शम्भु खनाल
’डाक्टरकोमा जान डर लाग्ने भो । कहिले नक्कली डाक्टर । कहिले कहाँ अस्पातलममा मान्छे मरेछन् । अहिले आन्दोलन रे मेरो पित्तथैलिको अपरेसन गर्ने भन्थे । अब डर लाग्यो । ‘‘.पैसा मात्र लिन्छन् । ‘।’ उमेरले सालाखाला ३० देखिने चाडपर्वका मौसमी वस्त्रले सुसाज्जित महिला आफ्नो साथीलाई सुनाउँदै थिइन् । केही असन्तुष्टि, केही रिस र केही भय उनको बोलीमा मिसिएको थियो । र, केही सत्य, केहि भ्रम र केही अज्ञानता थिया े। उनको बिचारमा र मनविज्ञानमा । बेलाबेलामा कुरामा पूर्ण्बिराम लगाइदिने कोही भए हुने जस्तो लागेको थियो मलाई । भर्खरैको चिकित्सकहरुको आन्दोलनको सरगर्मी र त्यसको चित्त नबुझ्दो अवतरण पश्चात् मनमा उमंग पलाउला भन्ने उद्देश्यले दशैं मनाउन नारायणगढ जाँदै गर्दा सार्वजनिक बसको यात्रामा सुनेँ यी कुराहरु । ती कुराहरुलाई गम्भीरतापूर्वक बिचार गर्न वाध्य भएँ । धेरै कुराले च्वास्स पार्यो मलाई ।
यसो बिचार गर्दा यतिका वर्षमा बिरामीको उपचार गर्न र सल्लाह दिन बाहेक केही ज्ञान सिकिएको छैन । उपचार गर्दै गर्दा हरेक दिन आफ्नो चिकित्सा ज्ञान केही माझिएको अनुभूती हुन्छ । तर, जनमानसको मनोबिज्ञान र सोचको एउटा प्रतिनिधि उदाहरण प्रत्यक्ष अनुभव गर्दा नरमाइलो लाग्यो । त्यसैले शब्दमै उतारेर भए पनि प्रतिक्रिया दिने प्रयास गरेँ । किताबमा लेखिएको जस्तो बिरामी सधैं कहाँ हुन्छ र ! बिरामी कुनै बस्तु हैन । न त रोग त्यसको ’फिचर ।’ बिरामी त एउटा ब्यक्ति हो ।
जसका लक्षणहरुको संग्रह अध्ययन गरी सबैभन्दा मिल्दो रोगको उपयुक्त उपचार गरिन्छ । चिकित्सा शास्त्र गणितीय फर्मुलामा चल्दैन । धेरै जसो रोगको सही तरिकाले खोज्दा सही निदान हुन्छ भने केही रोग मायाबी निस्कन्छन् । ति मायाबी रोगले चिकित्सकक्लाई पनि रनभुल्ल पार्छन् । बिरामीसँग रोग मात्रै नभएर उसको चेतना, मनोबिज्ञान, बिचार सबै साथमा हुन्छ । चेतना भएकै हुनाले बिरामी बस्तु कदापि मान्न मिल्दैन । मानिस बिचारले बनेको हुन्छ । उसको बिचार र मनोबिज्ञानले डाक्टरलाई दानब देख्दछ भने विश्वाशको कमीले तालमेल मिल्दैन । दुई बिचको बिस्वासको तार कमजोर हुनु असफल उपचारको पहिलो नमिठो सुरुवात हा े। बिडम्बना भन्नुपर्छ । त्यो बिस्वासको तार अहिले चुडिएको छ । हाल दुबै पक्षमा मनभित्रको भयको आयतन फराकिलो हुँदै गएको देखिन्छ । डाक्टरलाई बिरामी उपचार गरेर बिनाकारण कुटाइ खाइञ्छ कि भन्ने भय भने बिरामीलाई यो कतै नक्कली डाक्टर हो कि अथवा कतै उल्टोसुल्टो उपचार हुने हो कि भन्ने भए । एक अर्कासँग भयको बातावरणमा त दुबैजना उम्कने र जोगिने परिपाटी सिर्जना हुन्छ नै ।
