तारानाथ आचार्य/बागलुङ, ३० असोज
स्टमेट अनुसारका पुर्वाधार निर्माण गर्न बजेटको अभाव हुँदा योजनामार्फत खरिद गरिएका प्लास्टिक पाईपलाई रुखमा टाँगेर उपभोक्ताले पानीको प्रयोग गरहेको इन्जिनियर गौंडेलले सुनाए
सरकारले क्रमागत योजनाहरुलाई पर्याप्त बजेट उपलव्ध गराउन नसक्दा जिल्लाका केही खानेपानी योजनाहरु बर्षाैदेखी अलपत्र अवस्थामा छन् । क्रमागत रुपमा सम्पन्न गर्ने गरी अठार बर्ष पहिले सुरु भएका योजनाहरु पर्याप्त बजेटको अभावमा लामो समय अलपत्र परेका हुन् । जिल्लाको रायडाँडामा सञ्चालित रायडाँडा खानेपानी योजना तथा बुर्तिवाङमा सञ्चालित बुर्तिवाङ खानेपानी योजना पर्याप्त बजेटको अभावमा अलपत्र परेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
२०५५ सालमा काम सुरु भएका दुवै आयोजनाको लागि बर्षेनि बजेटको बिनियोजन भएको भएपनि कामले गति लिन नसकेको हो । निकै सानो मात्रामा बिनियोजन हुने बजेटका कारण आयोजना सम्पन्न हुन नसकेको डिभिजन कार्यालयका सूचना अधिकारी जनकराज गौंडेलले बताए । हरेक आर्थिक बर्षमा अर्थ मन्त्रालयमार्फत बजेटको बिनियोजन हुने तर सानो परिमाणमा आउने बजेटले थोरै मात्र काम हुने गरेको उनको भनाई छ । करिब तीन करोडको लागत योजना बनाएर २०५५ सालमा सुरुवात गरिएको रायडाँडा खानेपानी योजनाको हालसम्म मुहान मर्मत, ट्याङ्की निर्माण तथा धारा निर्माणको केही काम सकिएको भएपनि योजना सम्पन्न भएको छैन् । योजनाको ७९ दशमलव ४३ प्रतिशत मात्रै काम सकिएको छ । स–साना ३४ वटा स्किम बनाएर सम्पन्न गर्ने गरी थालिएको योजनाबाट ४ हजार सात सय २२ उपभोक्ता लाभान्वित हुने कार्यालयले जनाएको छ । स्किमहरुमध्ये महत्वपुर्ण स्थानका स्किमलाई प्राथमिकतामा राखेर सम्पन्न गरिएको भएपनि अन्य स्किमका काम अधुरै रहेका छन् ।
एउटै सालमा सुरुवात गरिएको बुर्तिवाङ खानेपानी योजना भने आधा काम पनि भएका छैनन् । ११ करोड ६३ लाख ९२ हजार रुपैयाँको प्रारम्भिक योजना बनाएर सुरु गरिएको योजनाको ४४ दशमलव ०२ प्रतिशत मात्रै काम सकिएको कार्यालयले जनाएको छ । करिव १२ हजार ७ सयभन्दा धेरै उपभोक्ता लाभान्वित हुने गरी सुरु गरिएको योजनाको केही कामहरु मात्रै भएको गौंडेलले बताए । करोडौंको लागतमा सम्पन्न हुने गरी थालिएका योजनाहरुको लागी बार्षिक नगन्य रुपमा मात्रै बजेट आउने गरेको छ । ‘कुनै–कुनै सालमा त एक दुई लाख रुपैयाँ मात्रै बजेट आएको छ’ इन्जिनियर समेत रहेका गौडेलले भने ‘राज्यले समयमा प्राप्त बजेटको व्यवस्था नगर्दा योजनाहरु लामो समय रहेका हुन् ।’ उपभोक्ता समितीमार्फत सञ्चालन हुने दुबै योजनाहरुको लागी यसबर्ष पनि बजेटको ब्यवस्था गरिएको छ । बुर्तिवाङ खानेपानी योजनाको लागि यसबर्ष ४९ लाख रुपैयाँ बजेट बिनियोजन भएको छभने रायडाँडा खानेपानी योजनाको लागि २१ लाख रुपैयाँ बजेटको विनियोजन भएको कार्यालयले जनाएको छ ।
देशमा सशस्त्र द्धन्द्व हुनुभन्दा अगाडीबाट सुरु भएका जिल्लाका दुबै योजनाको लागि बार्षिक रुपमा सम्बोधन मात्रै भएर आउने बजेटले निरन्तरता मात्रै पाएको तर समयमा काम सम्पन्न गर्न नसकिएको गौडेलको भनाई छ । ‘सशस्त्र द्धन्द्वका बेला २० देखी २५ हजारसम्म मात्रै बजेटमा योजनाले चित्त बुझाएको देखिन्छ’ उनले भने ‘समयमा योजना सम्पन्न नहुँदा उपभोक्ता मर्कामा परेका छन् ।’ कतिपय ठाउँमा स्टमेट अनुसारका पुर्वाधार निर्माण गर्न बजेटको अभाव हुँदा योजनामार्फत खरिद गरिएका प्लास्टिक पाईपहरुलाई रुखहरुमा टाँगेर उपभोक्ताले पानीको प्रयोग गरिरहेको गौंडेलले सुनाए । जिल्लामा साना तथा ठुला गरी १ सयभन्दा बढि योजनाको काम भईरहेको भएपनि करिव दुई दशकको यात्रा तय गर्ने भने यिनै दुई योजना मात्र भएको कार्यालयको अभिलेख छ । क्रमागत योजना भएकाले बर्षेनी बजेट बिनियोजन हुँदा खारेजी पनि नहुने र समयमा सम्पन्न नहुँदा समस्या भएको हो । सानो रकमका स–साना काम भइरहेपनि योजनाले गति लिने गरी काम गर्न नसकिएको गौंडेलको गुनासो छ ।