बागलुङ,३१ असोज–शिशु, बालबालिका र महिलाको मृत्युदर घटाउने राष्ट्रिय अभियानको नेतृत्व अवको स्थानीय तहले गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । जिल्ला समन्वय समिति, जिल्ला सुआहारा परियोजना लगायतका संस्थाको साझेदारीमा सम्पन्न जनप्रतिनिधिहरुका लागि एकीकृत पोषण सम्बन्धी अन्तरक्रियामा खाद्य सुरक्षा, खानेवानीको सुधार र आम नागरिकको स्वास्थ्यको सुरक्षामा स्थानीय सरकारले नेतृत्व लिनुपर्नेमा जोड दिइएको हो ।
राज्यका अधिकांस कामको जिम्मा स्थानीय तहमा सरेकोले पोषण सुरक्षा जस्ता काममा पनि नेतृत्व लिनुपर्ने सरोकारवालाको भनाई थियो । हाल नेपालमा सन् १९९६ को तुलनामा सन् २०१६ मा आईपुग्दा पोषण सम्बन्धी चेतना विकासका कारण पुड्को पन ५७ प्रतिशतबाट घटेर ३६ प्रतिशत, ख्याउने १५ प्रतिशतबाट घटेर १० प्रतिशत र कम तौलका बालबालिका ४२ प्रतिशतबाट घटेर २७ प्रतिशतमा आइपुगेको छ । बरिष्ठ जनस्वास्थ्य प्रमुख दीपकप्रसाद तिवारीका अनुसार सोही समयमा शिशु मृत्युदर प्रति एक हजार जिवित जन्ममा ५० बाट घटेर २१ मा आएको छ । त्यस्तै १ बर्ष भित्रको मृत्यु हुने दर ७८ बाट घटेर ३२ मा झरेको, ५ बर्ष भित्रको मृत्युदर १ सय १८ बाट घटेर ३९ मा आइपुगेको छ । नेपालमा पछिल्लो पटक खान नपाएर भन्दा खाने तरिका नजानेर कुपोषण बढेको, सुकेनास जस्तै फुकेनास पनि बढेको उनले बताए । स्थानीय तह र जनप्रतिनिधिले पनि देशमा आएको परिवर्तनको अवस्था बुझ्न सकेको खण्डमा हरेक बर्षको बजेट र कार्यक्रम मार्फत पोषणलाई सम्बोधन गर्न सकिने तिवारीले जानकारी गराए ।
उक्त अवसरमा जनप्रतिनिधिहरुले पोषण अभियानलाई अपनत्व लिएर सुनौला एक हजार दिन सम्म शिशु र आमाको स्वास्थ्यमा ध्यान दिने, आफ्नो तहमा पोषणको अवस्था सुधार गर्ने लगायतका प्रतिवद्धता पनि जनाएका छन् । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत भेषराज पौडेलको संचालन र उपप्रमुख बिष्णु भुषालको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लाका अधिकांस गाउँ र नगरपालिकाका प्रमुख तथा उपप्रमुख, कार्यकारी अधिकृतहरु, जिल्ला स्वास्थ्यका प्रतिनिधि, सुआहारा परियोजना, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेस मार्फत अभियान संचालन गरिरहेकाहरुले आफ्नो धारणा र कार्यक्रम बारे बोलेका थिए । उक्त अवसरमा एकीकृत पोषण सम्बन्धी प्रस्तुतीकरण पनि गरिएको थियो ।