बागलुङ, २८ भदौ – कतै अदालतको निर्णयबाट प्रधानाध्यापक नियुक्त भएका त कतै विभागीय मन्त्रीका निर्णयबाट प्रधानाध्यापक भएका उदाहरण रहेको बागलुङ जिल्लाको मालिका गाविसस्थित मालिका माविमा सर्वसम्मत रुपमा प्रधानाध्यापकको नियुक्ति भएको छ ।
निवर्तमान प्रधानाध्यापक टिकादत्त शर्माले भदौ दश गते आफ्नो पदबाट राजिनामा दिएपछि शनिबार विद्यालयको व्यवस्थापन समितिले विद्यालयका शिक्षक मणि ज्ञवालीलाई प्रधानाध्यापकको नियुक्ति दिएको हो ।
विद्यालयका शिक्षक तथा सूचना अधिकारी कुलराज शर्माका अनुसार, टिकादत्त शर्माले राजिनामा दिएपछि शिक्षक स्टाफहरुको बैठकले सर्वसम्मत रुपमा ज्ञवालीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो ।
शर्माले भने, ‘समान योग्यता तथा एकैदिन नियुक्ति भएका माध्यामिक तहका हामी तिन स्थायी शिक्षकहरुमध्ये मेरो प्रस्ताव र सोपबहादुर रोका सरको समर्थनमा अन्य शिक्षक साथीहरुले सहमति जनाएपछि उहाँलाई प्रधानाध्यापक बनाउने हाम्रो निर्णय भयो, हामी पदमा भन्दा विद्यालयको गुणस्तर अभिवृद्धिमै केन्द्रित छौं ।’
शर्माले दिएको जानकारी अनुसार विद्यालय व्यवस्थापन समितिले शिक्षकहरुको एकता र नमूना योग्य संस्कृतिको सम्मान गर्दै शिक्षकहरुकै निर्णयलाई अनुमोदन गरेको हो । नवनियुक्त प्रधानाध्यापक ज्ञवालीले साथीहरुको सहयोग र हार्दिकताले नै आफूले पदीय जिम्मेवारी लिएको बताए ।
स्मरण रहोस्, माध्यमिक र आधारभूत तहमा नयाँ शिक्षक गएपछि स्कुलको शैक्षिक गुणस्तरमा सुधार आएको छ । यसवर्षको एसएलसी परीक्षामा एक जना विद्यार्थीले ए प्लस, सात जनाले बि प्लस र अरु बि ग्रेडमा उतीर्ण भएका थिए ।
Previous Articleकक्षा १२ को परिक्षाफल प्रकाशित
Next Article उपचार खर्च नभएर आत्महत्या कहिलेसम्म ?