११ असोज पर्वत–नजिकिदै गरेको नेपालीहरुको महान पर्व बडादशैलाई लक्षित गर्दै पर्वतका जनप्रतिनिधिहरुले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि बृद्धबृद्धा हर्षित बनेका छन् । बिगतका बर्षहरुमा दिनभरीको यात्रा गरेर सदरुमकाम पुग्न बाध्य बृद्धबृद्धालाई यसपटक भने जनप्रतिनिधिहरुले घरमै लगेर भत्ता दिएका हुन् । सम्पन्न परिवारका भन्दा विपन्न परिवारमा सामाजिक सुरक्षा भत्ताले ठुलो राहात मिलेको छ । बैंकको पहुँच भन्दा धेरै टाढा रहेका विभिन्न गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि दशै सहज रुपमा मनाउन पाइएको भन्दै बृद्धबृद्धाहरु हर्षित बनेका थिए ।
दशैको बेला मासु लगायत टिका टालो, लुगा फाटोको रकम जोहो भएको भन्दै बृद्धबृद्धा खुसी भएको महाशिला–५ का वडाअध्यक्ष जीवन उच्चैले जानकारी दिए । उनका अनुसार दशैमा मात्रै उनले झण्डै साढे चार सय लाभग्राहीलाई २१ लाख रुपैया वितरण गरेको जनाएका छन् । बृद्धबृद्धा, एकल महिला, अपाङ्ग, दलित बालबालिका लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । त्यस्तै फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा पनि तीन सय भन्दा बढिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष टिकाराम गौडेलले जानकारी दिए । उनका अनुसार, बैंकसम्म बृद्धबृद्धाहरु पुग्न नसक्ने र पुगिहालेपनि दिनभर लाईनमा बस्नुपर्ने भएकाले घरघरमै पुगेर बृद्धभत्ता वितरण गरिएको उनले बताए ।
उनले निर्वाचनकै बेला आफुले घर घरमै लगेर बृद्धभत्ता वितरण गर्ने बाचा गरेको र सोहि अनुरुप पहिलोपटक चौमासिक बराबरको रकम घरमै लगेर भुक्तानी गरिएको जानकारी दिए । पर्वतमा विगत पाँच वर्षदेखि बैंकमार्फत बृद्धभत्ता वितरण गर्न थालिएको थियो । अधिकांस ठाउँमा बैंकबाटै बृद्धभत्ता वितरण हुने गरेपनि महाशिला गाउँपालिका अन्तर्गतका ६ वटा वडामा भने बैंकको पहुँच नहुँदा वडा कार्यालयबाटनै वितरण हुने गरेको थियो । तर यसपटक भने वडा कार्यालयसम्म पनि पुग्न नपर्नेगरी घरमै पुगेर वितरण गरिएको उनीहरुको भनाई रहेको छ ।