एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच बनेको गठबन्धनले यी पार्टीका धेरै नेताको जिम्मेवारी पनि परिवर्तन गर्दैछ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यी तीन पार्टीबीच एकताका लागि गठन भएको संयोजन समितिमा एमालेको तर्फबाट सदस्य छन्, जुन अबका केही महिना वा वर्ष नै यो गठबन्धनको सर्वोच्च निकाय हुनेछ। धेरैलाई आश्चर्यमा पार्दै गरिएको यो एकता र तालमेल, त्यससँग जोडिएको राष्ट्रिय राजनीति र भूराजनीति तथा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत रहेर शुक्रबार बिहान माधव नेपालसँग गरेको वार्ताः
एमाले–माओवादीबीच रातारात कसरी एकता प्रक्रिय अगाडि बढ्यो ?
एकतामा लाग्नु भएका साथीहरुसँग मैले अन्तरंग कुराकानी गरेको त छैन। तर मेरो विचारमा कांग्रेससँगको एकता माओवादी केन्द्रका लागि घाटा भएको थियो। भरतपुर महानगरपालिकामा कांग्रेससँग एकता त गर्यो। तर जितका लागि फलामको च्यूरा चपाउनु पर्यो। कांग्रेस भनेको कांग्रेस हो, उसलाई हँसिया हथौडामा भोट दिन गार्है हुन्छ। त्यसैले पनि होला, माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्ने निर्णय गर्यो।
एमालेबाट पनि एकताका लागि लगातार प्रयास भइरहेको थियो। प्रचण्डजीले मसँग पटक पटक भन्नुहुन्थ्यो, ‘पहिलेको प्रयासलाई पुनर्जीवन दिऊँ है माधवजी, त्यो बेला आइसक्यो।’ त्यो के भन्नु भएको हो भने, २०६३ मा मिलन तुलाधरको बानेश्वरस्थित घरमा भएको कुराकानीमा मैले नै माओवादीसँग एकताको प्रस्ताव राखेको थिएँ। त्यो बेला म नै एमालेको महासचिव थिएँ। मैले भनेको थिएँ, ‘हामी किन यत्तिकै कुराकानीमात्र गरेर बस्ने? बरु दुईवटै पार्टी मिलौं न।’
कुराकानीमा मोहन बैद्य पनि हुनुहुन्थ्यो, बाबुरामजीपनि। माओवादीले एक्काइसौं शताब्दीको जनवाद भनेको थियो, हामीले बहुदलीय जनवाद। दुईथरि जनवादबीच खासै फरक थिएन। यसै आधारमा मैले त्यो बेला प्रस्ताव गरेको थिएँ। दुई पार्टीबीच के केमा समानता छ, केकेमा असहमति छ, त्यो खोजेर एकता प्रक्रिया अघि बढाउने मेरो प्रस्ताव थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि साँच्चिकै एकता चाहनु भएको थियो त ?
उहाँले नचाहेको भए कसरी एकता हुन सक्थ्यो र? बामदेव गौतम त पहिलेदेखि नै एकताको पक्षमा हुनुहुन्थ्यो। म पनि छँदै थिएँ। त्यसपछि भित्रभित्रै एकताका लागि कुराकानी हुन थालेको थियो।
पार्टी नेतृत्व तपाईंलाई दिनुभन्दा प्रचण्डलाई दिनु ठीक भनेर ओली माओवादी केन्द्रसँग एकताको पक्षमा पुग्नुभयो भन्ने कतिपयको आशंका छ। तपाईंलाई कस्तो लाग्छ?
मलाई त्यस्तो लाग्दैन। कमरेड ओलीले आफ्नै पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनको पक्षमा सोचेर एकताको निर्णय लिनु भएको होला। अहिलेको एकताले एमालेलाई, माओवादी केन्द्रलाई र देशभक्त शक्तिहरुलाई मद्दत पुग्छ भन्ने ठान्नु भएको होला। एकता प्रयास सुरु भएपछि ओलीले मसँग सल्लाह गर्नु भएको थियो। मैले उहाँलाई अघि बढिहाल्न, ढिलाई नगर्न सुझाव दिएँ। वातावरण बनेका बेला ढिला गर्नु हुँदैन भनेको थिएँ। तर अरुलाई पनि साथमा लिनपनि सुझाव दिएको थिएँ।
तीन पार्टीबीच ५–५ जना त पूर्व प्रधानमन्त्री छन्। त्यति नै संख्यामा उपप्रधानमन्त्री भएका नेता छन्। एकता भएपछि ती नेताको व्यवस्थापन कसरी हुन्छ ?
