तारानाथ आचार्य/बागलुङ, ६ असोज
चाडपर्वलाई लक्षित गरेर जिल्लाका ग्रामिण सडक मर्मतका कामले तीब्रता पाउन थालेका छन् । जिल्लाका बिभिन्न गाउँपालिका तथा नगरपालिकाहरुले सडक मर्मतको कामलाई तीब्रता दिएका हुन् । बर्षात्को समयमा बिग्रिएका सडक चाडपर्वलाई लक्षित गरेर मर्मत गर्न थालिएको जनप्रतिनिधिले बताएका छन् । दशैंका बेला गाउँ–घरमा आवतजावत गर्ने सर्वसाधारणलाई समस्या नहोस भनेर सडक मर्मतको कामलाई तीब्रता दिईएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
गाउँपलिका भित्रका साना–ठुला सडकहरुमा पानीका कारण बनेका खाडल पुर्ने तथा पहिरो पन्छाउने काम सम्पन्न भइसकेको शर्माले बताए । गाउँपालिकाले करिब १२ लाख रुपैयाँ खर्चेर ५ वटै वडाका सडकमा सवारी साधन चल्ने गरी मर्मतको काम सकेको शर्माको भनाई छ । ‘चाडपर्वका बेला सर्वसाधारणले सहज यात्रा गरुन भन्ने हाम्रो चाहना हो’ शर्माले ढोरपाटनसँग भने ‘सबै सडकमा सहज रुपमा सवारी सञ्चालन हुने वातावरण बनाएका छौं ।’ गलकोट नगरपालिकाले पनि नगर भित्रका सडक मर्मतको काम थालेको छ । दशैंको मुखमा सर्वसाधारणको यात्रा सहज बनाउनका लागि सडक मर्मतलाई प्राथमिकतामा राखेर काम भइरहेको नगर प्रमुख भरत शर्मा गैरेले बताए । नगर भित्रका सडकको मर्मत कार्य भइरहेको शर्माले बताए । नगरपालिकाले प्रत्येक वडालाई १ लाख भन्दा माथि खर्च नहुने गरी सडक मर्मतमा लगाएको छ । ‘प्रत्येक वडाले आफ्नो कार्यक्षेत्र भित्रको सडक मर्मतको काम थाल्नुभएको छ’ नगर प्रमुख गैरेले भने– ‘अधिकतम् १ लाखभन्दा बढि खर्च नहुने गरी मर्मत गर्नु भनेका छौं ।’ बर्षातको समयमा ठाउँ–ठाउँमा बिग्रेका सडकमा दशैं नजिकिन लाग्दा सवारी सधानको चहलफल समेत देखीन थालेको छ ।
जिल्लाको सबै क्षेत्र सडक सञ्जालले छोएको भएपनि बर्षात्को समयमा बाढिपहिरो लगायका समस्याका कारण सवारी सञ्चालनमा आउन सकेका थिएनन् । सबैजसो कच्ची सडक रहेको जैमिनी नगरपालिकामा पनि सवारी सधान चल्न थालेका छन् । पुलको सुबिधा नभएका ठुला खोलाहरुमा बैकल्पिक मार्गको खोजी गरी सवारी सञ्चालनमा ल्याइएको नगरका उप–प्रमुख लिला रानाले बताए । ठुलो समस्याको रुपमा रहेको ठेउलेखोलाको पानीलाई फराकिलो पारेर सवारीहरु आवतजावत गराउने गरी सडक सञ्चालनमा ल्याइएको रानाले बताए । अहिले बागलुङ नगरका १४, जैमिनी नगरपालिकाका १०, गल्कोट नगरपालिकाका ११, बरेङ गाउँ पालिकाका ५ वडा लगायत जिल्लाका अधिकांश सडकमा सहज तरिकाले सवारी सञ्चालनमा रहेको जनप्रतिनिधि बताउँछन् ।