सप्तरी, ११ असोज – प्रदेश नम्बर २ मा असोज २ गते भएको स्थानीय निकाय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । १३६ वटा स्थानीय तह रहेको यो प्रदेशको अन्तिम नतिजा राजविराज नगरपालिकामा राजपाले बाजी मारेको छ । १५ मतको झिनो अन्तरले संघीय समाजवादी फोरमका भिमराज यादवलाई हराउँदै राजपाका शम्भु यादव विजयी बने ।
मेयरमा राजपाका शम्भुले ४ हजार ७७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले ४ हजार ७५९ मत प्राप्त गरे । यस्तै उपमेयरमा राजपाकी साधना झा ५ हजार १९५ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी किरण साहले ४ हजार २६९ मत प्राप्त गरिन् ।
कुल १८ स्थानीय तह रहेको सप्तरीमा राजपाको यो पाँचौ जित हो । यसअघि राजपाले डाक्नेश्वरी र हनुमानगगर कंकालनी नगरपालिका, तिलाठी कोइलाडी र रुपनी गाउँपालिकामा राजपाले जितेको थियो । जिल्लामा कांग्रेस र फोरमले पाँच-पाँच तह जितेका छन् । एमालेले दुई र नयाँ शक्तिले एक तह जितेको छ । कांग्रेसले सुरुंगा र शम्भुनाथ नगरपालिका तथा बेल्ही चपेना, विष्णुपुर र अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जित हात पारेको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालले जिल्लाको खड्ग नगरपालिका र बोदे बर्साइन नगरपालिका तथा तिरहुत, महदेवा एवं बलान बिहुल गाउँपालिका जितेको छ । एमालेले सप्तकोशी नगरपालिकामा मेयर तथा उपमेयर र कञ्चनरुपमा मेयर जितेको छ । नयाँ शक्तिले छिन्नमस्ता गाउँपालिकामा प्रमुख जितेको छ । कञ्चनरुपको उपमेयरमा कांग्रेस र छिन्नमस्ताको उपप्रमुखमा राजपाले जित हात पारेकको छ ।
तेस्रो चरणअन्तर्गत प्रदेश २ मा भएको स्थानीय तह निर्वाचनको सबै मत परिणाम बुधबार सार्वजनिक भएको छ । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो । सो निर्वाचनबाट ४० स्थानीय तह जित्दै नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । यसैगरी संघीय समाजवादी फोरम २६ तह जित्दै दोस्रो र २५ स्थानीय तह जितेको राजपा तेस्रो भएका छन् । २१ स्थानीय तह जितेको माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ । एमाले १८ स्थान जित्दै पाँचौ स्थानमा छ । नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्तिले एक स्थानीय तह जितेका छन् ।