बागलुङ,२६ असोज –नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यापछि धौलागिरी क्षेत्रका व्यवसायीले आन्दोलन थालेका छन् । विज्ञप्तीमार्फत हत्याको बिरोध गरेका उनीहरुले बुधबारदेखि काम रोकेका हुन् । आफ्नो कार्यालयमा आँफै ताला लगाएर उनीहरुले बिरोध शुरु गरेको निर्माण व्यवसायी संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले बताए । आन्दोलनका कारण निर्माणाधिन सयौं आयोजनाहरु प्रभावित हुने भएका छन् । सरकारी आयोजना देखि व्यक्तिका पूर्वाधार निर्माण पनि ठप्प हुने देखिएको छ । बागलुङ जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायत दर्जन बढी सरकारी कार्यालयका भवन पनि निर्माााधिन छन् । ती काममा पनि यो आन्दोलनले अवरोध पुग्ने भएको छ ।
त्यस्तै आन्दोलनले बागलुङको मध्यपहाडी लोकमार्गको अधिकांस खण्डमा असर पर्ने देखिएको हो । आन्दोलन लामो समय सम्म रहेमा दैनिक मजदुरी गरेर खाने कामदार बढी मारमा पर्ने देखिन्छ । सुरक्षा बिषयमा भएकोले अधिकांस कामदारले पनि यो आन्दोलनलाई समर्थन गरेर काम रोक्न सहयोग गरेको राजभण्डारीले बताए । ‘मजदुरले पनि हत्यारा पत्ता लगाउन माग गरेका हुन् । अधिकांसले ठेकेदारकै सुरक्षा नभए कामदारको पनि सुरक्षा नहुने बताएको उनले दावी गरे । तिहार अघि सम्म मजदुरले पनि आन्दोलनलाई साथ दिन तयार भएको उनले बताए । जिल्लामा १ सय ११ जना सूचिकृत ठेकेदार छन् । यो आन्दोलनले निर्माण व्यवसायी बाहेक यो आन्दोलनलाई ढुंगा, गिटी, बालुवा ढुवानी गर्ने व्यवसायी र चालकले पनि साथ दिएका छन्
। फितलो सुरक्षाका कारण राजधानी जस्तो ठाउँमा दिन दहाडै व्यवसायीको हत्या हुन पुगेको व्यवसायीको ठहर पनि छ । देश निर्वाचनमा गएको बेला भएको यस्तो घटनाले राजनीतिक दल, सरकार र देशकै समग्र सुरक्षा स्थितिको खिल्ली उडाएको व्यवसायीले टिप्पणी गरेका छन् । हत्या गरिएका गौचन मुस्ताङमा जन्मेका थिए । जिल्लामा सयौं योजनाहरु ठेक्कामा गएर निर्माणाधिन छन् ।