दीपक घिमिरे
सात वर्षको लामो खाडी बसाइपछी आज नेपाल जाँदैछु । प्लेनको पर्खाइमा अबुधाबी एयरपोर्टको टर्मिनल टुमा बसेको छु । यो लेखाइ मेरो प्यारो देशको सबैभन्दा ठूलो शहर काठमाण्डौ पुगेपछी अन्त्य हुनेछ । सात वर्ष अघि हरियो पासपोर्ट बोकेर खाडी छिर्दा म नेपाललाई खासै माया गर्थेन । त्यहाँको अभाव , दुःख अनि आर्थिक पीडाले छटपटिएर खाडी आउँदा म यहि खाडीलाई आफ्नो कर्मथलो मान्दै आएको थिए र यहि देशको माया लाग्थ्यो । तर समय सँगै जन्मथलो नेपालको माया लाग्न थाल्यो । पैसा भन्दा प्यारो परिवार लाग्न थाल्यो । काम भन्दा ठूला आफन्त लाग्न थाले । अनि सात बर्ष लामो खाडी बसाईलाई बिट मार्दै उड्दैछु नेपाल । यति लेख्दा लेख्दै इत्तेहाद एयरको नेपाल जाने बोइङ आइपुगेको खबर पाए । लेख्न छाडेर चेक इन हुने लाइनमा उभिएँ । अनि बोइङ पास लिन हतारिए । पि–४ सिट नम्बर भएको बोईङ पास पाएँ । यो सिट ठ्याक्कै झ्याल तिर रहेछ । साइडमा तीन जना अरबी युबा थिए । म आफ्नो सिटमा बसेपछि सुरु भयो परिचयात्मक कार्यक्रम । नेपालको हाईड्रोपावरमा जागिर गर्न दुबईबाट नेपालमा भिषा पाएका ती युबाहरु काठमाडौ जाँदै रहेछन् । मैले सात वर्ष उनीहरुको देशमा मजदुरी गरेर फर्कदै छु भन्दा एउटाले पनि विश्वास गरेनन् । उनीहरु नेपाललाई विश्वकै एक नम्बरमा अर्थतन्त्र बलियो भएको देशको रुपमा बुझेका रहेछन् । मैले सात बर्ष उनीहरुको देशमा मजदुरी गरेको कुरा सुनेर एउटाले भन्यो ‘ झुट नबोल मित्र ! विश्वभरीका मान्छेका लागि नेपालको वर्किङ भिषा लाग्नु सपनाको कुरा हो । नेपालीको प्रतिब्यक्ति आए सुनेर हामी दङ्ग पर्छौं तर तिमी चै मजदुरी गर्न यो देश आएको कुरा गर्छौ । ’उसले यस्तो भनेपछि म आफै अचम्म परे ।
उनीहरुको कुराले अलिकति हसायो पनि । अनि उनीहरुको भिषा कपि मागेर हेरेँ । अपर कर्णाली हाईड्रो प्रोजेक्टमा सामान्य मजदुरीको भिषा रहेछ । आफ्नै देश नेपाल बाहिरी मुलुकबाट श्रमिक आयात गर्ने हैसियतमा पुगेको देखेर छक्क परे । श्रम सम्झौता पत्र मा उनीहरुको तलब प्रति घण्टा दस डलर लेखिएको थियो । उनीहरु नेपालमा भिषा लगाउन सफल भएकोमा निक्कै खुशी देखिन्थे । सामान्य मजदुरलाई यो तलब भनेको मैले गर्ने कल्पना भन्दा माथि थियो । झुटो हो कि भनेर श्रम स्वीकृतिपत्रको लोगो हेरे । श्रम मन्त्रालयको सक्कली लेटर प्याडमा मन्त्रालयका सचिब तारिणी शर्माले सहि छाप गरेका थिए । सबै भिषा सक्कली थियो । मासिक तीस हजारका लागि अबुधाबी छिरेको मैले आफ्नै देशमा सामान्य मजदूरले मासिक लाखौं कमाउने भैसके भन्दा पत्याउनै सकिनँ । तर बास्तबिकता यहि थियो । देशले सात बर्षमै कायापलट गरेको रहेछ । आर्थिक