बागलुङ,२६ असोज –दरबन्दी अनुसारका कर्मचारी उपलव्ध नभएपछि नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र बागलुङका काम प्रभावित भएका छन् । बितरण केन्द्रमा रहेको दरबन्दीमा आधाभन्दा कम कर्मचारी मात्रै उपलव्ध छन् । प्राबिधिक र प्रशासन शाखामा गरी ७८ जनाको दरबन्दी रहेको बितरण केन्द्रमा अहिले ३० जना कर्मचारीले मात्रै काम गर्दै आएको केन्द्रले जनाएको छ ।
कर्मचारीको अभावमा प्राधिकरणका प्राविधिक तथा प्रशासनिक काममा समस्या हुने गरेको बितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेले बताए । केन्द्रमा लामो समयदेखी दरबन्दी अनुसारका कर्मचारी छैनन् । नेपाल बिद्युत प्राधिकरणले दरबन्दी अनुसारका कर्मचारी नखटाउँदा प्राबिधिक कामहरु प्रभावित भएको केन्द्रले जनाएको छ । कर्मचारीको अभावका कारण जिल्लाभर रहेको ३३ केभीए प्रसारण लाइन तथा ११ केभीए बितरण लाइनमा रहेका रुखहरु सफा गर्नेदेखी सामान्य फ्युज जाँदा समेत समयमा काम गर्न नसकिएको बितरण केन्द्रका प्रशासन प्रमुख मनोज बालाले बताए ।
हाल बितरण केन्द्रमा प्रबिधिकतर्फ सुपरभाइजर २ जना, फोरमेन ४ जना इलेक्ट्रिसियन ५ जना, ड्राईभर २ जना, हेल्पर १५ र जुनियर हेल्पर ४ जनाको दरबन्दी खाली रहेको छ । त्यस्तै प्रशासनतर्फ सहायक प्रशासन अधिकृत १ जना, लेखापाल १ जना, स्टोरकिपर १ जना, कार्यालय सहायक १ जना, सहायक लेखापाल २ जना, सिडिभी ४ जना र कार्यालय सहयोगी ५ जनाको दरबन्दी खाली रहेको बालाले बताए । ‘कर्मचारीहरुको अभावका कारण सामान्य फ्युज जाँदा समेत काममा खटाउने मान्छे छैन’ बालाले ढोरपाटनसँग भने ‘केही ठाउँमा त काम अनुसारको ज्याला दिने गरी स्थानियलाई काममा खटाउने गरेका छौं ।’ बितरण केन्द्रले कार्यालयमा हुने प्रशासनिक कामदेखी उपभोक्ताको घरदैलो सम्मका सबै प्राबिधिक काममा समस्या हुने गरेको जनाएको छ । ‘धेरै ठाउँमा हामीले उपलव्ध कर्मचारीलाई ओभरटाइम दिएर काम गर्ने गरेका छौं’ बाला भन्छन्– ‘प्राधिकरणको क्षेत्रीय कार्यलयले समयमा कामको रिपोर्ट माग्छ तर काम गर्ने जनशक्तिको अभाव छ ।’ केन्द्रले केही सव–स्टेशनहरुमा काम गर्नका लागि करारमा कर्मचारी लिएर काम गर्दै आएको छभने केही सव–स्टेशनहरुमा ज्यालादारीमा समेत काम हुँदै आएको छ ।
दरबन्दीमा कर्मचारी नखटाउने र स्थानिय रुपमा नियुक्त गर्न समेत प्राधिकरण अख्तियारी चाहिने भएकाले कार्यसम्पादन ढिलो हुने गरेको केन्द्रले जनाएको छ । हाल जिल्लामा साविकको निर्वाचन क्षेत्र नं १ र २ का सबै ठाउँमा केन्द्रिय प्रसारण लाइन पुगेको छभने क्षेत्र नं ३ मा समेत बिस्तारको काम भइरहेको केन्द्रले जनाएको छ । हाल केन्द्रिय प्रसारण लाइन बिस्तार भएका जिल्लाका बिभिन्न क्षेत्रहरुमा ११ केभीए प्रसारण लाइनका रुखहरु सफा गर्न नसक्दा जोखिम बढेको भन्दै जनगुनासो समेत आएको छ । प्रसारण लाइनको आसपासका रुखहरु लाइनसँग जोडिएकाले जमिनमा बिद्युत प्रवाह हुन सक्ने भएकाले तत्कालै कर्मचारी खटाएर लाइन सफा गरिने केन्द्रका प्रमुख पाण्डेले बताए । कर्मचारीको अभावका कारण हुन नसकेका कामहरुको लागि उपलव्ध कर्मचारीलाई ओभरटाईम सुबिधा दिएर भएपनि काम अगाडी बढाइने केन्द्रले जनाएको छ ।