बागलुङ,२७ असोज –खेलकुदको माध्यामबट पर्यटनको गन्तव्य विकास गर्ने उद्देश्यले शनिबारदेखी जिल्लाको अमलाचौरमा पहिलो अमलाचौर महोत्सव सुरु हुँदैछ । पर्यटनका हिसाबले पर्याप्त संभावना बोकेको बलेवालाई खेलकुदको माध्यामबाट प्रचारप्रसार गरी पर्यटन गन्तव्य बनाउन महोत्सवको आयोजना गरिएको हो । अमलाचौर युवा जागरण समिती बानपा–१२ ले आयोजना गरेको महोत्सवको शनिवार बानपा–१२ अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठकले उद्घाटन गर्ने समितीका अध्यक्ष झलक आचार्यले बताए ।
महोत्सवमा खुल्ला वडास्तरीय भलिवल, रस्साकस्सी लगायका खेलकुदका कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्यले बताए । पर्यटन प्रबर्धनको लागि अमलाचौरमा आयोजना भएको यो पहिलो महोत्सव हो । युवाहरुलाई मानसिक, शारीरिक र सामाजिक रुपमा विकास गर्दै बलेवाको विकासमा जिम्मेबार भएर लाग्ने प्रेरणा प्रदान गर्न बिबिध खेलकुदको आयोजना गरिएको आयोजकले जनाएको छ ।
अन्य महोत्सवहरुमा जस्तो स्टल राखेर व्यापारका लागी नभई स्थान पहिचान र युवा जागरणको लागि महोत्सव महत्वपुर्ण हुने अध्यक्ष आचार्यले दाबी गरे । महोत्सवको लागि सम्पुर्ण तयारी पुरा भएको जागरण समितीले जनाएको छ । पाँच दिनसम्म अमलाचौरको पृथ्वी उच्च माध्यामिक बिद्यालयको प्राङ्गडमा सञ्चालन हुने मेलाको मुल समारोह भने अन्तिम दिन कात्तिक १ गते गरिने भएको छ ।
बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलको प्रमुख आथित्यतामा आयोजना हुने मुल समारोहमा राष्ट्रिय स्तरका कलाकारहरु समेत बोलाइएको अध्यक्ष आचार्यले जानकारी दिए । कार्तिक १ गते हुने मुल समापन समारोहमा कालाकारहरु जीवन शर्मा, पशुपति शर्मा, कृष्ण अखेली, प्रिति आले लगायतले आफ्नो प्रस्तुति राख्ने जनाइएको छ । मुल समारोहका दिन स्थानिय संस्कृति झल्कने बिभिन्न खालका झाँकीहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।