रुपमा कोल्टे फेरेको मेरो देशले हाईड्रो पावर र पर्यटन क्षेत्रबाट आर्थिक लाभ उठाउदै बिश्वमा सबैभन्दा धनी देशहरुको सुचिमा एक नम्बरमा परेको रहेछ । लगभग चार घण्टाको उडान पछि प्लेन त्रिभुवन अन्तरराष्ट्रीय बिमानस्थलमा ओर्लियो । बिमानस्थलमा ओर्लना साथ मलाई मेरो देश बिश्वकै धनी देश भएको महसुस भयो । सात बर्ष अघि देखेको एयरपोर्ट र आज देखेको एयरपोर्ट बीच आकास जमिनको फरक थियो । एयरपोर्ट भित्रका ड्युटी फ्री सपहरु सायद बिश्वकै उत्कृष्ट सप हरुमा पर्दथे । एयरपोर्टमा काम गर्ने क्लिनरदेखि भिषा पासपोर्ट चेकिङमा बसेकाहरु बिश्वका हरेक कुनाबाट आएकाहरु जस्तै लाग्दैथ्यो । कोही काला थिए त कोही गोरा अनि कोही पुर्बी एसियाका जस्ता । नेपालीहरु खास्सै देखिएनन् , सायद अफिस भित्र बसेर निर्देशन दिने काम नेपालीको हुन्थ्यो होला । किनकी अहिले नेपालीहरुको हैसियत धेरै माथि पुगीसकेको थियो ।
एयरपोर्ट बाट बाहिर निस्केपछी म अचम्म परे । के यो साच्चै मेरो काठमान्डौ हो भनेर आफैलाई प्रश्न गरे । पत्याउनै नसकेर एक पटक आफैले आफैलाई चिमोटे , कतै म सपनामा त छैन भनेर । म बिपनामै थिए । म अहिले काठमाण्डौ स्मार्ट सिटि भित्रको एयरपोर्टमा पार्कीङ एरीयामा थिए । टोयोटा कम्पनिको क्याम्री भन्ने कारहरु ट्याक्सीको रुपमा थिए । म खाडी जादा सुजुकी मारुती खटारा ट्याक्सीले भरिएको काठमाण्डौ स्वच्छ सफा अनि हराभरा भएको देख्दा अचम्म नपर्ने कुरै भएन । टोयोटा कम्पनिको ट्याक्सि चढेर एयरपोर्टको गेट क्रस हुदै थिए , गौसाला तिरबाट एउटा लामो पुल एयरपोर्ट हुँदै तिनकुने तिर गएको देखे । ट्वाँ परेर हेर्दै थिए , सुलुत्त एउटा मेट्रो रेल कुदेर गयो । म अचम्म परी मोबाईल निकालेर फोटो खिच्ने सुर गर्दै थिए , ट्याक्सीले भित्र अँध्यारो भयो । झोला बाट मोबाईल ननिकाली बाहिर हेरेको सोच्नै नसकिने अबस्था । हासो र आश्चर्य एकै पटक बाहिर आयो अनि ट्याक्सी ड्राईभरलाई सोधे ‘ किन अँध्यारो ?’ उसले सामान्य हुँदै भन्यो ‘ यो प्वाईन्ट बाट सुरुङ्ग मार्ग पक्ड्यो भने हामी गंगबु बसपार्कमा निस्कन्छौ ।
माथीबाट भन्दा यहि रुट सजिलो लाग्छ मलाई र छोटो पनि पर्छ हजुर ।’ उसलाई सामान्य लागेपनि म अचम्म नहुने कुरै भएन । छक्क परेर सुरुङ मार्ग नियाली रहे । शहरमा सडक सञ्जाल यसरी बिकसित भएको रहेछ कि कुनै जमानामा बसपार्क बाट एयरपोर्ट पुग्न दुई घण्टा लाग्थ्यो भनेर अब कथामा सिमित हुने भयो । माथी मेट्रो रेल गुडेका छन सुलुलुलु , भुईमा आठ लेनको सडक छ चिल्लो अनि अन्डरग्राउण्डमा सुरुङ्ग मार्ग छ सलललल । म एकोहोरो सोच्दै थिए , गंगबु बसपार्कमा ट्याक्सी उक्लियो । बसपार्क यति ब्यबस्थित थियो कि वर्णन गर्न सकिन । बसहरु दुई तले सम्मका थिए । लामा बसहरु हेर्दै अचम्म लाग्ने रेल जस्ता पनि थिए । ट्याक्सीको बिलिङ सिस्टम रहेछ । उसले बिल दिदै भन्यो ‘एक सय असी रुपैया मात्र ।’ मैले दुई सय रुपैया दिदै भने ‘ घर कहाँ हो भाई ?’उसले भन्यो ‘सिक्किम हो दाइ ! ड्राईभिङ भिषामा नेपाल आको तीन बर्ष भयो ।’ भारतको एउटा प्रान्त हो सिक्किम । भारतबाट नेपाल आउन भिषा लगाउन पर्ने नियम बनेको रहेछ । खुशीले गदगद भए । सोचेँ ! अब भारतिय हरुले हाम्लाई हेप्ने दिन सकिएछन । दुईचार दिन यतै काठमाण्डौमा बस्ने रहर पलायो । बसपार्कको उत्तर साईडमा एउटा गगनचुम्मी टावर देखे । ठुला अक्षरमा लेखिएको थियो ‘ ट्रम्प होटेल ।’ सायद यो होटेल अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पको हुनुपर्छ । बसपार्कमा झाडु लगाउदै कागजका खोस्टा अनि फोहर उठाउदै गरेको एउटा बिदेशी कालेलाई बोलाएर सोधेँ ‘ बाँस बस्नको लागि त्यो ट्रम्प होटलमा कसरी जाउ ? कता बाट छ बाटो ?’ उसले नजिकै भएको एउटा सानो इलेक्ट्रीक कार देखाउदै भन्यो ‘त्यसैमा बस्नुस ! त्यो होटलले निःशुल्क राखेको सवारी साधन हो । त्यसमा बसेपछी सिधै होटल ।’ बाहिरी देशको जस्तो भएपनि उ मज्जाको नेपाली बोल्दै थियो । उसलाई धन्यबाद भन्दै सोधे ‘कुन देश बाट आएको ?’ उसले लजाउदै भन्यो ‘ अमेरिकाको टेक्सासबाट !’ गर्वको महसुस भयो । मेरो देशले फड्को मारेको देखेर गौरवान्बित भए । अनि उसले ईशारा गरेको सानो कारमा बसे । कारको ड्राईभरले नसोधी ट्रम्प होटलमा लिएर आयो । एकसय तीस तले यो बिल्डिङको नाम प्रचण्ड टावर रहेछ । प्रचण्ड प्रधानमन्त्री हुदा बनेको सरकारी भवन रहेछ यो प्रचण्ड टावर । सरकारले ट्रम्प होटललाई भाडामा दिएको रहेछ । अबको बसाई यहि होटलमा हुने भयो । रिसेप्सनमा ईजिप्टको नागरीक जस्ती एउटी रिसेप्सनिष्ट रैछिन् । मैले पासपोर्ट देखाउदै रुम बुक गर्न खोजे । उनले मेरो पासपोर्ट हेरेर जुरुक्क उठिन अनि नेपाली पारामा नमस्कार टक्र्याउँदै स्वागत गरिन् ।
पछि थाहा पाएँ– यहाका होटेलहरुमा नेपाली देख्ने बित्तिकै निक्कै आदर सत्कार हुँदो रहेछ । अनि शुःल्क पनि पचास प्रतिसत डिस्काउण्ट । बत्तिसौ तलाको स्विट रुममा बसेर एक पटक काठमाण्डौलाई नियाले । मेरो काठमाण्डौ साच्चिकै अबुधाबी दुबई या युरोपका कुनै शहर भन्दा कम थिएन । कसैले ढोका ढक्ढ्याएको जस्तो अनुमान लगाउदै ढोका खोल्दिए । बाहिर बेल्जियमबाट रोजगारीको सिलसिलामा नेपाल आएको वेटर रहेछ । पानी लिएर आएको उसको नाम थियो डानियल स्मिथ । उ सँग एकछिन गफ मारेँ । उ म जस्तै नेपाली बोल्दो रहेछ । उसले डिउटी एक बजे सकिने अनि डिउटी सकेर टुडिखेलमा सैनिक परेड हेर्न जाने निर्णय गरेको सुनायो । म उत्साही हुँदै सँगै जाने सल्लाह गरँे , उ खुशी भयो । म फ्रेस भएर तल ओर्लिए , उ मलाई कुरेर बसेको थियो । होटेलको पार्किङमा गएर आफ्नो कार झिक्यो । ओ माई गड ! उसले बेन्टली कार किनेको रहेछ । स्पार्टी लुक्सको बेन्टली कार बाहिर ल्याएर भन्यो ‘तपाईं ड्राईभ गर्ने या म गरु ?’