जनमञ्च संवाददाता/बागलुङ, ६ असोज
पर्वतको बनौं घर भएका मुकुन्द प्रसाद पौडेललाई अहिले बागलुङ बजारमा हाउस वायरिङको कामले भ्याईनभ्याई छ । उनले नयाँ बन्ने घरमा वायरिङ गर्न र पुराना घरको मर्मतका लागिपनि उत्तिकै बोलाउँछन् । त्यसबाट उनले राम्रो आम्दानी पनि गर्न सकेका छन् । बैदेशिक रोजगारीका लागि धाउने योजना बुनेका पौडेलले केही बर्षअघि पाएको तालिमले स्वदेशमै आत्मनिर्भर बन्ने बाटो खुलेको छ । उनीसँगैका केही साथीले बिदेशमा पुगेर पनि उस्तो आम्दानी गर्न सकेका छैनन् । कतिपय त खाडी तथा मलेसिया गएर साहै्र दुःख पाएका पनि छन् । तर उनले घरपरिवारमै बसेर नियमित कमाई गर्न सफल भएका छन् । आफ्नो घरको काम भ्याएर बचेको समयमा उनले हाउस वायरिङ गर्छन् । बिहानदेखि बेलुकीसम्म समय दिन सकेजति उनले काम पाउन समस्या छैन ।
भकुण्डेका मुस्कान थापाले पनि अहिले राम्रो आम्दानी गरिरहेका छन् । उनी पनि पौडेल जस्तै शिप मूलक तालिम लिएर पेशामा होमिएका हुन् । बैदेशिक रोजगारीमा जान खोज्ने सबै युवालाई यस्ता कामले गाउँघरमै काम गर्ने अवसर सिर्जना गरेको उनको अनुभव छ । बागलुङ बजार लगायतका शहर उन्मुख क्षेत्रमा घर बनाउन जिम्मा लिएका ठेकेदारहरुले पनि उनीहरुलाई बोलाईरहन्छन् । घर निर्माणको काममा ईटा, सिमेन्टको जडानले मात्र नपुग्ने भएकोले ठेकेदारहरुले बाध्य भएर बोलाउने गर्छन् । एकैदिन लामो काम पनि नहुने भएकोले १० देखि १५ वटासम्म घरमा काम गर्न भ्याइन्छ । उनीहरुले एउटै राम्रो घर निर्माण भैसक्दा २५ देखि ४० हजार रुपैयाँ सम्म कमाउन सक्छन् । बर्षमा १० वटा घर मात्र हेर्ने अवस्था आएपनि ४ लाख रुपैयाँसम्म कमाई गर्छन् ।
यो कमाई सँगै घरको काम भ्याउने, परिवारलाई समय दिन पाउने अवस्था छ । ‘जहाँ गएपनि पसिना बगाएर खाने हो, आफ्नै देशमा पाएको अवसर बिदेशमा गएर केही हुँदैन’ पौडेलले भने, ‘आफ्नो खुसीले काम गर्न पाउने अवसर छाडेर दैनिक १५÷१६ घण्टा काम गर्न जाने मुर्खता पनि त्यति राम्रो होइन ।’ आफ्नो लगातारको अनुभवबाट बिदेश जान खोज्ने युवालाई नेपालमै काम खोज्न र शिप सिक्न आग्रह गर्ने उनले बताए । एड एट एक्सनको आर्थिक सहयोगमा आसमान नेपालले युवालाई स्वदेशमै रोजगारीका लागि व्यवसायिक तालिम दिंदै आएको छ । आसमानले सिलाई कटाई तालिम दिएर महिलालाई पनि रोजगार बनाउने अभियान चलाएको छ । कुस्मीसेरा, बलेवा, पैयुँथन्थाप, सर्कुवा लगायतका स्थानमा संचालन भएका सिलाईबाट पनि धेरै महिलाले घरघरमै रोजगारी सिर्जना गरेका छन् । ‘घरधन्दा भ्याएर दिउसोको समयमा सिलाई कटाईको काम गरेर केही कमाई गरेको छु’ बिनामारेकी तारा केसीले भनिन्, ‘शिप नसिकेका भए यो आम्दानीको श्रोत भेटिने थिएन ।’ यो अभियानमा सर्कुवाकी शर्मिला नेपालीले पनि राम्रो अवसर पाएकी छिन् ।
उनले पनि सिलाई व्यवसाय संचालन गरेर मनग्ये आम्दानी गरेको आसमान नेपालका जिल्ला संयोजक लक्ष्मण थापाले बताए । ‘चेतना अभियान मात्र चलाएर आर्थिक आम्दानी गर्न नसक्दा धेरै परियोजनाहरु असफल भए’ थापाले भने, ‘व्यवसायनै संचालन गरेपछि कम्तिमा उनीहरुको कमाई बढ्छ ।’ आसमानले ५ बर्ष देखि थालेको शिपमूलक तालिम संचालन अभियानबाट सिलाई कटाईमा ३ सय ७५, मोवाईल मर्मतमा ३ सय ७५ र हाउसवायरिङमा पनि ३ सय ७५ जनालाई तालिम दिइसकेको थापाको भनाई छ । संस्थाबाट सिप सिकेर बिदेश गएकाहरुले पनि राम्रो आम्दानी गरेर जीवनमा परिवर्तन गर्न सफल भएका उदाहरण भएको उनले बताए ।