कृष्णप्रसाद शर्मा
अहिले दंशै चलिरहेको छ । यो भन्दा पहिला तीज थियो, अब तिहार आउँदैछ । यो बाहेक अन्य छठ पर्वदेखी ईदपर्व पनि मनाईए । अब क्रिस्मस पनि आँदैछ । यी माथीका चाडपर्वका नाम लिँदा हिन्दु, मुस्लिमदेखी क्रिश्चियनसम्म सम्प्रदायको प्रसंग आउँछ । आजकालका हरेक चाडपर्वले हाम्रो समाजमा रहेको वर्गको अन्तर घटाउने भन्दा बढाईरहेको देखिन्छ । यो कुनै चाड बिशेषमा नभई अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ । चाडपर्वलाई राज्यले दिएको बिदा र समाजले दिएको हैसियतमा विस्तारै विचलन आएको छ । हरेक बर्षमा भात खाने दिनका रुपमा संझेर मनाउने कर्णालीबासीले कसरी मनाए, त्यो कसैलाई चासो भएन । कर्णालीका जिल्लाहरूमा खाद्यका चामल छैन भन्ने एउटा सानो राहदानी हरायो भन्ने ठूलो आकारमा समाचार आउँछ भने खसी बजारमा यो पटक खसीको मुल्य हरेक दिन कति बढ्यो र कति घट्यो भन्ने कुरा ठुलै पत्रिकाको मुख्य समाचार बनेर आउँछन् ।
काल माक्र्सले समाजमा देखेको बर्ग आज पनि छँदैछ । हुँदा खानेवर्ग र हुनेखाने वर्ग वीचको ठुलो खाडल देखिंदै छ । चाडपर्व अधिकृतलाई पनि आउँछ, कार्यालय सहायकलाई पनि । तर अधिकृतको दंशैमा चुडामणी शर्माहरूले मनाउने दंशै र एउटा पियनले मनाउने दंशै यो स्थिति बारे कसैलाई चिन्ता छैन । बरु चुडामणी शर्मा र डोलेन्द्र शर्माको दंशै अहिले अल्लि खल्लो भएकोमा चिन्ता गर्ने धेरै छन् । तीज पर्व करीब दुई महिना देखी मनाईन्छ आजकाल, त्यो पर्वमा गाईने गीत र सहभागी समुहमा ठुलो अन्तराल आएको छ । तीजमा पहिरिने गरगहनाले अहिले मान्छे कति भौतिकबादी बनेको छ स्पष्ट हुन्छ । यहाँ तीजमा महिलाले लगाउने पहिरन र गरगहनाको कुरा उठाउँदा महिला रमाउने कुरालाई ईङकित गरेको नसम्झौं । लोग्ने र स्वास्नि मानिस भन्दा चाडपर्वमा बर्ग विशेषको थप बर्गिय संरचना सृजना गरेको छ ।
चाडपर्वको मर्म, साँस्कृतिक रुपमा उच्च महत्व हुन्छ, यसलाई बजारले प्रभाव पार्नु हुन्न तर अहिले दंशै कस्तो भयो भन्ने कुरा न्युरोडमा कति सुनको कारोबार भयो त्यसले निर्धारण गर्ने परिस्थिति छ । उपहार र भौतिक सामानको तयारी वा यसको आपुर्ति र उपभोग नै चाडपर्वको मानक बन्न थाले । चाडपर्वमा सबैको भेटघाट हुने पर्व र एक आपसमा आफ्नो भावना साट्ने हुनु पनि हो तर अहिले भौतिक बस्तुका कारण धनीको घरमा गरीब टीका थाप्न वा तीजमा संगै बसेर गीत गाउन समेत अफ्ठ्यारो भएको छ । गाउँका पाटीपौवा शहरीकरणले मासिंदै कच्चि सडकको रूपमा विकसित हुँदैछन् भने दंशैमा आर्शिबाद लिन जाने भन्दा उपहार किन्न नसकेका कारण जानेकी न जाने भन्ने स्थिति छ । घरमा जे उब्जिन्छ त्यो आदानप्रदान गर्न मिल्ने कुराहरू अहिले हराउँदै गएका छन् ।
