बागलुङ/कृषि पेशामा सक्रिय रहदै गर्दा दुवै मृगौलाले काम नगर्ने भएपछि भकुण्डेका ५८ बर्षिय रनबहादुर थापाले सहयोगको याचना गरेका छन् । आफ्नो आर्थिक अवस्थाले नभ्याउने भएपछि उनले पत्रकार सम्मेलन गरेर सहयोगीको खोजी गरेका हुन् । बानपा–१० भकुण्डे का थापालाई एक साता अघि मात्र दुवै मृगौला असफल भएको थाहा भएको हो ।
हाल उनी पोखरा स्थित चरक अस्पतालमा उपचार गराईरहेका छन् । उनको उपचारमा सहयोग गर्न श्रीमती सुकुमारी थापाले अपिल गरेकी हुन् । ‘आफ्नो मेहेनतले दुईछाक खान समस्या भएको थिएन, तर गम्भिर रोग लागेकोले बचाउनका लागि सहयोग माग्न बाध्य भयौं’ थापाले भनिन्, ‘दैनिक १० देखि १५ हजार रुपैयाँ खर्च भैरहेको छ, मृगौलानै फेर्न कति लाग्ने यकिन छैन ।’ रक्त समूह र दिन मिल्ने अवस्था आएमा आफ्नै मृगौला दिएर बचाउने योजना बनाएको थापाले बताइन् । तत्कालका लागि भएको जग्गा जमिन विक्रि हुने संभावना पनि नभएकोले सहयोगको याचना गर्नुको बिकल्प नभएको उनले गुनासो गरिन् । ७ जनाको परिवार पालिने चुनौती सँगै उपचार गर्न कठिन भएको थापा परिवारको भनाई छ ।
यस अघि पटक पटक कहिले मुटुको समस्या, कहिले उच्च रक्तचापको समस्या भन्दै औषधि खाएका थापाको समयमा उचित उपचार हुन नसकेको रनबहादुर थापा सहयोग अभियानका सचिव उमाकान्त शर्माले बताए । यो अभियानलाई जिल्ला, देश विदेश सम्म संचालन गरेर कोष खडा गर्न कुमारी बैंक र नविल बैकमा खाता खोलिएको छ । पिडितले उक्त बैंकका खातामा रकम जम्मा गरिदिन आग्रह गरेका हुन् ।