पर्वत,२४ असोज –रोजगारीका लागि रुसमा रहेका नेपालीहरुको सहयोगमा जिल्लाको एक विकट गाउँमा एम्बुलेन्स संचालनमा आएको छ । गैरआवासिय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका वडा नम्बर ३ मा रहेको रानिपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा संचालनमा आएको हो । एनआरएन रुसमा आवद्ध नेपालीहरुले एम्बुलेन्स खरिदका लागि रु २० लाख रुपैया संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै विरामीहरुले बाटोमै ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीहरुले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् । आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एन.आर.एनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विकास लम्साल र एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतमले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले ग्रामिण विपन्न क्षेत्रका जनताको स्वास्थ्य सुधार गर्न एम्बुलेन्सले सहयोग पु¥याउने बताउँदै मानविय सेवाका क्षेत्रमा आगामी दिनमा पनि एन.आर.एन.ले थप सहयोग जारी राख्ने बताए । गाउँमा एम्बुलेन्स सेवा शुरु भएसँगै स्वास्थ्य क्षेत्रमा सहज हुने बताउदै उनले विकासमा स्थानीयनै सक्रिय हुनुपर्नेमा जोड दिए । एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमानै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताए । एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, तथा पाल्पा जानुपर्ने बाध्यता रहेको छ । सो अवसरमा सांसद विकास लम्सालले बाँच्नु पाउनुपर्ने मानिसको पहिलो अधिकार रहेको र जनताको त्यही अधिकारको संरक्षण गर्ने क्रममा स्वास्थ्यलाई बढी प्राथमिकता दिएको बताए । आफुले पर्वतको विकासको लागी धेरै काम गरेको बताउदै सांसद लम्सालले आफू सबै गाउँबस्तीमा पुगेर जनताको बास्तविक समस्या बुझेको र त्यहीअनुसार कामलाई प्राथमिकतामा राखेर सम्पादन गरेको बताए ।