उपचार गर्ने डाक्टर अरुको ज्यान बचाउने ध्यान भन्दा आफ्नै टाउको जोगाउने ध्याउन्नमा हुनु अस्वाभाविक नहोला । त्यसैले मेरो अनुरोध, ’हामीलाई डाक्टर नै रहने गरी विश्वाश गर्नुहोस् । हामीलाई वकिल नबनाउनुहोस् ।’ मानवीय त्रुटी सबैबाट हुन्छ । डाक्टर पनि एउटा चिकित्सासम्बन्धी केही ज्ञान लिएको मानव हो । तर त्रुटि न्युन भन्दा पनि न्युन हुन डाक्टर अत्यन्तै सम्बेदनशिल हुन आवश्यक हुन्छ । किनकि डाक्टर एउटा रोगीको जीवन र उसँग जोडिएका जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । गल्ति गर्नेलाई उन्मुक्ती दिनुहुँदैन । चाहे त्यो डाक्टर होस् वा बिरामीको मृत्युपश्चात हुल्दंगा गर्ने लाशका ठेकेदारहरु। एउटा कुराको अपरेसन गर्नुपर्नेमा अर्को अपेरासन गर्नेलाई कानुनले कस्नुपर्छ नै । तर सबै भबितब्यका घटनालाई अनुसन्धान बिना भीडको अवेसले लापरबाहीको संज्ञा दिएर लाशमाथि ब्यापार गर्ने हो भने बारम्बार घटिरहने कुटपिट र हातपातका घटनाले असुरक्षित महसुस गरेर डाक्टरले बिरामीको रोगलाई सुरक्षाको तराजुमा तौलिन थाल्छ । बिरामीको सामाजिक आर्थिक मनोबैज्ञानिक सबै पाटोहरु ओझेलमा पर्दै जानेछन् ।
दया र करुणाले भन्दा रोगको प्रक्रिती हेरेर बिरामी हेर्ने र पन्छाउने बानी बिकास हुन्छ नै । त्यसैले मेरो अनुरोध ’हामीलाई सुरक्षित महसुस हुन दिनुहोस्। अनि मात्रै हामी तपाईंको रोगलाई र बिचारलाई महसुस गर्न सक्छौँ ।’ फलानो रोगको बिरामी भर्ना भए यति दिन भर्नाको यतिउती पैसा भनेर बिरामीलाई मौद्रिकिकरण नगरिएको पनि हैन । त्यस्तो गरी नाफाघाटाको तराजुमा तौलेर इमान्दार ब्यापारिक सेवाको भावनालाई कुल्चिँदै बिरामीलाई केबल पैसाको रुपमा हेर्ने पनि छन् यहाँ। सेवा र सुबिधा अनुसार शुल्क हुनु बेठीक हैन । तर शुल्क र सेवामा फरक भएर निजी ब्यापारिक दृष्टिकोणका अस्पतालबाट धेरै बिरामी नठागिएका पनि हैनन् । तर पूर्वाधार, स्थान, जनशक्ति र नियत केहि पनि अध्ययन नगरी कुना कुनामा पोलिक्लिनिक, अस्पताल आदि खोल्न अनुमति दिने बढी दोषी हुन् कि आफ्नो ज्ञानलाई सदुपयोग गर्न खटिएको तलबी डाक्टर ? जसलाई केहि तलब दिएर नियुक्ति गरिएको हुन्छ । बास्तबिक संचालकसँग त बिरामीको भेट नै हुँदैन । कमसेकम इमर्जेन्सीमा भेटिने पहिलो डाक्टर भन्दा माथि धेरैले भेटेका हुँदैनन् । खर्च भएको सबै पैसा डाक्टरले लग्यो भन्ने सोच पनि गलत हो । डाक्टरले प्राप्त गर्ने केहि मात्रै हो। त्यसैले मेरो अनुरोध– आवेशमा डाक्टरमाथि हातपात नगर्नूहोस् । ऊ त अग्रभागमा खटाइएको एक सिपाही मात्र हो । सबल उपकरण, पर्याप्त जनशक्ति खडा नगरिकन जबर्जस्ती सेवा दिनुपर्ने अवस्थामा डाक्टरको मात्र दोष देख्नु कत्तिको न्यायोचित होला? बिरामीको पीडाको सबैलाई चिन्ता हुन्छ । तर सेवामा खटिएको डाक्टरले कस्तो अवस्थामा काम गरेको छ भन्ने कसैलाई चिन्ता हुँदैन। अचानाको पीर खुकुरीले कसरी जानोस् र ! बिरामीको चाप अनुसार जनशक्तिको ब्यबस्था गर्न नसक्ने सरकारले डाक्टरलाई मात्र कानुनमा कस्न खोजेको देख्दा सरकारको गृहकार्य नपुगेको प्रस्ट हुन्छ । सेवा बिस्तारसँगै पर्याप्त जनशक्ति नखटिँदा उपचारमा दुर्घटनाको सम्भावना बढ्छ नै । अब के त्यसको दोष पनि डाक्टरलाई नै दिने ? डाक्टरले आराम गर्ने मौका पाए कि पाएनन् । पारिश्रमिक उपयुक्त छ कि छैन । उपकरण कमसल र कमजोर भएर अप्ठेरो त छैन।
