बागलुङ,११ कार्तिक–नेपाली कांग्रेस बागलुङले आसन्न निर्वाचनको प्रचार अभियानको शुभारम्भ गरेको छ । बागलुङ नगरपालिका १ मा घोषणा सभा र घरदैलो मार्फत अभियान थालेको हो । आसन्न निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने अभियानमा सक्रिय रहन सबै नेता र कार्यकर्तालाई आग्रह गर्दै केन्द्रीय सदस्य रत्ना शेरचनले संविधान कार्यान्वयन कांग्रेसकै नेतृत्वमा हुनुपर्ने धारणा राखिन् ।
कांग्रेसकै नेतृत्वमा जनआन्दोलन भएको, कांग्रेसकै नेतृत्वमा संविधान बनेकोले पनि संविधान कार्यान्वयनमा समेत कांग्रेस नेतृत्व आवस्यक भएको उनले दावी गरिन् । ‘२०६४ को निर्वाचनमा बामपन्थीकै बहुमत भएर पनि संविधान बनेन, कांग्रेस नेतृत्वको सरकारले मात्र संविधान बनायो’ शेरचनले भनिन्, ‘फेरी पनि बामपन्थी एकताबाट संविधान कार्यान्वयन हुन्छ भन्नु भ्रम मात्र हो ।’ उनले कांग्रेसकै नेतृत्व बिना संविधान कार्यान्वयन गर्न कठिन हुने टिप्पणी पनि गरिन् । निर्वाचनको लागि सशक्त प्रतिष्पर्धि भएपनि टिकट नपाएकी उनले पार्टीलाई जिताउन भने सक्रिय भएर लाग्ने बताइन् ।
साथै सबै प्रतिष्पर्धिलाई पनि उनले साना मनमुटाव बिर्सेर अगाडि बढ्न आग्रह गरिन् । गरिवी निवारण तथा सहकारी राज्य मन्त्री चम्पा खड्काले जिल्लाबासीको बिकास निर्माण र सुख दुःखमा लगातार लाग्ने लक्ष सहित राजनीतिमा होमिएको बताइन् । साँढे २ बर्षको अवधिमा संविधान लेखन लगायतको बेफुर्सदले काम गर्न नसकेको भन्दै स्वतन्त्र रुपमा समाज सेवामा लाग्ने समेत धारणा राखिन् । श्रीमान हरि खड्काको सपना पुरा गर्न पनि प्रतिनिधि सभा मार्फत संविधान कार्यान्वयनमा लाग्ने पनि उनको धारणा छ । बानपा १ का कांग्रेस पार्टी सभापति तेजेन्द्र आचार्यको अध्यक्षता र सचिव सूर्य गौतमको संचालन तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा कांग्रेस सभापति तथा प्रदेश क का उमेदवार दिपेन्द्र बहादुर थापा र प्रदेश ख का उमेदवार प्रकाश शर्मा पौडेलले पनि पार्टीलाई जिताएर देशको समृद्धिको बाटो खोल्नुपर्ने धारणा राखेका थिए ।
उमेदवार, पार्टीका जिल्ला स्तरीय नेता, महासमिति सदस्यहरु, महाधिवेसन प्रतिनिधिहरु, भातृ संगठनका केन्द्रीय सदस्य, जिल्ला प्रतिनिधि समेतले रामरेखामा घरदैलो गरेका थिए । घरदैलो अभियानमा विकास निर्माणको अगुवाई गर्दै राष्ट्रको समृद्धि अभियानमा पनि नेतृत्व गर्ने प्रतिवद्धता जनाएका थिए । उक्त अवसरमा बानपा १ का समाजसेवी दुर्गाबहादुर आचार्य सहितका जेष्ठ नागरिकहरुले उमेदवारलाई टिका र माला लगाएर बिजयको शुभकामना दिएका थिए ।
Previous Articleबिद्याश्रमलाइ एभरेट बैंकको सहयोग
Next Article त्रिशुली बस दुर्घटना: मृतक ३१ मध्ये २९ को सनाखत