नेपालीको महान् पर्व दसैं नजिकिँदै गर्दा सबै नै पर्वमय हुनु स्वाभाविक हो । पर्वकै महत्वलाई ध्यानमा राखेर कार्यालय, विद्यालय, कलेजहरूसमेत छुट्टी पर्ने भएकाले खानपानलाई पहिलो प्राथमिकता राखी यो पर्वको महत्व दर्शाउने परिपाटी चलेको छ । खाने, रमाउने र घुमघाम अनि दसैंंको टीका थाप्ने विषयलाई महत्वपूर्ण हेरिने गरिन्छ । त्यसमा पनि मध्यपान र मांसाहारलाई जोड दिइन्छ ।
जसको घरमा बढी मांसाहारका परिकार पाक्छन् र साथीभाइ, परिवारजन एवं पाहुनालाई अनेक परिकार पस्केर मध्यपानद्वारा स्वागत गर्न सकिन्छ, उसैले आफूलाई सभ्य र प्रतिष्ठित ठानेको हुन्छ । जति आदर्शका कुरा गरे पनि व्यावहारिकरूपमा देखावटी र अरूकै लागि गर्ने परिपाटी हट्न सकेको छैन । आजका मानिस आफ्नो स्वास्थ्यप्रति पनि खुबै ख्याल राख्छन् । त्यसैले त योग, प्राणायाम, मर्निङ वाक, जिम जाने आदि कार्यलाई प्राथमिकतामा पनि राख्ने गरेका छन् । तर विडम्बना स्वस्थ रहन आवश्यक पर्ने प्राकृतिक आहारलाई भने बेवास्ता नै गरेको पाइन्छ । आहारमा ध्यान नदिई गरेका अरू शारीरिक प्रयासले खासै महत्व राख्दैनन् भन्ने यथार्थ अझै बुझेका छैनन् या बुझ्न चाहेका छैनन् ? हाम्रा चाडपर्व, रीतिरिवाज, संस्कार र खानपानको तरिकालाई अब नयाँ आयामबाट लिने हो कि ?
पशुपक्षीले समेत आफूले के खाने र कति खाने मात्रा र आहारको प्रकृति तय गरेको छ । आवश्यकभन्दा बढी भोजन र आफ्नो शरीरको प्रकृतिबाहेकको भोजन जनावरले समेत गर्दैनन् । तर मानिस भने यसको विपरीत छ । अस्वाभाविक, अप्राकृतिक र अस्वस्थ खानेकुराको लतले मानिसलाई छोडेको छैन । मानिसले विवेकहीन भनेर परिभाषित गरिएका जनावरहरू कहिल्यै अजीर्ण र अस्वस्थ भोजन गरेर बिरामी परी अस्पताल भर्ना हुनुपरेको र आहारकै कारण रोगी हुने गरेका उदाहरण छैनन् होला । तर मानिसमा अधिकांश रोग अप्राकृतिक आहारकै कारण लाग्ने गरेको पाइन्छ ।
अहिले स्थिति बदलिएको छ, परिस्थिति परिवर्तन भएको छ र वातावरण फेरिएको छ । दसैंलाई मांगलिक बनाउने हो भने केही न केही नवीन कार्यहरू गर्नैपर्ने हुन्छ ।
मानिस प्रकृतिको सुन्दर सृष्टि हो । मानिस प्राकृतिक र आध्यात्मिक प्राणी पनि हो । प्रकृतिले जसरी उसलाई सिर्जना गरेको छ, उसको लागि आवश्यक आहार पनि प्रकृतिले नै आयोजना गरिदिएको छ । प्रकृतिमा प्राप्त अन्न, फलफूल र जल नै मानिसका प्राकृतिक आहार हुन् । तर आजका मानिसले ती प्राकृतिक आहारको गुण नै बिग्रने गरी फ्रिजमा राख्ने, वासी खाने, प्रशोधित र रिफाइन्ड गरिएका खाना एवं रासायनिक पदार्थ प्रयोग गरिएका स्वाद र रंग प्रयोग गर्ने गरेका छन् । प्रविधिको विकासले सजिलो र छरितो बनाएको भए पनि त्यसले खानालाई विषाक्त बनाउने कुरालाई मानिसले ध्यान दिएको पाइँदैन ।