व्यवस्थापन गर्न त सक्नु गर्यो नि। अगुवा नेता, भूमिका खेल्न सक्ने नेताहरुलाई आवस्यकता अनुसारको भूमिका दिन सक्नुपर्छ। नेताहरुको व्यवस्थापन गर्न नसक्ने हो भने त ठूलो पार्टी नै बनाउनु भएन। एउटा नेताको एउटा पार्टी बनाउनु पर्यो त्यसो भए। लोकतान्त्रिक अभ्यासको मान्यता के हो भने, जसले धेरै कार्यकर्ताको विश्वास जित्न सक्छ, उही नै नेता बन्छ। यदि हामी यो मान्यतामा विश्वास गर्छौ भने नेता धेरै भए भनेर हामी किन आत्तिने? विचार, संगठन कुशलता, जनमत परिचालनको आधारमा, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश दिनसक्ने आधारमा, गतिशीलताको आधारमा एउटा व्यक्ति प्रमुख नेता हुन्छ। त्यसबाहेक पार्टीमा अनेक खुवी भएका नेता हुन्छन् । सबैका आआफ्ना खालका विशेषता हुन्छन्। ती सबै विशेषतालाई समेटेर पार्टी बन्छ। पार्टी भनेको ‘टिमवर्क’ हो, ‘वन म्यान सो’ होइन। टिमका सबै मान्छे सक्षम भएनन् भने टोली नेता कसरी सफल हुन सक्छ? त्यसैले, एकता पछि नयाँ पार्टीमा जेजस्ता प्रभावशाली नेताहरु उपस्थित हुन्छन्, मेरो विचारमा नयाँ पार्टीका लागि त्यो समस्या होइन, झन् बरु शक्ति हुनेछ।
बरियता अनुसार एमाले अध्यक्ष ओली पहिलो नेता, त्यसपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुनेछन् ?
त्यो त स्वभाविक हो। एमाले ठूलो पार्टी भएकाले अध्यक्ष ओली प्रमुख नेता हुनुहुने भयो। माओवादी दोस्रो ठूलो पार्टी भएकाले त्यसपछि प्रचण्ड हुनुहुने भयो। अहिले हामीले उहाँहरुलाई प्रमुख नेता भनेर तय पनि गरेका छौं। उहाँहरु बाहेक अर्को आठ जनाको संयोजन समिति पनि छँदैछ।
यसो गर्दा बरियतामा पछि परियो जस्तो लाग्दैन ?
हाम्रो व्यक्तित्व नै यस्तो भइसकेको छ कि, हाम्रो भूमिकालाई कसैले न्यून गर्न सक्दैन। पार्छु भनेरपनि पार्न सक्दैन। हाम्रो लामो राजनीतिक इतिहास, खुवी–क्षमता, हामीले कमाएको प्रतिष्ठा र सक्रियता र योगदानको आधारमा हामीलाई कसैले माइनस गर्न सक्दैन। यदि नयाँ नेतृत्व आउँछ र उछिन्छ भने उछिनोस्, त्यसलाई म स्वभाविक रुपमा नै लिन्छु। हामी भन्दा बढि कुनै योगदान दिनसक्छन् भने दिउन्, त्यसलाई स्वागत पनि गर्नुपर्छ।
माओवादी केन्द्रसँगको तालमेल एकताको क्रममा भित्रभित्रै कुनै सहमति भएका रहेछन् भने नि ?
यदि कुनै गोप्य सहमति भएको छ भने त्यो चाहिँ मानिँदैन। जे सहमति गर्ने हो, त्यो कुरा पारदर्शी हुनुपर्छ। ‘पहिले यस्तो कुरा भनिया’थ्यो, यस्तो सहमति भा’थ्यो’ भनिन्छ भने त्यो चाहिँ मान्य हुँदैन।
तर मलाई लाग्छ, गोप्य तवरले त्यस्तो कुनै काम भएको छैन। भएको छ भनेर म शंका गर्दिनँ। यो शंका–उपशंका गर्ने बेलापनि होइन। हामी अब निर्वाचनमा होमिनुपर्छ, कसरी दुई तिहाई बहुमत ल्याउने र त्यसपछि पार्टी एकता गर्ने भन्ने दिशातिर एमाले, माओवादी केन्द्र र नयाँशक्ति लाग्नु पर्छ।
वामपन्थी ध्रुवीकरणपछि कांग्रेस नेतृत्वमा अर्को ध्रुवीकरण हुने देखियो। यसको मतलव राजनीतिक द्वन्द्व र प्रतिस्पर्धा अलिक कडै हुने देखियो। होइन ?
भारतमा एउटा गठबन्धन भारतीय जनता पार्टीको नेतृत्वमा छ। अर्को गठबन्धन कांग्रेस आईको नेतृत्वमा छ। दुईटा गठबन्धन भएर त्यहाँ के बिग्रिएको छ र? नेपालमा पनि मसिना मसिना पार्टीका पसलहरु भन्दा दुईटा पार्टीलाई ध्रुव मानेर चल्ने गठबन्धन भयो भने झन् राम्रो हुन्छ। यसमा हामी आत्तिनु पर्ने कारणै छैन।
तर दुई पार्टीमात्र भए भने जनतालाई छनोटको अवसर कम होला नि ?
