बागलुङ, १० कार्तिक–राष्ट्रिय जनमोर्चाको संगठन र राष्ट्रिय नेताको रुपमा हेर्दा बागलुङ महत्वपूर्ण स्थान हो । धेरैले बागलुङलाई राजमोको राजधानीको रुपमा पनि लिने गर्छन् । राजमो अध्यक्ष चित्रबहादुर केसी प्रत्यक्ष निर्वाचन लड्दा अरुले जित्न नसकेको र उक्त दलको साख जोगाएको क्षेत्रमा यसपटकको निर्वाचनमा भने केसी उम्मेदवार छैनन् । संघिय निर्वाचनमा राजमोले उम्मेदवार पनि उठाएको छैन । गरिवी निवारण तथा सहकारी राज्य मन्त्री चम्पा खड्का बागलुङ १ को प्रत्यक्ष उम्मेदवार छिन् ।
कांग्रेसको एकल उम्मेदवार चम्पाविरुद्ध एमालेका सूर्य पाठक बाम गठबन्धनको उम्मेदवार छन् । देशभर एमाले र माओवादीको गठबन्धनलाई बागलुङमा राजमोले पनि सघाएको हो । यो क्षेत्रबाट निर्वाचन जित्न खड्कालाई ‘फलामे चिउरा’ हुने अडकलबाजी शुरु भएको छ । कांग्रेस भने सबै बामलाई हराउन सक्नेमा ढुक्क छ । जिल्लाकै एक्लो महिला उम्मेदवार भएकोले सबैको मत पाउने खड्काले दावी पनि गरिन् । केसी दोश्रो संविधानसभाबाटै निर्वाचनमा होमिन छाडेपछि कांग्रेस कार्यकर्तामा भने उत्साह थपिएको हो । ‘निर्वाचन जित्न सक्दैनौं भन्ने लागेरै सबै बाम एक भएका हुन्’ कांग्रेस सभापति दिपेन्द्र बहादुर थापाले भने, ‘संविधान लेखनको नेतृत्व गरेकोले कार्यान्वयनमा पनि कांग्रेसकै नेतृत्व स्थापित गराउँछौं ।’ थापा क्षेत्र नं. १ क मा उमेदवार छन् । उनका प्रतिष्पर्धि एमाले जिल्ला अध्यक्ष ईन्द्रलाल सापकोटा छन् । बागलुङको बिकास ढीला हुनुमा लामो समयसम्म बाम गठबन्धनकै नेतृत्व दोषी भएको कांग्रेसको आरोप छ ।
‘पछिल्लो ४ बर्षमा दक्षिण बागलुङका १४ वडामा मोटरबाटो पु¥याउन सकेका छौं’ दोश्रो संविधानसभाका सदस्य तथा कांग्रेस उम्मेदवार प्रकाश शर्मा पौडेलले बताए । ‘कालीगण्डकी कोरिडोर, बागलुङ कुम्मीसेरा हुँदै गुल्मीको शान्तिपुर जाने सडक निर्माणको खाका तयार भएकोले पुरा गर्ने बाचा जनतामा गरेको छु’ पौडेलले भने, ‘दिगो विकासमार्फत राष्ट्रको समृद्धि ल्याउने योजना हाम्रो छ ।’ उनले बाम गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाए । आम जनतालाई निर्भयपूर्वक मतदान गर्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण पनि गराए ।
बाम गठबन्धनले भने स्थानीय निर्वाचनमा आएको मतको आधारमा आफ्नो जित हुने दावी गरेको छ । ‘देशलाई समाजवाद उन्मुख बनाउनका लागि गठबन्धन गरेर धेरै बहुमत ल्याउने योजना हो’ एमाले जिल्ला इन्चार्ज मना केसीले भनिन्, ‘देश बिकासमा हातेमालो गर्न पनि हाम्रो नेतृत्व आवस्यक छ ।’ महिला उमेदवार छनौटमा गठबन्धन पछाडि परेपनि समानुपातिक बाट लैजान उदार बन्नुपर्ने उनले बताईन् । राष्ट्रिय जनमोर्चाले भने यो क्षेत्रमा संघिय उम्मेदवार बनाएको छैन । क्षेत्र नं. १ को ख प्रदेशबाट पूर्वजिल्ला अध्यक्ष कृष्ण थापालाई उम्मेदवार बनाएको छ । आफ्नो जनमतको पकड भएकोले निर्वाचन जित्ने पक्का भएको निर्वाचन परिचालन समितिका सदस्य राजेन्द्र ढुंगानाले बताए । ‘कम्युनिष्टहरुको उद्गम स्थान भएर पनि हार व्यहोर्नु परेकोले बाम एकतामार्फत जनताको मत जित्न खोजेका हौं’ ढुंगानाले भने, ‘बिकास निर्माणका लागि पनि संयुक्त पहल भैरहनेछ ।’ गत संविधानसभा निर्वाचनमा राजमो यो क्षेत्रमा दोश्रो शक्ति भएको थियो । बागलुङ क्षेत्र नंं. १ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बाम गठबन्धनले स्थानीय तह जितेको छ । जैमिनी नगरपालिकामा कांग्रेस र बरेङ गाउँपालिकामा राजमोले जितेका थिए । स्थानीय तहमा कांग्रेसले २३ हजार १ सय ३९ र बाम गठबन्धनले २८ हजार २ सय ९३ मत पाएका थिए ।
Previous Articleबलेवा एकताको सम्पत्ति २२ लाख
Next Article मनोनयन लगत्तै सरकार छाड्छौं – अध्यक्ष प्रचण्ड