बागलुङ,२७असोज–जिल्लाको गल्कोटमा जारी प्रथम गल्कोट सांस्कृतिक महोत्सव हजारौँले अवलोकन गरेका छन् । असोज १८ देखि सञ्चालन भएको सांस्कृतिक महोत्सवको नौँ दिनसम्म झण्डै १८ हजारले महोत्सवको अवलोकन गरेको प्रथम गल्कोट सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हर्क पाण्डेले जानकारी दिए । महोत्सवमा राखिएको रेष्टुरेण्ट, झुला पिङ, फलफूल, ६८ स्टलका फेन्सी, मोबाइललगायत गरी महोत्सवको नौँ दिनसम्म झण्डै एक करोड कारोबार भएको महोत्सव व्यवस्थापन समतिका अध्यक्ष पाण्डेले बताए ।
समग्र गल्कोट क्षेत्रको पर्यटन तथा कला संस्कृति प्रचारप्रसार प्रवद्र्धनका लागि प्रथम गल्कोट महोत्सव केन्द्रित रहेको समेत महोत्सव व्यवस्थापन समितिका अध्यक्ष पाण्डेले बताए । सांस्कृतिक महोत्सवमा प्रथम गल्कोट डान्स आइडल, खुल्ला लोकदोहोरी प्रतियोगिता, महिला रत्यौली गीत तथा नृत्य, खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, हास्य व्यंग्ङ्य र बाल मनोरञ्जन, गल्कोटका सांस्कृतिक झाँकी, सस्तो बजारलगायत महोत्सवका मुख्य आकर्षण रहेको हिमालयन म्यूजिकल इमेन्ट म्यानेजमेन्ट प्रा.लि.का सचिव मोहन केसीले जानकारी दिए । विशेषगरी महोत्सव पर्यटन क्षेत्रको प्रवद्र्धन र प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ गरिएको प्रा.लि.का सचिव केसीले बताए । महोत्सवमा केही कार्यक्रम समयभित्र सक्न प्राविधिक समस्या भएको हुँदा महोत्सवलाई दुई दिन लम्बाएर असोज ३० गतेसम्म सञ्चालन हुने प्रा.लि.का सचिव मोहन केसीले बताए ।