन्तरता दिन्छु ।” सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ ।
यो गीतभन्दा पनि मादलका तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलीजाले बताए । नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताए । नृत्यको शुरुआतमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन् । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको ठानिन्छ । हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा नृत्य कलाकार तिलिजाको छ ।
Previous Articleबन्द सेवा सन्चालन छिटो गर
Next Article मालपोतका हाकिम बिरुद्ध आरोप पत्र दायर