म्याग्दी,२४ असोज–नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि चुनाव मूल परिचालन कमिटी गठन गरेको छ । सदरमुकाम बेनीस्थित पार्टी कार्यालयमा दुई दिनसम्म चलेको जिल्ला कमिटीको २१औं पूर्ण बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरु सिफारिस गर्नुका साथै निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावका लागि पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा ५०१ सदस्यीय निर्वाचन परिचालन मूल कमिटी गठन गरेको एमाले म्याग्दीले जनाएको छ । कमिटीमा पार्टीको जिल्ला कमिटी, प्रदेश क्षेत्रीय समन्वय, नगर तथा गाउँपालिका सङ्गठन, जनवर्गीय सङ्गठन, पार्टी वडा सङ्गठन कमिटी, पेशागत संघ सङ्गठन, जिल्ला सल्लाहकार परिषद र पार्टीका विभिन्न विभागका सदस्यहरु लगायत रहेका छन् । यसैगरी निर्वाचन परिचालन मूल कमिटीको मातहतमा रहने गरी विभिन्न १५ ओटा उपसमितिहरु गठन गरिएको छ । उपसमितितर्फ सचिवालय संयोजकमा सुरत केसी, आर्थिकमा प्रमोद श्रेष्ठ, सांस्कृतिकमा दिपक बिखर्ची, प्रचारमा डिपी शर्मा, स्वयंसेवकमा कृष्णकुमार विश्वकर्मा, अनुगमनमा देवेन्द्र केसी रहेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । त्यस्तै सम्पर्क तथा समन्वयमा बालकृष्ण सुवेदी, जनसम्पर्कमा चन्द्रकुमार केसी, प्रतिबद्धतापत्र एवं मस्यौदा निर्माणमा किरण सापकोटा, व्यवस्थापन उपसमितिमा राजकुमार थापा र प्रशिक्षण आचारसंहिता तथा मतदान प्रतिनिधि व्यवस्थापनमा रामप्रसाद सुवेदी रहेका छन् । एमालेले एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा निर्वाचन विशेष कार्यक्रम सञ्चालन गरेको बताएको छ । आसन्न निर्वाचनमा दुवै क्षेत्रमा जित हासिल गर्ने दावी समेत नेकपा एमाले म्याग्दीले गरेको छ । प्रदेश र संघको चुनाव नजिकिदै गर्दा म्याग्दी चुनावमय भएको छ ।
Previous Articleस्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण
Next Article वित्तिय संस्थाको विस्तार