बागलुङ,२३ असोज–जेल सजाय हुन सक्ने घटनामा कानूनी कारवाहीबाट जोगाईदिने भन्दै लगेको पैसामा आँफू ठगिएको एक महिलाले गुनासो गरेकी छिन् । बडिगाढ गाउाँलिका ५ ग्वालीचौरकी मिना भट्टराईले श्रीमान नारायण जेलमा परेको तर पर्न नदिने भन्दै लगेको पैसा फिर्ता नपाएको गुनासो गरेकी हुन् । शिक्षक संघका अध्यक्ष सागर खरेलको रोहवरमा निसीका हर्कमान बुढाले लगेको उक्त रकम फिर्ता नभएको उनले गुनासो गरिन् ।
उनका श्रीमान निसीकै एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा कारागारमा छन् । उनको मुद्दा प्रहरीमा छंदैमा पैसा तिराएर मुद्दा फिर्ता गराउने शर्तमा लगेको पैसा उनले नपाएकी हुन् । श्रीमानलाई पनि सामान्य झगडामा जवरजस्ती करणीको आरोप लागेको उनको गुनासो छ । श्रीमानलाई मुद्दा लागेपछि पैसा दिएर हुने भए फिर्ता गराउने भन्दै ऋण खोजेर उक्त रकम खरेल मार्फत बुढालाई बुझाएकी थिइन् ।
उक्त रकम बुझेको तमसुक पनि छ । तर तोकिएको समयमा काम नभएको र पैसा पनि फिर्ता नभएपछि उनले संचारकर्मीको गुहार मागेको बताइन् । पटक पटक धाउँदा पैसा नपाएपछि ऋण तिर्न नसकेको उनले गुनासो गरिन् । समस्यामा परेपछि बडिगाढ गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा सम्म पुग्दा उनीबाट लगेको पैसा दुइ साता अघि फिर्ता पाउने आश्वासन पाएकी थिइन् ।
गत असोज ७ गते सबै पैसाको साबाँ, व्याज फिर्ता पाउने शर्तमा कागजात गरेका बुढा अझै सम्पर्कमा नआएकोले रकम उठाउनका लागि पत्रकारको शरणमा आएको उनले गुनासो गरिन् । पैसा खाएको भनिएका निसीका बुढा भने आँफूले उक्त पैसा पिडित महिलालाई बुझाएको दावी गर्छन् । ‘उनले नाटक गरेकी हुन्, पैसा हामीले बुझाईदिएका हौं’ बुढाले भने, ‘हामीले सहयोग गर्दा उल्टै आरोपित भएका छौं ।’ अदालतले जेल चलान गरिसकेकालाई बचाउन नसकिने र पिडितले क्षतिपूर्ति स्वरुप उक्त रकम लगेको उनले दावी गरेका छन् ।