जिल्लाको अमलाचौर गाविसमा जन्मिएर उच्च माध्यामिक तहसम्म सरस्वती क्याम्पस काठमाण्डौ र बिश्वबिद्यालयको अध्ययन त्रिचन्द्र क्याम्पसहुँदै उच्च शिक्षाका लागि जापान पुगेर समाज शास्त्रमा बिद्याबारिधि गरेका प्राध्यापक डाक्टर सुर्य पाठक आगामी मंसीरमा हुन लागिरहेको संघिय संसदको लागी प्रत्यक्षतर्फ बागलुङका तीन बामपन्थी दलहरुको तर्फबाट उम्मेदबार बनेर मैदानमा उत्रिएका छन् । नेकपा एमालेको राजनीतिमा लामो समय बिताएका पाठकको साझा उम्मेदवारी र भावी योजनाका बारेमा ढोरपाटनकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
संघिय संसदमा यहाँको उम्मेदवारी केका लागि ?
सबैभन्दा पहिले त म सम्पुर्ण जिल्लाबासीलाई उत्साहित भएर चुनावमा भाग लिन आग्रह गर्दछु । सात दशक लामो राजनीतिक रस्साकस्सीपछि भएको ऐतिहासिक परिवर्तनले ल्याएको यो उत्सवमा हामीले सहभागिता जनाउन पाउनु खुशीको कुरा हो । देशमा भएको राजनीतिक परिर्वतनसँगै संबिधान बनेर जारी भएको छ । तर त्यसको कार्यान्वयनको लागि आवश्यक पर्ने ऐन तथा कानुनहरु बनिसकेका छैनन् । देश चलाउन आवश्यक पर्ने ऐन तथा कानुनहरुको निर्माण संघीय संसदले गर्छ । राष्ट्र गतिशिल बन्न नीति गतिलो बन्नुपर्छ । जनपक्षिय नीति निर्माणको लागि मेरो साझा उम्मेदवारी हो भनेर बुझ्नुस् ।
तपाईलाई जनताले भोट दिने आधार के छन् र किन दिने हजुरलाइ नै भोट ?
म भन्दा पनि मेरो पार्टि र बागलुङका बामपन्थी पार्टिहरु पहिलो कुरा हुन । राष्ट्रियताको रक्षा र दिगो शान्ति स्थापनाको लागि मेरो उम्मेदवारी महत्वपुर्ण रहेको ठानेको छु । बागलुङमा भएको बाम एकै ठामको उत्साहले केही शक्तिहरु तर्सिएको सुनेको छु । हामी जनताले अनुमोदन गरेको पार्टिको तर्फबाट उम्मेदवार बनेका छौं । पार्टिले निर्धारण गरेका नीति र राष्ट्रियताको रक्षा तथा युवाहरुको बिदेश पलायनलाई रोक्दै रोजगारी सिर्जनाको बाटोमा लाग्न पार्टिले गरेका प्रयासहरु मलाई र मेरो पार्टिलाई मतदान गर्ने आधार बन्न सक्छन् ।
संघीय संसदमा जिते बागलुङको लागि के गर्नुहुन्छ, जनताले कसरी विश्वास गर्ने ?
बागलुङलाई मैले राम्रोसँग चिनेको छु । यहाँका समस्या र संभावना दुबै मेरा चिरपरिचित मित्र जस्तै हुन् । मैले यसभन्दा पहिले पनि जनताको सेवामा लाग्दा घोषणा पत्र बनाएर यहाँका संभावना र समस्या सबैलाई समेटेर जनताको बीचमा लिएर गएको थिएँ । मुख्य रुपमा बागलुङमा सडक सञ्जाल अझैपनि समस्याको रुपमा रहेको छ । जबसम्म सडक सञ्जाल बन्न सक्दैन तबसम्म निर्यातमुखी उत्पादन हुन सक्दैन । निर्यातमुखी उत्पादनले नै रोजगारीको सिर्जना गर्छ । हाम्रा उत्पादनले बजार पाएका छैनन् । यसको कारण सडक हो । पहिले सडक बिस्तार र दोस्रोमा बजारको खोजी गर्न सकिन्छ । यसले गर्दा युवा जनशक्तिको पलायन रोक्न सकिन्छ भने प्रशस्त रोजगारी सिर्जना हुन्छ । यसका लागि सानातिना सडकका योजना ल्याउने थोरै–थोरै उत्पादनलाई अनुदान दिनेभन्दा पनि नीतिगत रुपमा योजना बनाएर काम गर्ने होभने उपलव्धिमुलक बन्न सक्छ । उदाहरणको लागि बागलुङको बिहुँको सुन्तलाले बजार पाएको छैन् , दमेकमा अदुवा कुहिएको छ । यि र यस्ता संभावनाको खोजी गरी व्यवस्थापन गर्ने निति बनाउनु नै जनताले मलाई बिश्वास गर्ने आधार हुन् ।
दोस्रो संबिधान सभामा पनि उम्मेदवार हुनुहुन्थ्यो, पराजित भएपछि के गर्नु भो ?
बागलुङमा यतिबेला दुई शक्तिहरु चुनावी प्रतिष्पर्धामा देखिएका छन् । एउटा परिवर्तनकारी शक्ति र अर्को यथास्थितीबादी शक्ति । हामीले लामो समयदेखी परिवर्तनकारी शक्तिको एकतामा जोड दिंदै आएका थियौं । अहिले केन्द्रदेखी जिल्ला सम्म परिवर्तनकारी शक्तिहरुको बीचमा तालमेल भएको छ । राजनीतिक सम्बन्ध चल्ने भनेको विश्वासले हो । हामी बीचमा बिश्वास छ र त्यहि अनुरुप चुनावी मैदानमा साझा उम्मेदवार दिएर आएका छौं । जिल्ला तहमा तिन बामपन्थी पार्टिको उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर अगाडि बढिरहेका छौं । बाम शक्तिहरुको एक मत हुन नसक्दा बिगतमा यथास्थितिबादी शक्तिहरुले फाइदा उठाएको सबैलाई जानकारी छ । त्यसकारण पनि यो पटक हामी एकै ठाउँ भएका हौं । संयन्त्रले चुनावी रणनीतिको लागि कार्ययोजना बनाईरहेको छ । काम अगाडि बढिसकेका छन् । यसमा शंका गर्नुपर्ने ठाउँ छैनन् । सबैको चित्त बुझाएर अगाडि जान हामी तयार छौं ।
किन जापानको सुख सयल छोडेर राजनीतिमा होमिनु भएको ?
मैले पढेको जापानमा हो । ब्यवसाय पनि जापानमा थियो तर म कुनै बिचार र सिद्धान्तबाट प्रभावित भएको थिएँ । जापानमा रहँुदा मैले र मेरो परिवारले सुख त पाउँला, धनी बनौला तर जबसम्म देश गरिव रहन्छ मेरो पहिचान भनेको गरिव देशको नागरिकको नै बन्छ । त्यसैले ब्यक्तिगत स्वार्थभन्दा टाढा गएर देशको समृद्धिको यात्रा तय गर्नको लागि म जापानबाट नेपाल फर्केर राजनीतिमा होमिएको हुँ ।
पार्टि पंत्तिले यहाँको भुमिका र उम्मेदवारीलाई कसरी मुल्याङ्कन गरेको छ ?
पार्टिले नै मलाई उम्मेदवार बनाएको हो । बर्तमान परिस्थितिमा नीति निर्माणको तहमा मेरो आवस्यकता महसुस गरेर पार्टिले मलाई प्रतिनिधि बनाएको छ । किन भने नीति निर्माणको तहमा अहिलेको आवस्यकता पुरा गर्ने बिषय नै मैले बिद्याबारिधि गरेको बिषय थियो । हामी ब्यक्तिगत स्वार्थभन्दा पनि पछिल्ला केही बर्षहरुमा पार्टि निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेका छौं । त्यसैले पार्टि पंक्तिबाट साथीहरुले मेरो उम्मेदवारीलाई सदासयताका साथ स्वागत गर्नु भएको छ यसमा म खुसी छु । २०७० सालको दोस्रो संबिधानसभा निmर्वाचनमा पनि म उम्मेदवार थिएँ । पराजित भएँ । तर म जनताको माझबाट पर गईन । म गाउँमा नै बसेर काम गर्दै आएको छु । भुकम्पका बेला घर भत्केका गरिबहरुका घरमा पुगेको छु । मर्दा पर्दा म आमजनताको आँगनमा छु । यहि कारणले पनि पार्टि पंक्तिले मलाई बिश्वास गरेको हो ।
अन्तमा यहाँको पोल्टामा नतिजा आयो भने यहाँले बागलुङबासीको लागी के काम गर्नु हुन्छ ?
मैले पहिलेनै भनि सकें बागलुङको संभावना र समस्याका बारेमा राम्रोसँग परिचीत छु । योजना बनाएर कृषि उपजहरुको बजारीकरणमा लाने काम गर्छु । यदि मैले संघको सांसद जितें भने ५ बर्ष काम गर्न पाए बागलुङ समृद्धिको खाका बनाउछु । जसले गर्दा भावी सन्ततिले पनि यहि योजनालाई आधार बनाएर काम गर्न सकुन् । मेरो बिषेश जोड जुजारु युवाहरु बिदेश पलायन भैरहेको रोक्नु हो । यसको लागि रोजगारीको सिर्जना गर्नु पहिलो काम हो । ५ बर्षमा हजारौं रोजगारीका अवसर सिर्जना गर्ने पार्टिको योजना अनुसारनै मैले त्यो कामलाई प्राथमिकतामा राखेको छु ।