१० असोज, म्याग्दी–नेपालीको प्रमुख चाड दसैंलाई लक्षित गरी नेपाल बैक लिमिटेड म्याग्दी शाखाले एकैदिन एक करोडको खुद्रा नोट वितरण गरेको छ । बैंकले सर्वसाधारण, वित्तिय संस्था, सरकारी कार्यालयका कर्मचारीलाई नोट उपलब्ध गराइएको हो । नयाँ नोट वितरण गर्ने जानकारी पाएपछि जिल्लाको ग्रामिण क्षेत्रबाट सर्वसाधारणले लाइनमा बसेर नोट लिएका थिए । बैंकका शाखा प्रवन्धक रमेश न्यौपानेले एक ब्यक्तिलाई १००, ५०,२०, १० र ५ का पुराना र नयाँ नोट वितरण बताए ।
उनले एउटै ब्यक्तिले धेरै बण्डल भन्दा पनि धेरै सर्वसाधारणको हातमा नयाँ नोट पुग्ने गरी सबैलाई एकै किसिमले उपलब्ध गराइएको बताए । नेपाल बैंकमा करिव एक करोड नयाँ नोट आएपनि बैंक भित्र रहेका पुराना खुद्रा नोटलाई समेत प्रयोग गरेर वितरण गरिएको छ । आइतबार र सोमबार २ करोड खुद्रा नोट बैंकबाट बाहिरिने कर्मचारीको भनाई छ । नेपाल राष्ट्र बैकको नोट कोष समेत रहेको बैक बाहेक पनि जिल्लाका ठुला बैंक तथा वित्तिय संस्थाका साथै सहकारीले समेत जिल्ला बाहिरबाट समेत नयाँ नोट ल्याउने गरेका छन् । जिल्लाका दशैंतिहारमा करिव ४ करोडको हाराहारीमा नयाँ नोट वितरण हुने गरेको छ ।
१ सय र ५० भन्दा २० र १० को नोटको माग धेरै छ । बैंकले वित्तिय संस्थालाई ३५ लाख, प्रति सहकारी १ लाख, सरकारी कार्यालयका कर्मचारी २० लाख खुद्रा नोट वितरण गरेको छ । जिल्लाको सदरमुकाम बाहिर मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकामा रहेका बैंकका शाखाले समेत खुद्रा पैसा ब्यवस्थापन गरेका छन भने ग्रामिण क्षेत्रमा रहेका सहकारीले समेत विभिन्न रेमिट कम्पनी मार्फत नयाँ नोट उपलब्ध गराउने गरेका छन् ।