जिल्लाका प्रायः सार्वजनिक निकायमा सर्वसाधारणका लागि सेवाहरु सुचारु हुन्छन् र केही समय त्यसले सेवाग्रहीको मनोभावना अनुसारको सेवा प्रदान पनि गर्छन तर टिकाउमा भने त्यस्ता सेवा सुबिधाहरु छोटो आयुका हुने गरेका छन् । सरकारी तथा गैह्रसरकारी निकायको सहयोगमा सञ्चालन गरिएका यस्ता खालका सेवा सुबिधालाई उचित व्यवस्थापन गर्न नसक्दा समस्या पैदा हुने गरेको छ । सुबिधाहरुको उपलव्धता भएका कतिपय निकायमा सेवा प्रदान गर्ने सेवकको अभावमा पनि सर्वसाधारणले सरकारी लक्ष्य अनुसारको सेवा सुबिधा लिन पाएका छैनन् । सेवा शुरु भएको दुई बर्षपछि बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अप्रेशन सेवा बन्द भएको छ । करार सेवामा रहेका डाक्टरको दरवन्दी खाली भएको, अप्रेशनका लागि एनेस्थेसियोलोजिष्ट अभाव लगायतको कारणले सेवा बन्द भएको हो । सम्न्धित निकायको उदाशिनताका कारण समयमा आवस्यक जनशक्ति तथा सामाग्रीका उपलव्धतामा समस्या हुँदा सेवा सुबिधा लिनबाट सर्बसाधारण बञ्चित हुनु परेको छ । सरकारले समयमा दरवन्दी अनुसारको जनशक्ति खटाउन नसक्दा समस्या भएको स्वास्थ्य केन्द्रमा जस्तै जिल्लाका हरेक निकायमा समस्याका खाडलहरु गहिरो बन्दै गइरहेका छन् ।
बुर्तिबाङमा बन्द भएको अप्रेशन सेवा मात्र हैन जिल्लाका अधिकांश स्वास्थ्य चौकीको लागि स्वास्थ्य बिमा कार्यक्रमअन्र्तगत ल्याइएका एक्स–रे मेसिनहरु समेत आवस्यक पर्ने केही साना सामाग्रीका कारण महिनौं देखी सञ्चालनमा आउन सकेका छैनन् । यस्ता खालका समस्यालाई सम्बन्धित निकायले समयमा सम्बोधन गर्न नसक्दा एकातर्फ सबर्वसाधारण सुबिधा पाउनबाट बन्चित भएका छन्भने अर्कोतर्फ यस्ता खालका सेवा सञ्चालनका लागि आवस्यकता महशुस गरी नियुक्त भएका अन्य पाटोका कर्मचारी तथा सेवा प्रदायकहरु बेकामी बनेर बसेका छन् । काम गर्दा दिर्घकालिन योजना बनाउनु पर्ने र कामको थालनी गर्नुभन्दा अगाडि आवस्यक सबै खालका बस्तु तथा सेवाहरुको बारेमा गहिरो अध्ययन गरी उपलव्धताको संभाव्यता अध्ययन गर्न सरोकारवाला चुक्नु हुँदैन् । निजी क्षेत्रको तुलनामा सरकारी क्षेत्रका सेवा प्रदायकहरु सेवा सुबिधा बढी लिने र काम कम गर्ने गरेका तथ्यहरु बाहिर नआएका होइनन् । राज्यको फितलो अनुगमन, सुपरिबेक्षण तथा नियमनकारी निकायको उदाशिनताका कारण सरकारी सेवा प्रदायक क्षेत्रमा मौलाएको यस्तो खालको रोगले उपभोक्तालाई भने बिमारले भन्दा गहिरो गरि गाल्ने कुरा निश्चित छ । बुर्तिबाङमा बन्द भएको अप्रेसन सेवाका कारण आजपनि सामान्य अप्रेशनको लागि त्यस क्षेत्रका नागरिक दुई तीन दिन लगाएर महंगो यातायातको भाडा तिरेर सदरमुकाम धाउन बाध्य छन् । अर्कोतर्फ एक्स–रे मेसिनलाई सञ्चालनमा ल्याउन नसक्दा सामान्य एक्स–रेको लागि सर्वसाधारण सदरमुकाम तथा छिमेकी जिल्लाका अस्पतालको भर पर्नुपरेको छ । सेवामा संलग्नको नियुक्ति भरण पोषणको काम राज्यको हो ।
राज्यले दिएको सेवा सुबिधा लिएका कर्मचारीहरु खटाईएको क्षेत्रमा पुगेर सेवामा संलग्न हुन सक्नुपर्दछ । यदि राज्यको सेवा सुबिधा लिएर पनि कार्यक्षेत्रमा नजानेलाई सम्बन्धित निकायले कार्वाहीको प्रकृयाअगाडि बढाउन सक्नु पर्दछ । सरोकारवाला निकाय सम्बन्धित क्षेत्रका समस्यामा संबेदनशिल बनोस । स्वास्थ्य सेवा जस्तो संबेदनशिल बिषयमा सर्वसाधारणको मनोबल गिर्ने गरी संचालनमा आएर पनि रोकिएका सेवा सुबिधा तत्काल सञ्चालनमा ल्याउन पहल थालौं । बिषयको गम्भिरतालाई बुझेर द्रुत मार्गमार्फत काम गर्न गराउन राज्य संबेदनशिल बनोस् ।