यी कुराहरु नितान्त डाक्टरका मात्र चासोको बिषय सोचिन्छ। कसैको ध्यान पुग्दैन। सबैलाई डाक्टर भनेको सुविधाले भरिपूर्ण भएको पैसा कमाउन मात्रै बसेको जस्तो लाग्दो रहेछ। फुर्सदमा सबैले नेपालका डाक्टरको सुबिधाको अध्ययन गरे आफ्नो सोच र वास्तविकता उजागर होला । कार्यस्थलमा डाक्टरलाई बिरामी हेर्न राम्रो बिपी सेट पनि चाहिन्न! तापक्रम नाप्न त हातैले छामेर भैहाल्यो ! ओटी लाइट नभए टुकीले नि अपरेसन चलिहाल्छ ! अपरेसन पछि पोस्टअप वार्ड किन चाहियो र ! त्यसलाई रेखदेख गर्न नर्सिङ स्टाफ राख्न परेन! यो सुन्दा बढी भने जस्तो लागे पनि दुर्गमको अस्पतालमा यस्ता अनेक समस्याहरु दिनहुँ झेल्नुपर्छ । अवस्था यस्तै नै हो । कसैले भन्ला कि ’डाक्टरले आफुलाई काम गर्ने बातावरण असजिलो र जोखिमपूर्ण भए किन आवाज उठाउनुहुन्न ?मेरो कुरा बिश्वास गर्नुहोस, हामी काम गर्ने कारिन्दा हौँ । हामीसँग सोधिदैन । र, हामीले भनेको पनि सुनुवाई हुँदैन ।’ मिडियाले जनमानसको बिचारलाई आकार दिने काम गर्दछ । संचारको प्रगति भए लगत्तै समाचार प्रेषण हुने असंख्य इन्टरनेटका साइट र पत्रपत्रिकामा अधिकांश अध्ययन र अनुसन्धान बिना चिकित्सा सम्बन्धी घटनाहरु प्रकाशित गरेको पाइन्छ । सामचारले अबचेतन मष्तिक त असर गर्छ नै । मेडिकल बिज्ञान सम्बन्धि ज्ञान नभएका व्यक्तिहरुमा भ्रम सजिलै फैलाउने काम पनि गरेको छ । जसले गर्दा डाक्टर र बिरामी बीचको सम्बन्धको दूरी बढ्दै गएको छ । त्यसैले सबै समाचार सत्य होलान् भनेर बिस्वास गर्नुपूर्व बुझ्ने प्रयत्न गरौँ ।
नकारात्म्क सोच्न सजिलो हुन्छ। नकारात्मक सोचले आफ्नै बिचार प्रदूषित नगरौँ । केही समय अगाडि नक्कली डाक्टर भनेर प्रपञ्च रचेर समातिएका डाक्टर पछि निर्दोश साबित हुनु नै एउटा यस राज्यमा भएको गैरजिम्मेवारीको नमुना हो। भ्रमपूर्ण समाचार छाप्दा दीर्घकालीन असर पर्ने हेक्का राखौँ । त्यसैले मेरो अनुरोध, हाम्रो चिकित्सा क्षेत्र मिडिया संक्रमित छ । जिम्मेवार सञ्चारमाध्याम र आम नागरिकले सोचेर बुझेर प्रतिक्रिया दिने गर्नुपर्छ । डाक्टरले बिरामीसँग सुधार्नुपर्ने मुख्य पाटो भनेको सम्बाद हो । बिरामीसँग कुरा नगर्दा बिरामीका आफन्ती अन्योलमा हुन्छन् । उनीहरुको मनमा संकाले ठाउँ लिन्छ। बोल्दा पैसा पर्ला जस्तो गर्ने डाक्टर पनि छन् । बिरामीलाई यथेस्ट समय दिएर कुरा गर्ने डाक्टर पनि छन् । बिरामीले आफ्नो उपचारको बारेमा जान्न पाउने हक छ। डाक्टरले उपचारको बिबिध पक्ष बिरामीलाई भन्नुपर्छ । सबै चिकित्सकहरुमा मेरो अनुरोध– केही समय खर्च गरौ बिरामीको शंका उपशका निबारण गर्नलाई । बिरामीसँग मेरो अनुरोध– तपाईं सोध्नुहोस्। शंका हटाउनुहोस् । हामि आफ्नो ज्ञानले सकेसम्म बुझाउने प्रयास गर्छौ । हामीलाई बिश्वास गर्नुहोस् । हामीलाई सुरक्षित महशुस हुन दिनुहोस् ।