बागलुङ, १० असोज – नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवारका लागि मापदण्ड र छनौट विधि तयार गरेको छ। अध्यक्ष केपी ओलीको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समितिको बैठकले विवादास्पद भूमिका नभएका, पार्टीप्रति इमानदार, प्रतिबद्ध तथा एक जनाका लागि एक मात्र तह र प्रणालीमा उम्मेदवारी सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।पार्टीको निर्णयअनुसार यसअघि संविधानसभामा समानुपातिक सदस्य रहिसकेकालाई पुनः उम्मेदवार बनाइने छैन। त्यसैगरी स्थानीय तहमा उम्मेदवार बनेकालाई पनि उम्मेदवार नबनाउने पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यद्यपि अन्य विकल्प नहुँदा महिलाका हकमा भने यो लागु हुनेछैन।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न पनि मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ। एमालेले प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन समन्वय समितिको बैठक बसी सकभर सर्वसम्मत नभए न्युनतम एक महिलासहित ३ जनाको नाम प्रत्यक्ष निर्वाचनको उम्मेदवारको लागि जिल्ला कमिटिमा सुझावका रुपमा प्रस्तुत गर्न निर्देशन दिएको छ।असोज १९ र २० गते जिल्लाको बैठकले क्षेत्रीय समितिबाट प्राप्त नामलाई रायसहित प्रदेश संगठन कमिटिमा बुझाउन भनिएको छ। त्यस्तै २२ र २३ मा प्रदेश कमिटीको बैठक बसी सिफारिससहितको प्रस्ताव स्थायी समितिमा पठाउन निर्देशन दिइएको छ।
असोज २६ र २७ गते पार्टीको स्थायी समितिको बैठकले सबै कमिटीबाट प्राप्त सुझाव, राय र सिफारिसलाई आधार मानेर उम्मेदवारीको अन्तिम निर्णय गर्ने छ। एमालेले २९ गते पार्टीका समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउने जनाएको छ।
प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारका लागि एमालेले तयार गर्यो मापदण्ड
Previous Articleकाभ्रेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
Next Article घरमै भत्ता पाउँदा जेष्ठनागरीक उत्साहित ।