काठमाडौं,३१ असोज–जारी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारभित्र पर्ने सम्भावना दुई खेलअघि नै समाप्त भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोली डिभिजन टूमा घटुवा भएको छ । सन् २००८ यता डिभिजन फाइव, फोेर, थ्री र टू हुँदै सन् २०१४ को जनवरीमा नामिवियामा भएको डिभिजन टू प्रतियोगितामार्फत नेपाली क्रिकेटले डिभिजन वानको ऐतिहासिक यात्रा तय गरेको थियो । सोही हैसियदमा दुई वर्षे प्रतियोगिता विश्व क्रिकेट लिगमा सहभागी भएको नेपाल छैटौं चरणको दोस्रो खेलमा हङकङसँग अंक बाँडेपछि डिभिजन घटुवा हुन पुग्यो । प्रतियोगितामा नेपालले १२ खेलमा मात्र ९ अंक जोड्यो ।
अन्तिम चरणका दुई खेल खेल्न बाँकी रहँदा चौथो स्थानमा रहेको हङकङको १४, स्कटल्याण्डको १५, पपुवा न्यूगिनीको १६ र नेदरल्याण्ड्सको १८ अंक छ । हङकङसँगको दोस्रो खेल खेल्नै नपाइ रद्ध हुनुले नेपाललाई डिभिजन टूमा पुर्रुयायो । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफ्नो टोलीले प्रतियोगितामा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकार गरे । ‘प्रतियोगिताभर हामीले शत प्रतिशत प्रदर्शन गरेका हौं, बलिङतर्फ आलोचना गर्ने ठाउँ छैन, कप्तान पारसले भने’, ‘हामीले ब्याटिङमा राम्रो खेल प्रदर्शन भएन, बिशेषगरी टप अर्डरका अनुभवी ब्याट्सम्यान अपेक्षाकृत चल्न सकेनन् ।’ नेपालले प्रतियोगिताको ६ चरणका १२ खेलमा ९ अंक जोड्यो ।
नेपालले ४ खेलमा जित र एक खेलमा अंक बाँडेको थियो । कप्तान खड्काले यस नतिजाले आफू सन्तुष्ट नरहेको बताए । उनले आफ्नो नेतृत्वको टोलीले व्यहोरेको असफलताको जिम्मा आफूले लिने समेत बताए । प्रतियोगितामा आफ्नो टोलीको प्रदर्शन कमजोर बन्नुको कारण टोलीको फिनिसिङमा चुकेको टिप्पणी कप्तान पारसले गरे । ‘हामीले समग्रमा राम्रो क्रिकेट खेलेका हौं, तर दुर्भाग्यबस सफलता हाल लागेन ।’, पारसले भने, ‘स्कटल्याण्डसँग तीन रनको हार, पपुवा न्युगिनीसँग दुवै खेलमा अन्तिम अन्तिम ओभरमा हार्नु, हङकङसँगकै पनि पहिलो खेल हामीले आफ्नै कमजोरीले हार्रुयौं, पानीले खेल रद्ध भयो ।’ टिममा खेलाडी छनोटबारे समर्थकहरुबाट भएका आलोचनाको खेलाडी छनोट समितिमा समेत रहेका कप्तान पारसले बचाउ गरेका छन् ।
उनले अहिलेको टिम नै नेपालको सबैभन्दा सन्तुलित टिम भएको दावी गर्दै भने, ‘टिममा रहेका हरेक खेलाडीको आ–आफ्नै विशेषता छ, उनीहरु जुनसुकै बेला खेललाई आफू अनुकुल ल्याउने क्षमता राख्छन् ।’ ‘फेरि राष्ट्रिय प्रतियोगितामा राम्रो खेल्दैमा टिममा ल्याउनैपर्छ भन्ने पनि त छैन । टिमले हारेपछि अनेक आलोचना हुन्छन् ।’ पारसले थपे । नेपाल डिभिजन टूमा घटुवा भए पनि विश्वप छनोटको सम्भावना सकिइनसकेकोतर्फ संकेत गर्दै कप्तान पारसले सन् २०१८ को फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए । ‘हामी यसअघि पनि नामिवियामै भएको प्रतियोगिताबाट डिभिजन वानमा पुगेका थियौं, अब नेपाली क्रिकेटलाई जोगाइराख्नुछ भने फेरि त्यस्तै प्रदर्शन गर्ने बेला आएको छ ।’ पारसले थपे, ‘हामीलाई जसरी पनि विश्वकप छनोटमा पुग्नुछ । डिभिजन टू बाट पनि खस्कियौं भने त माथी आउन कति गाह्रो हुन्छ त्यो हामीलाई मात्र थाहा छ ।’