चाडपर्व सबै तहका मान्छेहरूलाई मान्य र सुहाउँदो बनाईएको थियो । जातपातका कारण हुने छुवाछुत आफ्नो ठाउँमा छ तर त्यो बाहेक धनले सृजना गराएको बर्ग थपिंदै गएको छ । चाडपर्व मात्र होईन हाम्रा रितिरिवाज पनि माँसिंदै छन् । पुंजीबादी युगमा मान्छेको मुल्य बस्तुको भन्दा सस्तो हुन्छ भन्दछन् त्यस्तै अहिले मान्छेको भावना र श्रद्धा भन्दा पनि बाहिरी देखावटी दुनियाको कृतिम महत्व देखाईएको छ । चाडवाड कसरी बनाउने भन्ने कुरा आफ्नो परिवार र आयश्रोतले निर्धारण गर्नु पर्ने थियो तर अहिले विस्तारै बजारले, समाजले त्यसमा पनि एउटा हुनेखाने बर्गले अघोषित रुपमा बनाईदिएको मापदण्डमा रहेर मनाउने चलन बढ्दै गएको छ । गुन्द्रीमा बसेर टीका लगाउने चलन कम्मल र गलौंचा हुँदै अहिले स्टाण्र्ड सोफासम्म आईपुगेको छ । यसलाई कतिपयले सामान्य लाग्ला तर एउटा गरीबले अहिले घर बनाउँदै गर्दा हुनेखाने आए भने बस्न भन्नु पर्दा कहाँ बस्न भन्ने होला भनेर सोचेर सामान किन्न पर्र्ने देखिन्छ ।
चाडवाडमा भेट्न जाँदा वा मनाउन जाँदा आफ्नो हैसियतबारे सोच्नु पर्ने स्थिति छ । उच्च बर्गले चाडपर्वलाई आफ्नो खानदानी बर्गको हैसियत देखाउनेका रुपमा लिँदै गईरहेका छन् भने गरीबहरू चाडपर्व नआए हुन्थ्यो भन्नेमा छन् । अहिले दंशै पारेर गाडी किनियो, घर भित्रियो, बुढीलाई वा बुढालाई यो उपहार दिईयो भनेर सामाजिक संजालमा पोष्ट गरेको देखिन्छ, यो सबै चाडपर्वका बिकृति हुन । मैले यो दंशैमा यस्तो आर्शिबाद लिंए वा पांए भनेर कसैले पोष्ट गरेको देखिंदैन किन कि त्यो फोकटको शब्दका रुपमा चित्रित हुँदैछ । गुरुकुलमा पढेका वा गुरुको यथार्थ बुझेका मान्छेहरूलाई आशिष लिने वा गुरुको संगत प्यारो लाग्छ तर आजकाल त्यो हराउँदै गएको छ । चाडपर्वलाई साँस्कृतिक रुपमा मनाउने र यसलाई यसैको परिधीमा राख्न नसके भोलीका दिनमा चाडपर्व सरकारी कामकाजबाट बिदा पाउने केवल एउटा माध्यम र धनी र गरीब बीचको असन्तुलनले समाज खण्डित गर्ने बाहेक अरु केही हुन सक्दैन । त्यसैले बेलैमा सोचौं चाडपर्व सबै तहका मान्छेले मनाउन सक्ने होस् । आफ्नो हैसियत देखाउने माध्यम नबनोस् । शुभ चाडवाड ! शुभ सोच ।
चुडामणी र डोलेन्द्र शर्माको दशैं अल्लि खल्लो !
Previous Articleउपभोक्ता ठग्नेलाई कार्वाही खै ?
Next Article भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै