म्याग्दी,२३ असोज–नेपाल सरकार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले भर्खर मात्र संसदबाट पारित भएको सहकारी ऐनले सहकारी क्षेत्रमा देखिएका विसंगति तथा समस्यालाई निराकरण गर्नेमा विश्वस्त रहन सबैलाई आग्रह गरेकी छिन् । दिदीबहीनी बचत तथा ऋण सहकारी संस्था लि. बेनी म्याग्दीको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले भनिन्– ‘संशोधित ऐनले सहकारीमार्फत देशको आर्थिक समृद्धि संगसंगै देशमै रोजगारी सिर्जना, उद्यमहरुको स्थापना र महिलाहरुको सशक्तिकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेल लगायतले बोलेका थिए । यसैगरी, कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की विखर्ची, मोना आईसीसीका अध्यक्ष योगेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ठ विद्यार्थी, उत्कृष्ठ उद्यमी, उत्कृष्ठ कर्मचारी लगाएतका विभिन्न १६ वटा विधामा शेयर सदस्य तथा सदस्यका छोरा÷छोरीहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा दिदीबहीनी साकोसले सुरुवात गरेको मुष्ठिदान कार्यक्रम अन्तर्गत विदेशमा श्रीमान गुमाएकी सिता बानियाँ र म्याग्दीस्थित एच.आई.भी. सक्रंमीतका लागि होमबहादुर पुनलाई खाद्यन्न हस्तान्तरण गरिएको थियो ।