अमेरिकामा कतिवटा च्वाइस छन्? ब्रिटेनमा कतिवटा च्वाइस छन्? फिलिपिन्समा कतिवटा च्वाइस छन्? राजनीतिक पार्टी च्वाइस गर्ने भन्ने कुरा बाटो–बाटोमा थापिने पसलमा गरिने च्वाइस जस्तो होइन। राजनीतिक पार्टीको इतिहास हुनुपर्यो, योगदान हुनुपर्यो, विश्वसनियता हुनुपर्यो र काम गरेको अनुभव हुनुपर्यो, विचार र दृष्टिकोण पनि हुनुपर्यो। च्वाइस उपरोक्त कुराहरु भएका पार्टीहरुबीचबाट हुने हो।
गणतन्त्र स्थापनासम्म कांग्रेससँग सहकार्य गरेर अहिले एक्लै छाडिदिनु उपयुक्त थियो त ?
चुनावी राजनीतिमा प्रतिस्पर्धाको राजनीति अंगिकार गर्ने हो। हामी लडेको प्रतिस्पर्धाको राजनीति स्थापित गर्न नै हो, प्रतिस्पर्धाको राजनीतिको अन्त्यका लागि होइन। हामी एकाधिकारवादी शासन फालेर प्रतिस्पर्धाको राजनीतिमा एकजुट भएका थियौं। कांग्रेस र वामपन्थीहरुबीचको सहकार्य त्यत्तिका लागि भएको थियो। एकाधिकारवादी शासन फाल्ने लक्ष्य हामीले पुरा गर्यौं । हामीले प्रतिस्पर्धाको राजनीतिलाई अघि बढाउने हो। जनतालाई अब हामीले भन्नुपर्छ, ‘हामी अब एकजुट भएर आएका छौं, त्यसमध्ये को योग्य छौं, त्यसको छनोट गर्नुस्।’
कांग्रेसलाई राजावादीसँग समेत गठबन्धन गर्नुपर्ने स्थितिमा पुर्याइदिनु राम्रो हो र ?
राजनीतिमा यस्ता गठबन्धन हुन्छन् नै। जनताले कुन चाहिँ ध्रुवीकरणलाई मन पराउँछन्, त्यो उनीहरुले रोज्ने कुरा हो। भ्रष्टाचारीहरु छन् भने तिनको पछि लाग्ने कि नलाग्ने, त्यो जनताको कुरा हो। देशद्रोही छन् भने तिनलाई के गर्ने, त्यो जनताले निर्णय गर्ने कुरा हो। विचार, व्यवहार आचरणका आधारमा जनताले छनोटको निर्णय गर्छन्। जनताले पार्टीका घोषणा पत्र हेर्छन् र आफूले मन पराएको पार्टीलाई भोट दिन्छन्। बहुदलीय व्यवस्थाको सौन्दर्य नै यही हो।
एमाले–माओवादीबीचको मिलनले भूराजनीतिक खेल झन् बढ्ला भन्ने लाग्दैन ?
आत्तिनुपर्ने स्थिति छैन। किनभने हामी कुनै देशको विरोधी होइनौं। हामी सबैसँग सुमधुर सम्बन्ध चाहन्छौं। कसैसँग शत्रुता मोलेर हामीलाई फाइदा छैन। हामीसँग शत्रुता मोल्दा अरुलाई पनि फाइदा छैन। हाम्रो चासो भनेको देशको मर्यादा बढोस्, स्वाभिमानको रक्षा होस् र हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरोस् भन्ने हो। हामी यस्तो सोच राखेर हिँडिरहेका छौं भने हामीबीचको एकताबाट कोही आत्तिनुपर्ने स्थिति नै छैन। यदि यो एकता आफू विरुद्ध लक्षित छ भन्ने आशंका कसैमा छ भने म त्यस्तो आशंका हटाउन आग्रह गर्दछु। एमाले सन्तुलनलाई ध्यानमा राखेर अघि बढ्न खोजिरहेको छ। माओवादी केन्द्र र नयाँ शक्तिपनि यस्तै सन्तुलनको बाटोमा अघि बढ्न खोजेका छन्।
एमालेले माओवादी जनयुद्धलाई कसरी विश्लेषण गर्छ अब ?