आफुलाई राम्रो सँग बाईक चलाउन आउदैन , कहाँ बाट कार चलाउनु ? भन्न पनि लाज ! मैले उसलाई चलाउन आग्रह गर्दै भने ‘तिमी चलाउ, म थाकेको छु ।’उसले आठ लेनको चिल्लो सडकमा बेन्टली स्पोर्ट कार सय भन्दा माथीको स्पिडमा कुदायो । म दङ्ग परेर स्मार्ट सिटि काठमान्डौ नियाली रहे । टुडिखेलमा पुगेपछिको रौनक नै छुट्टै । आकाशमा एफ–१६ वाला फाईटर विमानले आफ्नो कला देखाउदै थिए । सैनिकहरु विभिन्न खाले आधुनिक हतियार र ट्यांकहरु प्रदर्शन गर्दै थिए । लहरै बसेका विभिन्न देशका राष्ट्रप्रमुखहरु हाम्रो देशको सैनिक अभ्यास बडो चाख मानेर हेर्दै थिए । पुस्पक बिमानहरुले टुडिखेल क्षेत्रमा पुस्प वर्षा गर्दै थिए । म भिडलाई चिर्दै अगाडि बढे । नेपाली भन्ने बित्तिकै बाहिरी देशका पर्यटक र श्रमिकहरुले निक्कै इज्जत गर्दा रहेछन् आज पहिलो पटक अनुभब गर्दै छु । आज महा शिबरात्री पर्व रहेछ ।यो दिन हाम्रो देशका सैनिकले आफ्नो हैसियत र क्षमता सारा बिश्वभर प्रदर्शन गर्ने पुरानो चलन हो ।
तर फरक यत्ती थियो कि आज हाम्रो देशको सैनिक क्षमता देखेर जापान , चाइना अनि अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरु झुक्न बाध्य छन् । संसारकै शक्तीशाली राष्ट्रको रुपमा नेपालको उदय भएको छ । म सैनिक अभ्यास हेर्न मञ्चकै नजिक गए । बडो हर्सोल्लासका साथ सैनिक अभ्यास चल्दै थियो । म रोमान्चित मुडमा थिए । सैनिकले राष्ट्रपतीलाई एक्काईस तोपको सलामी चढाउदै थियो । टुडीखेलमा एकै पटक भटटट तोपका आवाज गुञ्जिए । राष्ट्रपतिसलामी ग्रहण गर्न निक्कै ब्यस्त देखिन्थे । तोपको सलामी आवाज सँगै झल्यास्स ब्युझिए । मोबाईलमा छ बजेको आलार्म बजेको रहेछ भटटट गरेर । अस्ति नयाँ मोबाईल किनेपछी साथीले तोपको जस्तो आवाज आउने आलार्म टोन सेट गर्दिएको थियो । जहिले ढिला काममा जाने म आजपनि देशको र स्मार्ट सिटि काठमाण्डौको सपना देखेर ढिलै भएछु । हतारका साथ निलो लेबरको ड्रेस लगाउदै कुदेर टाटाको लेबर चढ्ने बसमा बसे । अनि बसले लेबर क्याम्प मुसफ्फा लाई छाडेर बनियास तर्फ मोडीयो । स्मार्ट सपनामा रमाउदै अरु चार महिना बिदेश बस्ने दिन गन्दै काममा लागियो ।–रातोपाटी
Previous Article११ कार्तिक २०७४, ढोरपाटन दैनिक
Next Article बिद्याश्रमलाइ एभरेट बैंकको सहयोग