बागलुङ,९ कार्तिक–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेको निर्वाचनमा होमिएका बागलुङका तीन बामपन्थी दलहरुले संयुक्त रुपमा निर्वाचन प्रचार–प्रसार अभियानको शुरुवात गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ र सो अन्तरगतको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ अन्तरगतको चुनावी अभियानको नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा संयुक्त बामपन्थी निर्वाचन परिचालन उच्चस्तरीय जिल्ला समन्वय समितिका सदस्य मना केसीले उमेदवारहरुलाई सगुन खुवाएर अभियानको शुरुवात गरेकी थिइन् । सो अवसरमा बोल्दै एमाले नेतृ केसीले बामपन्थीहरुको चुनावी तालमेलपछि निर्वाचन जितेको घोषणा गर्न मात्रै बाँकी रहेको दावी गरिन् । उनले निर्वाचन जितेर देशको नेतृत्व गर्ने बामपन्थी दलका नेता कार्यकर्ताहरुलाई विजयी बन्ने उत्साहसंगै नेतृत्व सम्हाल्ने जिम्मेवारी समेत आउने भएकाले संयमित र जिम्मेवार भएर निर्वाचनमा सहभागी हुन आव्हान गरिन् ।
कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, प्रदेशसभा सदस्य श्रीप्रसाद शर्मा, केन्द्रीय उर्र्जा तथा जलस्रोत विभागका सदस्य युवा नेता हिरा केसी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष कुमारविक्रम क्षेत्री, राष्ट्रिय जनमोर्चा समर्थित युवक संघका केन्द्रीय अध्यक्ष तिलक थापा, स्थानीय कमिटिका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेन्द्र बोहरा लगायतले मुलुकको समृद्धिका लागि बामपन्थी गठबन्धनलाई सहयोग गर्न जनतासंग अपिल गरेका थिए । कार्यक्रममा बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. १ का साझा बाम उम्मेदवार डा.सूर्य पाठक र प्रदेशसभाका उमेदवार इन्द्रलाल सापकोटाले बामपन्थी शक्तिहरुको लक्ष्य प्राप्तीसंगै जनताको समृद्धीका लागि आफुहरुको योगदान रहने भन्दै सहयोग गर्न आव्हान गरेका थिए ।
कार्यक्रम बामपन्थी दलहरुका तर्फबाट बागलुङ क्षेत्र नं. १ मा गठित निर्वाचन परिचालन कमिटिका संयोजक रामजीप्रसाद शर्माको अध्यक्षता, एमाले जिल्ला सचिव लालबहादुर थापाको सञ्चालन र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष थानेश्वर सुवेदीको स्वागतमा सम्पन्न भएको थियो । बामपन्थी गठबन्धनका उमेदवार सहितको प्रचार टोलीले बुधवार नै बागलुङ नगरपालिका वडा नं. २ मा समेत चुनावी कार्यक्रम सम्पन्न गरेको छ । बागलुङका २ वटा संघ र ४ वटै प्रदेशमा निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी तालमेल गरेका बामपन्थीहरुले ३ वटै पार्टीबाट ३÷३ जना रहेको उच्च स्तरीय जिल्ला निर्वाचन परिचालन समिति, २ वटै संघमा एक एक वटा प्रतिनिधि सभा निर्वाचन परिचालन कमिटि र ४ वटै प्रदेशसभामा एक÷एक वटा निर्वाचन परिचालन कमिटि गठन गरेर निर्वाचनलाई तिब्रता दिएका छन् । पहिलो चरणमा कमिटिहरुको बैठक, निर्वाचन वडा तहसम्म निर्वाचन परिचालन कमिटि गठन र दोस्रो चरणमा प्रचार–प्रसार अभियान सञ्चालन गरिने बामपन्थी गठबन्धनले जनाएको छ ।