बागलुङ,३१असोज–जिल्ला शिक्षा कार्यालयले चालु बर्ष २०७४÷७५ मा गर्ने कार्यक्रम र बजेटबारे सरोकारवालालाई अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । अधिकांस कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भएपछि कार्यालयले २२ करोड रुपैयाूको कार्यक्रम जिल्ला तहबाटै संचालन गर्ने बताइएको छ । अनौपचारिक शिक्षा कार्यक्रम, विद्यालय मर्मत तथा निर्माण तर्फ २ कोठे र ४ कोठे भवन अनुदान कार्यक्रम लगायतका काम जिल्ला शिक्षाले गर्ने भएको हो । कार्यक्रम प्रस्तुतीकरण गर्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले कुल २२ करोड ९९ लाख रुपैयाँको कार्यक्रम सार्वजनिक गरेका हुन् । जसमध्ये २ कोठे कक्षा निर्माणका लागि ८ लाख रुपैयाँको दरले १ सय २ कोठा बनाउने बताए । उक्त कामका लागि ८ करोड १६ लाख रुपैयाँ बजेट बिनियोजन भएको बताए । त्यस्तै ४ कोठे भवन १८ वटा बनाउनका लागि ३ करोड १४ लाख बिनियोजन भएको हो । त्यस्तै वास कार्यक्रम सहितका ३१ वटा विद्यालयमा शौचालय निर्माणका लागि १ करोड ८६ लाख, इमेल इन्टरनेटको सेवा सहित कम्प्युटर खरिद कार्यक्रम गर्न २७ वटा विद्यालयमा १ करोड ७५ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको पनि बताए । करोडौं कार्यक्रम रहेको शिक्षाले संचारमाध्यमहरुको सहकार्यका लागि भने ३० हजार रुपैयाँ मात्र छुट्याएको छ ।
विद्यालय तहमा विपद व्यवस्थापनका लागि आपतकालिन अनुदान दिने, पुस्तकालय व्यवस्थापन, किताव खरिद लगायतका कामका लागि पनि कार्यालयले रकम सहयोग गर्ने कार्यक्रम छ । जिल्लाका ३ सय ९१ बालविकास केन्द्रका सहयोगी कार्यकर्ताका लागि मासिक ६ हजार २ सय तलब १३ महिनाका लागि भने गाउँपालिका र नगरपालिकामा पठाइएको उनले जानकारी दिए । त्यस्तै शिक्षकहरुको तलब, प्रशासनिक खर्च लगायतको कामका लागि पनि बजेट स्थानीय तहमा गएको हो । गुणस्तरीय शिक्षा मार्फत विकास गर्नका लागि जिल्ला शिक्षा र स्थानीय तहको समान सहभागिता आवस्यक पर्ने जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । कार्यक्रममा राजनीतिक दलका नेता तथा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका लगायतका जनप्रतिनिधि र प्रअहरुले पनि वर्तमान शैक्षिक कार्यक्रम बारे आफ्नो धारणा राखेका थिए ।
Previous Articleपोषण सम्वन्धि चेतना अभियान जारी
Next Article प्रगति सहकारीको मुनाफा १० लाख