लालप्रसाद शर्मा
पोखरा, १० कात्तिक – एमालेसँग उम्मेदवारी बाँडफाँटमा सहमति जुट्नासाथ आफ्ना नेताले सरकार छाड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । पोखरामा शुक्रबार पत्रकार सम्मेलनमा उनले भने, ‘वाम गठबन्धनबाट प्रधानमन्त्री आत्तिनुपर्ने थिएन तर हाम्रा मन्त्रीलाई बिनाविभागीय बनाइयो ।’ बिनाविभागीय भएर पनि सरकारमा बसिरहनुको अर्थ रहेको दाहालले दाबी गरे ।
‘४५ जिल्लाको उम्मेदवारी टुंगो लागेर मनोनयन हुँदाहुँदै सरकार छाड्छौं,’ उनले भने, ‘लामो समयपछि अबको सरकार बहुमतको हुनेछ ।’ जनताले मत दिएर जुनसुकै गठबन्धनले बहुमतले जिते पनि ५ वर्ष काम गरेर देखाउने चुनौती रहेको उनले बताए । ‘कांग्रेसको गठबन्धनले जितेर काम गर्न सके फेरि उसैलाई जनताले चुन्नेछन्, वाम गठबन्धनका लागि पनि यस्तै हो,’ दाहालले भने, ‘पटकपटक सरकार फेरिएर राजनीतिक अस्थिरता रहिरहे मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्दैन भनेरै वाम गठबन्धन बनाएका हौं ।’
एमालेसँगको गठबन्धनमा माओवादीले ऐतिहासिक निर्णय गरेको उनले दाबी गरे । ‘यो हिम्मत कसै न कसैले गर्नैपथ्र्यो,’ दाहालले संविधानसभाको पहिलो निर्वाचनको दृष्टान्त दिँदै भने, ‘गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको जित अप्ठेरोमा छ भन्ने जान्दाजान्दै पनि संविधानसभा निर्वाचन गराउन हिम्मत नगरेको भए शान्ति प्रक्रिया यो अवस्थासम्म आइपुग्थेन । वाम गठबन्धनको ऐतिहासिक निर्णय पनि त्यसभन्दा धेरै फरक छैन ।’ उम्मेदवारी टुंग्याउन गठबन्धन बैठकले करिब ९० प्रतिशत काम गरिसकेको र शनिबारसम्ममा पूरा भइसक्ने पनि उनले बताए ।
निर्वाचन बिथोलिए संसद् पुन:स्थापित हुन्छ भनी बिहीबार दिएको अभिव्यक्तिप्रति सञ्चारकर्मीको प्रश्नमा उनले त्यो फरक परिस्थितिमा बोलिएको भन्दै जवाफ दिन चाहेनन् । ‘त्यो फरक परिस्थितिमा बोलियो,’ उनले भने, ‘अब चुनाव हुने निश्चित भएपछि त्यसबारे भनिरहनु आवश्यक छैन ।’ यसअघि शनिबारै पोखरा २६ मा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो अधिवेशनको उद्घाटन गर्दै दाहालले वाम गठबन्धनले कांग्रेसलाई पनि फाइदा पुगेको बताए । ‘कांग्रेसलाई पार्टीभित्रको अराजकता हल गर्न मद्धत मिलेको छ । त्यसैले यसबाट आत्तिनुपर्दैन,’ उनले भने, ‘बरु माओवादी र मलाई धन्यवाद दिनुपर्छ ।’
वाम गठबन्धन कसैप्रति परिलक्षित नभएको दोहोर्याउँदै उनले बरु मुलुक राजनीतिक स्थिरतातर्फ जान खोजेको बताए । ‘धेरै पार्टी भएकै कारण देशमा झमेला थियो,’ उनले भने, ‘गठबन्धनका कारण धेरै पार्टी घटे, घटदै छन् । यसले राजनीतिक स्थिरतामा सहयोग पुग्नेछ ।’
लोकतन्त्र, राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको र निर्वाचनबारे कहींकतैबाट अन्योल वा भ्रम सिर्जना गर्न नहुनेमा दाहालले जोड दिए । ‘संघ र प्रदेश निर्वाचनपछि देश राजनीतिक स्थिरतामा अघि बढी आर्थिक समृद्धि हुनेछ,’ उनले भने, ‘आर्थिक समृद्धिबिनाको समाजवाद कोरा कल्पनामात्र हुन्छ ।’ सबै राजनीतिक दल समझदारीले अघि बढे १० वर्षभित्र देशको आर्थिक जीवनमा कायापलट र परिवर्तन ल्याउन सम्भव रहेको उनको भनाइ छ ।
नेपालका राजनीतिक शक्तिहरू संविधानभन्दा बाहिर जान नसक्ने र गए पनि नटिक्ने दाहालले प्रस्ट्याए । ‘कम्युनिजम, एकाधिकार, निरंकुशता आयो भन्ने भ्रम फैलाइँदैछ,’ उनले भने, ‘केही आउनेवाला छैन । लोकतन्त्रभन्दा बाहिर जान सक्दैनौं । यो वाम लोकतान्त्रिक गठबन्धन भएकाले कोही डराउनुपर्दैन ।’
कार्यक्रममा कानुनमन्त्री यज्ञबहादुर थापाले तोकिएकै मितिमा संघ र प्रदेशसभाको निर्वाचन हुने बताए । ‘अब निर्वाचनप्रति कुनै शंका गर्नु हुँदैन,’ उनले भने, ‘नयाँ मतपत्र छाप्नै परे पनि सरकार तयार छ । सुरक्षालगायत सबै वातावरण बनाउन तयार छ ।’ सरकार निर्वाचन सार्ने पक्षमा नरहेको उनले स्पष्ट पारे ।
मनोनयन लगत्तै सरकार छाड्छौं – अध्यक्ष प्रचण्ड
Previous Articleराजमोको केन्द्रमा कांग्रेस–एमाले टक्कर
Next Article बाम गठबन्धन जिताउँन दलित समुदायको अपिल