बागलुङ,२६ असोज –धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लि. बागलुङले विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्ने गरी ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । आगामी ३ वर्ष भित्रमा ५० लाख रुपैयाँ पु¥याउने लक्ष्यका साथ असोज २१ गते सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभाले उक्त कोष सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले अगाडि बढाएको स्वास्थ्य विमा अभियान जस्तै विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग पु¥याउन सहकारीले अक्षयकोषको अवधारणा अगाडि बढाएको संस्थाले जनाएको छ ।
सञ्चालक समितिले कोष सञ्चालनका लागि कार्यविधि तयार गरेको छ । सञ्चालक समितिले प्रस्तुत गरेको आगामी कार्ययोजनालाई तेस्रो वार्षिक साधारणसभाले पारित गरेकोले यो अभियान तत्काल सञ्चालनमा आउने संस्थाका नवनिर्वाचित अध्यक्ष डिलबहादुर कार्कीले बताए । अक्षयकोषमार्फत विपन्न वर्गका जनताको स्वास्थ्य सेवामा सहयोग गर्नका लागि सहकार्यको माध्यम उपयोग गरिने उनको भनाई छ । कोषमा संस्थाका शेयर सदस्यहरु, सरकारी तथा गैर सरकारी संघ संस्था, कार्यालय, सहकारी संघ संस्थाहरु सहित स्वेदश तथा विदेशमा रहेर सामाजिक कार्यमा अग्रसर व्यक्तित्वहरु, उद्योगी व्यवसायी लगायत सहकारी संघ संस्था र सहकारीकर्मीहरु समन्वय गरिने अध्यक्ष कार्कीले बताए । कोषमा जम्मा भएको रकमको ब्याजबाट विपन्न वर्गका जनतालाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा समेत सहयोग गर्ने लक्ष्यका साथ अक्षयकोष स्थापना गरिएको र उक्त कोष परिचालनका लागि संस्थाले कार्यविधि समेत तयार गरेको सचिव रामबहादुर जिसीले बताए । अक्षयकोषमा रकम संकलनका लागि हाल संस्थामा रहेका २ सय जना शेयर सदस्यहरु परिचालित हुने उनले बताए ।
संस्थाले नाफा कमाएको निश्चित प्रतिशत अक्षयकोषमा राख्ने तथा अन्य सहयोग माग गरी रकम संकलन गरिने र उक्त कोषको ब्याजबाट रकमको अभावमा उपचार पाउन नसकेका नागरिकलाई सहयोग गरिने जिसीले बताए । धौलागिरिमा जन्मिएर देश विदेशका विभिन्न स्थानमा बसोबास गर्नेहरुसंग समन्वय गरेर अक्षयकोषलाई अगाडि बढाउने योजनाका साथ संस्थाले अक्षयकोषको अवधारणा ल्याएको छ । संस्थाले ३ करोडको लागतमा बागलुङमा निलगिरि सहकारी अस्पताल र करिब १ करोडको लागतमा बेनीमा म्याग्दी सञ्जिवनी अस्पताल सञ्चालन गरेको छ । साधारणसभाले घरघरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ
। नियमित स्वास्थ्य परिक्षण नगर्ने र स्वास्थ्य अवस्था कमजोर भएपछि मात्रै उपचारमा लाग्ने गरेका कारण धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकाले नियमित स्वास्थ्य परिक्षणका लागि सचेतना प्रदान गर्ने गरी घरघरमा गएर स्वास्थ्य परिक्षण अभियान थालिने संस्थाले जनाएको छ । पहिलो चरणमा शेयर सदस्य र उनीहरुका परिवारका सदस्यहरुको अनिवार्य स्वास्थ्य परिक्षण गराउने र यो अभियानलाई क्रमश विस्तार गरिने साधारणसभामा जानकारी गराइएको थियो । साधारणसभाले आगामी असार सम्ममा ३ सय ५० जना शेयर सदस्य र ५ करोड शेयर रकम पु¥याइने लक्ष्य लिएको छ । अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापन, बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सदरमुकाम, मुख्य बजार क्षेत्र र गाविसहरुमा समेत स्थानीय तह, सरकारी कार्यालय, सहकारी तथा गैर सरकारी, सामाजिक संघ संस्थाहरुसंग समन्वय गरी स्वास्थ्य शिविर, जनचेतनामुलक कार्यक्रम गर्ने नीति साधारणसभाले पारित गरेको छ ।