जनयुद्ध समाप्त भइसक्यो। त्यसले हामीलाई बिगार्ने कुरा केही पनि छैन। त्यो इतिहासको विषय हो। हामीले पनि झापा संघर्षको मूल्याङ्कन धेरै वर्षपछि गरेका हौं। त्यसैले जनयुद्धको समीक्षाको जिम्मा पनि इतिहासलाई दिनुपर्छ। अहिलेका लागि एकता प्रमुख कुरा हो, कुनै पार्टीका गतिविधिको समीक्षा होइन। जे भएपनि माओवादी परिवर्तनको एउटा प्रक्रियाबाट यहाँसम्म आइपुग्यो। हामी अर्को प्रक्रियाबाट यहाँसम्म आइपुग्यौँ। हाम्रा गतिविधि र संघर्षले राजनीतिक परिवर्तनहरु भए। त्यही परिवर्तनको जगमा हामी एकताको विन्दूमा आइपुगेका छौं। त्यो परिवर्तनलाई संस्थागत गर्नेतिर हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ।
संसदको चुनाव नजिकिँदै छ। तपाईं रौतहटमा प्रतिस्पर्धा गर्नुहुन्छ कि काठमाडौंमा ?
एमालेको काठमाडौं क्षेत्र नं २ को क्षेत्रीय कमिटीले मेरो नाम प्रस्ताव गर्यो भन्ने सुनेको छु। बडो खुसी लागेको छ। किनभने यहाँका कार्यकर्ताहरुले पटक पटक भन्दै हुनुहुन्थ्यो कि, ‘तपाईं नै आउनुपर्छ’ भनेर। अब जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीले तय गरेपछि कहाँबाट प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लाग्ला।
रौतहटबाट पनि सिफारिस भयो भने तपाईंको छनोट कता हुन्छ ?
जसले मलाई तान्न सक्यो, मेरो छनोट त्यतै हुन्छ।
स्थानीय तह निर्वाचनमा रौतहटमा एमाले झण्डै निल भयो। त्यहाँ तपाईंका लागि अनुकूल छ र ?
रौतहटका १८ स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एमालेले एउटा तहको मात्र उपप्रमुखमा विजय हासिल गर्न सक्यो। रौतहट एमालेका लागि यो निकै खराब नतिजा हो। यसको मतलव के हो भने, त्यहाँका जनताले म र मेरा सहयोगीहरुलाई रुचाएनन्। त्यसो हो भने म त्यहाँ किन जाने भन्ने प्रश्न मेरो मनमा आउन थालेको छ।
संसदमा मात्र जाने हो कि प्रधानमन्त्री राष्ट्रपति नै बन्ने हो ?
मैले मात्र रहर गरेर हुने कुरा हो र? झगडा गरेरपनि हुने कुरा होइन। समयको माग के हो, समयको आवाज के हो, त्यो पनि हेर्नुपर्छ। म हुन्छु, म हुन्छुु भनेरमात्र हुन्छ कि अरुले आवस्यकतापनि महसुस गर्नुपर्छ? यदि आवस्यकता महसुस भयो भने तपाईंले नसोचेको जिम्मेवारी पाउनु हुन्छ। हेनुस् त, पहिलो संविधान सभा निर्वाचनमा पराजित भएँ। तर झण्डै राष्ट्रपतिको जिम्मेवारी पाएको थिएँ। समयले फेरि हुत्यायो, मैले सोच्दै नसोचेको प्रधानमन्त्रीको पद पाएँ।
फेरि त्यस्तै ‘चमत्कार’ पो हुने हो कि ?
पदका लागि लोभलालच गरेर, किचकिच गरे, घिङ्ग्याइँ गरेर बस्ने मान्छे म होइन। पदका लागि अनुचित ‘कम्प्रोमाइज’ गर्ने मेरो बानीपनि छैन।
केही दिनअघिको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओली पक्षधरले निर्वाचन अगावै प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने धारणा राख्दा तपार्इं पक्षधरले त्यसो गर्न नहुने धारणा राखेछन्। यो वादप्रतिवादको अन्तर्य के हो ?
मैले पक्ष–विपक्षमा केही पनि बोलेको थिइनँ। यस विषयमा मलाई कसैले सोध्दापनि सोधेन, बोल्नुपनि परेन। मेरा मनका कुरा मनमै रहे।
के थियो त मनका कुरा ?
भयो अहिले नखोलौं।
प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार घोषणा गर्दा पार्टीको पक्षमा लहर आउँथ्यो कि ?
त्यसले सबैलाई उत्साहित गरे त राम्रो, ‘बुमर्याङ्ग’ गर्यो भने चाहिँ के गर्नुहुन्छ? यो पक्षतिर त ध्यान दिनुपर्छ होला नि।
‘माओवादीसँग एकताबारे ओलीले सोधे, मैले अघि बढिहाल्न भनें’
Previous Articleभयबित डाक्टर र त्रसित बिरामी
Next Article विरेन्द्रचोकमा रहेको चौतारी मर्मतमा सहयोग