बागलुङ,३० असोज–जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका युवाको समुहले टोल तथा गोरेटो बाटो सरसफाई गरेका छन् । टोललाई सुन्दर तथा सरसफाईयुक्त टोल निर्माण गर्न भन्दै युवाहरुले टोलको सरसफाई गरेका हुन् । माइको थान युवा क्लबको प्रथम बार्षिकोत्सव तथा नजिकिँदो तिहार पर्वलाई मध्यनजर गर्दै युवाहरुले सरसफाई कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष चक्र थापाले बताए ।
क्लबका ३० जना युवाको सक्रियता तथा वडाध्यक्षको उपस्थितिमा टोल सरसफाई गरिएको थियो । दलित बस्ती रहेको साविक सर्कुवा गाविस वडा नं ८ सिस्नेरका हरेक घर–घरमा पुगेर फोहोरजन्य बस्तु तथा प्लाष्टिकको संकलन तथा सफाई गरिएको अध्यक्ष थापाले बताए ।
‘क्लबको सक्रियतामा भएको सरसफाई नगरकै नमुना सरसफाई हो’ थापाले भने ‘टोललाई सफा राख्न यहाँका युवाले गरेको प्रयास उदाहरणीय छ ।’ हातमा झाडु र कुचो लिएर निस्कीएका युवाहरुले गाउँनै बढारेर सुन्दर बनाएको थापाले बताए । युवाले टोलमा रहेका मठमन्दिर, पानीका धारा, सार्वजनिक भवन तथा चौतारीहरु समेत सरसफाई गरेका छन् । क्लबले आफ्नो प्रथम बार्षिकोत्सवको अवसर पारेर आउँदो कार्तिक १० गतेदेखी विविध खेलकुद कार्यक्रम समेत आयोजना गरेको जनाएको छ ।