यस्ता खानाले तुरुन्तै पाचन क्रियामा असर त गर्दछन् नै, दीर्घकालीन रोगसमेत निम्त्याउँछन् । तर मानिस क्षणिक स्वाद, क्षणिक उत्तेजना दिने र क्षणिक खुसीको निम्ति अस्वाभाविक आहार उपभोग गरिरहेका हुन्छन्, जसलाई आधुनिक आहार शैली र सभ्यताको परिचय दिनसमेत पछि परेका हुँदैनन् । प्राकृतिक मकैले दिने फाइदा कर्नफ्लेक्सले अवश्य दिँदैन । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण ओट मिलमा पक्कै हुँदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर र अनावश्यक चिनीको मात्रा मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन । यी त एकाध उदाहरण मात्र हुन् । आजका सबै बजारिया खाना यस्तै प्रशोधित र रासायनिक तत्व मिसिएका हुन्छन् । विज्ञापनले खिचिसकेको छ मानिसको आहारलाई र पछाडि पारिदिएको छ स्वास्थ्यलाई ।
त्यसमा पनि मांसाहार त मानिसको स्वभाव नै होइन । मानिसको शरीरको बनोट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्राकृतिक नै छैनन् । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुँदाहँदै पनि त्याग्न सकेको छैन मानिसले । आजभोलि हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप बढ्नु, आन्द्राको क्यान्सर फैलिनु, मानिस क्रोधी, स्वार्थी एवं हिंस्रक बन्दै जानु र अस्तव्यस्त एवं तनावपूर्ण देखिनु आदि लक्षण बढ्दै गएको पाइन्छ । यसको मूल कारण मांसाहारको सेवन बढ्नुले नै हो ।
मानिसले आफ्नो स्वास्थ्य र स्वभावलाई ध्यान दिने हो भने प्रकृतिमा उपलब्ध रेसादार खाना, अंकुरित खाना, फलफूल, सागसब्जी, अन्न (फापर, कोदो, गहुँ, भटमास, मुङ, गहत), दूधलगायतका प्रशस्त ताजा र पोसिला खानेकुरा छन्, जुन स्वादिष्ट र स्वस्थ दुवै गुणले परिपूर्ण छन् । मौसमअनुसारका प्राकृतिक आहारमै क्षारीय तत्व, प्रोटिन र स्टार्च प्रशस्त पाइने हुनाले अप्राकृतिक खानातिर आकर्षित हुनुपर्ने कुनै कारण छैन । मध्यपान, धूमपान र मांसाहारले नै खुसी हुने मानिस जीवनको अधिकांश समय रोगसँगै लडिरहेका पाइन्छन् ।
भोजन ग्रहण गर्नुभन्दा पनि कति ग्रहण गर्ने, के ग्रहण गर्ने र कसरी ग्रहण गर्ने, आफूले ग्रहण गरेका भोजनले आफूलाई आनन्द दिन्छ कि दिँदैन, छुट्ट्याउन सक्ने कला जान्नु महत्वपूर्ण पक्ष हो । पर्वलाई उत्सवमय बनाऔं, खानपानमा रमाऔं, परिवारसँग समय बिताऔं, तर मनलाई शान्त हुने, प्रसन्न बनाउने, चित्त एकाग्र हुने र शरीरलाई हल्का र फूर्तिलो राख्ने प्राकृतिक आहार प्रयोग गरौं । आफ्नो शरीरलाई आवश्यक र सुपाच्य आहार मात्र प्रयोग गरौं । शरीरलाई रोग निम्त्याउने होइन पौष्टिक खाना प्रयोग गरौं ।
Previous Articleविश्वकै अग्लो सडक-सुरुङ मार्ग खुल्यो
Next Article प्रदेश २ का सबै स्थानीय तहको नतिजा सार्वजनिक