बागलुङ,९ असोज –आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दल र उमेदवारका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालनाबारे स्मरण गराएको छ । बुधवार एक अन्तरक्रिया राखेर मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरिक्षकले आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह गरेका हुन् ।
साथै उलंघन भएमा कानूनी कारवाही गरिने प्रष्ट पारे । निर्वाचन कसुर संहितालाई उलंघन गरेमा गरिने कारवाही कडा बन्दै गएको पनि स्मरण गराईएको थियो । चुनावलाई स्वच्छ बनाउन र बहुदलीय पद्दतीलाई बचाउन आचार संहिताको पूर्ण पालना गर्ने धारणा र प्रतिवद्धता पनि दलका नेताहरुले राखेका थिए । अनावस्यक खर्च कम गर्नका लागि पनि आचारसंहिता पालना महत्वपूर्ण हुने मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको भनाई थियो ।
‘निर्वाचन खर्च कम गर्न र स्वच्छ प्रतिष्पर्धाका लागि संहिता पालना सहयोगी हुन्छ’ पण्डितले भने, ‘राष्ट्र र संविधानलाई बचाउनका लागि दलहरु इमान्दार बन्ने बिषयमा सहमति भएको हो ।’ चुनावमा विद्यालयको हाता प्रयोग नगर्ने, सार्वजनिक यातायातालई अवरोध नपार्ने, बालबालिकाको प्रयोग नगर्ने, एक अर्काबीच गाली गलौज नगर्ने, तोकिएका मापदण्डमा रहेर प्रचार सामाग्री बनाउने जस्ता बिषय सहितको संहिता निर्वाचन अधिकृत विद्याराज पौडेलले पढेर सुनाएका थिए । जिल्लामा कांग्रेस, बाम गठबन्धनमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा चुनावमा उमेदवार छन् । त्यस्तै नेकपा माले, संघिय समाजवादी फोरम, नयाूशक्ति र राप्रपा राष्ट्रवादी लगायतका दलका उमेदवार पनि मैदानमा छन् । ‘निर्वाचन कानून बिरुद्धको कसुरमा कडा कारवाहीका प्रावधान आएको बिषयमा पनि जानकारी गराएपछि दलहरुमा साझा प्रतिवद्धता आएको हो’ प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भने, ‘प्रमाण सहित आएका मुद्दामा उमेदवारी बदर हुने सम्मका बिषय जानकारी गरेपछि दलहरु संवेदनशिल हुने भएका छन् ।’ निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनले अनुगमन अधिकृतहरु पनि खटाएको पंडितले बताए । आचारसंहितामा चर्को स्वरमा माइक बजाउन नपाईने, तुल, व्यानर जस्ता प्रचार सामाग्रीको पनि तोकिएको भन्दा ठूलो साईज बनाउन नपाईने समेत उल्लेख छ । जिल्लाबाट प्रतिनिधिसभामा २ र प्रदेशसभामा निर्वाचित हुने ४ गरी ६ सदस्यको निर्वाचनका लागि २ निर्वाचन अधिकृत र ४ सहायक निर्वाचन अधिकृत खटाइएको छ । त्यस बाहेक १ सय ९९ मतदान अधिकृत सहित १ हजार ५ सय २९ कर्मचारी खटिने छन् । बागलुङ क्षेत्र नं. १ मा ९६ हजार ७ सय ५६ र क्षेत्र नं. २ मा ८० हजार ५ सय २६ गरी १ लाख ६७ हजार २ सय ८२ जनाले मतदान गर्नेछन् ।
मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पंडितको अध्यक्षता, सहायक निर्वाचन अधिकृत भेषराज पौडेलको संचालन र जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलको स्वागतमा सम्पन्न छलफलमा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले बोलेका थिए । कार्यक्रममा राजनीतिक दलका नेता तथा उमेदवारले राखेका जिज्ञासा र सुझावमा अधिकृत पण्डितले सम्बोधन गरेका थिए ।
Previous Articleमहिला संघको बैठक सम्पन्न
Next Article वामपन्थीको चुनाव प्रचार अभियान शुरु