नेपालका सञ्चार संस्थाहरुमा काम गर्ने अधिकांश सञ्चार कर्मिहरु विविध बिधाको नेपाली संगीत क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन् । बिषेश गरेर श्रव्य–दृष्य सञ्चारमाध्याममा काम गर्ने सञ्चारकर्मीहरुको यो क्षेत्रमा लगाब रहेको पाइन्छ । करिव दश बर्षअघिबाट सञ्चार क्षेत्रमा प्रवेश गरेका पर्वतको पकुवाका ध्रुव शर्मा पनि सञ्चार क्षेत्रबाट सांगीतिक क्षेत्रमा प्रबेश गर्ने एउटा पात्र हुन् । पठन–पाठनका हिसाबले प्राबिधिक लाइनको भेटेरीनरी तथा कृषि प्राबिधिक शिक्षा आर्जन गरेका शर्माले सोखको रुपमा सञ्चार क्षेत्र अंगाले र संचार क्षेत्रकै धरातलमा उभिएर उनले नेपाली लोक सांगीतिक क्षेत्रमा हात फैलाएका छन् ।
दश बर्ष पहिला ‘बिस हजारी ताल, जात भातको कारणले छुट्यो मायाँ जाल’ भन्दै शर्मिला गुरुङसँग आफ्नो आवाज भरेर सांगीतिक बजारमा आएका उनले हाल करिब आधा दर्जन सफल गीतहरु बजारमा ल्याएका छन् । समाजमा बिद्यमान जातिय बिभेदलाई संगीतमार्फत प्रस्तुत गरिएको ‘बिषहजारी ताल’ले राम्रो बजार पाए पछि उनी सांगीतिक क्षेत्रमा थप मेहेनतमा लागेको बताउँछन् । २०६४ सालमा रेडियो पर्वत फलेवासबाट सुरु भएको उनको सञ्चारको यात्रा रेडियो अर्पण चितवनमा पुगेर टुङ्गीएको भएपनि त्यही धरातलबाट सुरु भएको संगीतिक उडानको यात्रा भने कायम राखेका छन् । पेसाका हिसाबले कृषि तथा पशु प्राबिधिक शिक्षकको रुपमा लम्जुङमा कार्यरत उनले अहिले पनि गीत सिर्जना गर्ने,आफै गाउने र आफै मोडलिङ समेत गर्ने गरेका छन् ।
सामाजिक बिकृति र बिसंगतीका घटना र समसामयिक परिवेशलाई शव्द र संगीतमार्फत पस्किने गरेको उनले बताए । जातिय बिभेदको बिषयमा सिर्जना गरिएको गीतबाट सफलता पाएपछि हौसिएका उनले बैदेशिक रोजगारीमा हुने दुःख पीडालाई समेटेर पनि एउटा गित बनाएका छन् । ‘साउदी कतार वाइ वाई’ नाम दिइएको एल्वममा समाबेश गीतमा उनले बैदेशिक रोजगारीमा हुने दुःख र त्यो दुःख देशमा गर्दा पाइने प्रतिफलको बिषयमा शव्द लेखीएको उनले बताए । माया प्रेमका कथामा निकै भावुक बनेर शव्द लेख्ने बानी परेका उनले बजारमा ल्याएको गिती एलवम ‘लुक–लुक जाडो बनायो’ गस्तले कुनैबेला बजारमा निकै राम्रो प्रभाव राख्यो ।
उता माया लाएर फेरी यता मलाई झुक्कायौ कसरीलुक–लुक जाडो बनायो छैन सलाई त नक्कली छौ भन्ने मलाई थाहा थियोआखिरमा घुमाई–घुमाई छोड्यौं मलाई त ।
नेपाली सांगीतिक बजारमा खस्कँदो ब्यापारका बाबजुद यस गीतले युट्युव च्यानलमार्फत रामै व्यापार गरेको थियो । ५ लाख भन्दा धेरैले हेरेको यस भिडियोबाट निकै राम्रो सफलता पाएको उनले बताए । यो गीतमा शव्द र संगीत उनैले भरेका छन्भने स्वरमा उनलाई कुलेन्द्र बिक र देवी घर्तीले साथ दिएका छन् । निकै उत्तेजित भिडियो निर्माण भएको यस गीतमा शर्मा आफैले मोडलिङ गरेका छन् । तत्कालै माया प्रेमका कथा समेटेर नयाँ एल्बमको तयारीमा रहेका शर्माले आफुले कुनैपनि गीतबाट घाटा ब्यहोर्न नपरेको बताए । नेपाली लोकगीत र संगीतको क्षेत्रमा स्थापित व्यवसायिक कलाकारहरु समेत बाँच्नका लागि मुश्किल रहेको अवस्थामा पनि आफ्ना गीतहरुले गरेको व्यापारले आफुलाई हौसला दिइराखेको उनले बताए । ‘सांगीतिक क्षेत्र निकै कठिन छ तर फुर्सदको समय यस क्षेत्रमा लगाउन सके रामै हुन्छ’ शर्माले भने ‘सुरुवाती चरण कठिन भएपनि सिर्जनाको लतले सफल बनाउँदो रहेछ । –तारानाथ आचार्य–बागलुङ